ब्राउन सुगरसहित दुई जना पक्राउ, एक लाख ८२ हजार नगद बरामद
सुनसरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–३ भरौलबाट प्रहरीले २०८ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । बिहीवार राति प्रहरीले भरौलस्थित ३८ वर्षीय विष्णु धामीको घरमा लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको टोली र इलाका प्रहरी कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले छापा मारेको थियो ।
घरमा गरिएको खानतलासीका क्रममा विष्णु धामीको साथबाट ब्राउन सुगर २०८ ग्राम तथा एक लाख ८२ हजार ५०० नगद बरामद भएको प्रहरीले जनाएको छ । घटनास्थलबाट विष्णु धामीसँगै सोही कोठामा रहेका ३३ वर्षीय रुद्रबहादुर सुबेदीलाई पनि नियन्त्रणमा लिइएको छ ।
बरामद लागूऔषध, नगद तथा दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक विक्रम भट्टराईले पक्राउ परेका अभियुक्तबिरुद्ध लागूऔषध नियन्त्रण ऐनअन्तर्गत आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको बताए ।
प्रतिक्रिया दिनुहोस !