स्याङ्जाका ११ वटै पालिकाको बजेट सार्वजनिक, जिल्लाभर ६ अर्ब ९८ करोड बिनियोजन
स्याङ्जा : स्याङ्जाका ११ वटै स्थानीय तहले आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन् । नगरपालिकामा उपप्रमुख र गाउँपालिकामा उपाध्यक्षले आउदो आर्थिक बर्षका लागि बजेट सार्वजनिकरण गरेका हुन् ।
जिल्लाका ५ नगरपालिका र छ गाउँपालिकाले ६ अर्ब ९८ करोड ४२ लाख ८७ हजार ४७३ रुपैंयाँको बजेट सार्वजनिक गरेका हुन् । पूँजीगतभन्दा कतै दोब्बर भन्दा बढी र कतै झण्डै तेब्बरको अंकमा चालु पुँजीमा रकम बिनियोजन भएको छ । पुतलीबजार नगरपालिकाले ९६ करोड ७३ लाख १६ हजार ४ सय रुपैंयाँको बजेट सार्वजनिक गरेको छ । बजेटको ६६ करोड २० लाख ४७ हजार चालुतर्फ र ३० करोड ५२ लाख ६८ हजार पुँजीगततर्फ विनियोजन गरेको छ ।
वालिङ नगरपालिकाले ८९ करोड १ लाख ५९ हजारको बजेट सार्वजनिक गरेको छ । सोमध्ये ६२ करोड ४७ लाख ११ हजार चालुतर्फ र २६ करोड ५४ लाख ४८ हजार पुँजीगततर्फ छ । गल्याङ नगरपालिकाको ८६ करोड ६३ लाख ५० हजार बजेट घोषणा गरेको छ । बजेटमा ६२ करोड १५ लाख ५० हजार चालुतर्फ र २४ करोड ४८ लाख पुँजीगततर्फ छुट्याइएको छ । चापाकोट नगरपालिकाले ६६ करोड ४८ लाख ७४ हजार ७२ बजेट घोषणा गरेको छ । नगरपालिकाले ४१ करोड १३ लाख २७ हजार चालुतर्फ र २२ करोड ३५ लाख ४६ हजार पुँजीगततर्फ राखेको छ ।
भीरकोट नगरपालिकाले ५७ करोड ३० लाख ९७ हजार बजेट घोषणा गरेको छ । भीरकोटले पुँजीगततर्फ १६ करोड १२ लाख ४० हजार र चालुतर्फ ४० करोड ८८ लाख ५७ हजार बिनियोजन गरेको छ । यसैगरी, आँधीखोला गाउँपालिकाले ६१ करोड ६२ लाखको बजेट सार्वजनिकरण गरेको छ । बजेट मध्ये १८ करोड ५० लाख पुँजीगततर्फ र ४२ करोड ६५ लाख चालुतर्फ छुट्टाइएको छ । कालीगण्डकी गाउँपालिकाले ५६ करोड ८१ लाख ८१ हजारको बजेट मध्ये ७० प्रतिशत चालु र ३० प्रतिशत पुँजीगतमा छुट्टाएको छ।
बिरुवा गाउँपालिकाले ५१ करोड ६२ लाख ६८ हजार ३८४ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यसमध्ये ३६ करोड ७२ लाख २१ हजार ३८४ चालुतर्फ र १५ करोड ६२ लाख ४७ हजार पुँजीगत छ । अर्जुनचौपारी गाउँपालिकाले ४७ करोड ९४ लाख २४ हजार बजेट छ । बजेटमा ३२ करोड ७० लाख ९० हजार चालुतर्फ र १५ करोड २३ लाख ३४ हजार पुँजीगततर्फ छुट्याइएको छ ।
हरिनास गाउँपालिकाले ४४ करोड २४ लाख छ । यसमध्ये ३० करोड ५२ लाख रुपैंयाँ चालुतर्फ र १३ करोड ७२ लाख रुपैयाँ पुँजीगततर्फ विनियोजन गरिएको छ । र, फेदीखोला गाउँपालिकाले ४० करोड १६ हजार बजेट सार्वजनिक गरेको छ । यसमध्ये ३१ करोड ५० लाख १४ हजार ४०० चालुतर्फ र ८ करोड ५० लाख २ हजार पुँजीगततर्फको छ । नगरपालिकामध्ये पुतलीबजार नगरपालिकाले र गाउँपालिकामध्ये आँधीखोला गाउँपालिकाले अन्य पालिकामध्ये धेरै बजेट छ ।
सबै पालिकाहरुले शिक्षा, स्वास्थ्य, सडक, पूर्वाधार, कृषि, रोजगारी, सामाजिक विकास लगायत सूचना प्रबिधि र एआईका बिषयलाई समेटिनेगरी नीति तथा कार्यक्रम सहित बजेट सार्वजनिकरण गरेका छन् । केही पालिकाले नीति तथा कार्यक्रम सार्वजनिकरणपछि बजेट ल्याएका छन् भने केही पालिकाले नीति, कार्यक्रम सहित असार १० गते नै बजेट सार्वजनिकरण गरेका हुन् । योसँगै स्याङ्जाका सबै पालिकाले तोकिएको समय सीमाभित्रै बजेटसहितका कार्यक्रम ल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस !