केतन हत्या प्रकरण : सियाले मार्न नसकेपछि प्रेमी चेतन आफैले भीरमा धकेली दिए
भारत : भारत महाराष्ट्रस्थित लोहगढ किल्लामा व्यवसायी केतन अग्रवाललाई करिब ४०० फिट गहिरो भीरबाट धकेलेर हत्या गरिएको घटनामा हरेक दिन नयाँ खुलासा भइरहेका छन् । हत्या आरोपमा पक्राउ परेकी उनकी हुनेवाला दुलही सिया गोयल र उनका प्रेमी चेतन चौधरीको सम्बन्ध प्रहरी हिरासतमा पुगेपछि बिग्रिएको छ । दुवैले अहिले एकअर्कामाथि हत्याको आरोप लगाइरहेका छन् ।
प्रहरी समक्ष दुवैले यसअघि सार्वजनिक नभएका धेरै तथ्य स्वीकार गरेका छन् । प्राप्त जानकारीअनुसार, केतनलाई भीरबाट धकेल्ने संकेत दिन सियाले पहिले नै एउटा विशेष इशारा गर्ने योजना बनाएकी थिइन् । साथै, जुन १४ मा सियाले पहिलो प्रयासमै केतनलाई मार्न नसकेपछि चेतन आफैंले हत्या गर्ने निर्णय गरेको खुलासा भएको छ ।
प्रहरी स्रोतका अनुसार, केतनको हत्या गर्ने यो तेस्रो प्रयास थियो । यसअघि दुई पटक सियाले केतनलाई लोहगढ किल्लामा लगेकी थिइन्, तर उनलाई भीरबाट धकेल्न सकेकी थिइनन् । सियाले प्रहरीलाई दिएको बयानअनुसार, जुन १४ मा दोस्रो प्रयास पनि असफल भएपछि चेतन निकै निराश भएको थियो र उनी सियाको अगाडि रोएका समेत थिए ।
समाचार संस्था न्यूज १८ का अनुसार, लगातार दुई पटक असफल भएपछि चेतनले सियालाई भनेका थिए, ‘तिमीबाट हुँदैन, अब म आफैं यसलाई समाप्त गर्छु ।’ त्यसपछि जुन १८ मा चेतनले आफैं योजना कार्यान्वयन गर्दै केतनलाई भीरबाट धकेलेको प्रहरीको दाबी छ । प्रहरीका अनुसार, चेतन केतनलाई हटाएर सियासँग महाबलेश्वरमा एक्लै समय बिताउन चाहन्थे ।
पहिले नै तय गरिएको थियो संकेत
अनुसन्धानका क्रममा सियाले स्वीकार गरेकी छन् कि केतनलाई भीरबाट धकेल्नुअघि दुवैले एउटा गोप्य संकेत तय गरेका थिए । योजनाअनुसार, सियाले बसेर संकेत दिने र त्यसपछि चेतन अगाडि बढेर केतनलाई भीरबाट धकेल्ने सहमति भएको थियो । घटनाको अनुसन्धान गरिरहेका एक प्रहरी अधिकारीका अनुसार, योजना ठीक त्यहीअनुसार कार्यान्वयन गरिएको थियो । केतनलाई आफूमाथि के हुन लागेको छ भन्ने कुनै सुइँको समेत थिएन । उनले केही बुझ्नुअघि नै उनलाई भीरबाट धकेलिएको थियो ।
प्रहरी समक्ष एकअर्कामाथि दोषारोपण
प्रहरीको सोधपुछका क्रममा सिया र चेतनले सुरुमा एकअर्कामाथि दोष लगाउने प्रयास गरेका थिए । अनुसन्धान अधिकृतका अनुसार, प्रारम्भमा दुवैले आफू निर्दोष भएको दाबी गरे पनि अन्ततः सियाले आफूले नै हत्या गर्ने षड्यन्त्र बनाएको र चेतन त्यसमा सहभागी रहेको स्वीकार गरेकी छन् ।
चेतनले सुरुआतमा आफू किल्लामा भए पनि हत्या भएको स्थानमा नगएको र त्यहाँ के भएको थाहा नभएको दाबी गरेका थिए । तर प्रहरीले उनको भनाइ झुटो भएको प्रमाण फेला पारेपछि अन्ततः उनले पनि घटनामा आफ्नो संलग्नता स्वीकार गर्दै सम्पूर्ण घटनाक्रम बयान गरेका थिए ।
किन गरियो केतनको हत्या ?
सिया र केतनको यस वर्षको फेब्रुअरीमा इन्गेजमेन्ट भएको थियो भने नोभेम्बरमा उदयपुरमा भव्य विवाह गर्ने तयारी भइरहेको थियो । अनुसन्धानका क्रममा सिया र चेतनले परिवारको बदनामी हुने डरले भागेर विवाह गर्नुको सट्टा केतनको हत्या गर्ने निर्णय गरेको बताएका छन् । सियाले आफ्नो परिवारलाई चेतनसँगको सम्बन्धबारे जानकारी दिँदै केतनसँग विवाह नगर्न आग्रह गरेकी थिइन् । तर परिवारले उनको कुरा नमानेर केतनसँग विवाह तय गरेको बताइएको छ ।
सियाका बुबाको कडा प्रतिक्रिया
यसबीच सियाका बुबाले पत्रकारसँग कुरा गर्दै केतनका हत्यारालाई कडा भन्दा कडा सजाय दिन माग गरेका छन् । उनले भने, ‘यो अपराधमा जोसुकै दोषी भए पनि, चाहे मेरी आफ्नै छोरी किन नहोस्, उसलाई पनि केतनलाई जसरी भीरबाट धकेलिएको थियो, त्यसरी नै सजाय दिनुपर्छ ।’ उनले थपे, ‘केतन मेरो आफ्नै छोरा जस्तै थियो । उनको मृत्युले दुवै परिवारलाई गहिरो पीडा दिएको छ । हामी विवाहको तयारीमा जुटिरहेका थियौं । जे भयो, अत्यन्त दुःखद छ । आजसम्म पनि हामीलाई यो घटनामा विश्वास गर्न गाह्रो भइरहेको छ ।’
प्रतिक्रिया दिनुहोस !