फिफा विश्वकप २०२६: समूह 'ई' बाट ३ टोली नकआउटमा
काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'ई' बाट तीन टोली नकआउट चरणमा प्रवेश गरेका छन्।शुक्रबार बिहान भएका समूह 'ई' का खेलहरूको नतिजासँगै नकआउट पुग्ने टोलीहरूको टुंगो लागेको हो।
शुक्रबार बिहान न्यूयोर्कस्थित न्युजर्सी स्टेडियममा भएको खेलमा इक्वेडरले जर्मनीलाई २-१ ले पराजित गर्यो। समूह विजेता बनिसकेको जर्मनीलाई पराजित गर्दै इक्वेडरले पनि उत्कृष्ट तेस्रो स्थानमा रहँदै नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको हो।
खेलको दोस्रो मिनेटमै गोल गर्दै जर्मनीले सुरुवाती अग्रता बनाएको थियो। जर्मनीका लागि लेरोय सानेले गोल गरेका थिए। तर, खेलको नवौं मिनेटमा इक्वेडरले बराबरी गोल फर्कायो। इक्वेडरका लागि निलसन अंगुलोले गोल गरेका हुन्। पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलको ७७ औं मिनेटमा इक्वेडरले दोस्रो गोल थप्यो। इक्वेडरका लागि गोन्जालो प्लाटाले निर्णायक गोल गरे। बलियो टोली जर्मनीमाथि जित दर्ता गर्न इक्वेडरका लागि यो गोल नै पर्याप्त बन्यो।
समूह 'ई' को अर्को खेलमा आइभरी कोस्टले कुरासाओलाई पराजित गर्दै पहिलो पटक विश्वकपको नकआउट चरणमा यात्रा तय गरेको छ। शुक्रबार बिहान भएको खेलमा आइभरी कोस्टले कुरासाओलाई २-० गोल अन्तरले पराजित गरेको हो।
आइभरी कोस्टको जितमा दुवै गोल निकोलस पेपेले गरे। उनले खेलको सातौं र ६४ औं मिनेटमा गोल गरेका थिए। पहिलो पटक विश्वकप खेलिरहेको कुरासाओ भने समूह चरणबाटै बाहिरिएको छ।
यस समूहबाट जर्मनी विजेता र आइभरी कोस्ट उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका हुन्। यस्तै, जर्मनीलाई पराजित गरेको इक्वेडरले पनि उत्कृष्ट तेस्रो टोली बन्दै अन्तिम ३२ (नकआउट) मा आफ्नो स्थान सुरक्षित गरेको छ।
प्रतिक्रिया दिनुहोस !