शनिबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा तातो लहर चल्ने सम्भावना
काठमाडौं : शनिबार देशका हिमाली र पहाडी भू-भाग साथै मधेश प्रदेश र कोशी प्रदेशका तराई भू-भागमा साधारणतया बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ।
सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।
कोशी प्रदेशका तराई भू-भाग तथा मधेश प्रदेशका थोरै स्थानमा, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा तातो लहर हुने सम्भावना रहेको विभागले जनाएको छ।
शनिबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।
कोशी प्रदेशका तराई भू-भाग तथा मधेश प्रदेशको केही स्थानमा, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !