धुलोले दिउँसै अन्धकार, पृथ्वी राजमार्गमा चालक र यात्रुलाई सास्ती
धादिङ : धादिङ खण्डको पृथ्वी राजमार्गमा उड्ने अत्यधिक धुलोका कारण दिउँसै अन्धकारजस्तै अवस्था सिर्जना भएको छ। सडक विस्तार तथा निर्माण कार्य सुस्त हुँदा राजमार्गका विभिन्न क्षेत्रमा धुलोको समस्या झन् बढ्दै गएको हो।
विशेषगरी धादिङको जोगिमारा, बेनीघाट, सालाङघाट, धार्के, गजुरी, गल्छी लगायतका क्षेत्रमा सवारीसाधनको चापसँगै धुलोको बाक्लो मुस्लो उड्दा चालक, यात्रु, स्थानीय बासिन्दा तथा व्यवसायीहरू प्रभावित बनेका छन्। धुलोका कारण दृश्य कम हुँदा सवारी सञ्चालनमा कठिनाइ हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेको छ। साथै श्वासप्रश्वाससम्बन्धी समस्या बढ्दै गएको स्थानीय अर्जुन त्रिपाठीले गुनासो गरेका छन्।
त्रिपाठीका अनुसार सडक निर्माण भइरहेका क्षेत्रमा समय-समयमा पानी नहालिँदा धुलोको समस्या झन् विकराल बनेको छ। निर्माण कम्पनीले नियमित रूपमा पानी छर्कनुपर्ने भए पनि पर्याप्त रूपमा पानी नहाल्दा सवारीसाधन गुड्नेबित्तिकै धुलोको बाक्लो मुस्लो उठ्ने गरेको उनको भनाइ छ।
लामो दूरीका सवारी चालकहरूले धुलोका कारण अगाडिको बाटो स्पष्ट देख्न कठिन हुने गरेको बताएका छन्। यात्रुहरू पनि यात्रा असहज र जोखिमपूर्ण बन्दै गएको भन्दै धुलो नियन्त्रणका लागि तत्काल पहल गर्न सम्बन्धित निकायसँग माग गरिरहेका छन्।
होटल तथा अन्य व्यवसाय सञ्चालन गर्ने स्थानीयहरूले दिनभरि पसलभित्र धुलो भरिने, ग्राहक घट्ने र व्यापारसमेत प्रभावित भएको बताएका छन्। उनीहरूले नियमित रूपमा पानी छर्कन, सडक निर्माण कार्यलाई तीव्रता दिन तथा धुलो नियन्त्रणका प्रभावकारी उपाय तत्काल लागू गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
देशकै व्यस्त राजमार्गमध्ये एक पृथ्वी राजमार्गमा निर्माण कार्यका कारण वर्षौंदेखि धुलोको समस्या कायम रहँदा चालक, यात्रु र स्थानीयले दैनिक सास्ती भोग्दै आएका छन्। स्थानीयले धुलो नियन्त्रणका लागि नियमित पानी छर्कने, निर्माण कार्यलाई समयमै सम्पन्न गर्ने तथा प्रभावकारी व्यवस्थापन गर्न सरोकारवाला निकायको तत्काल ध्यानाकर्षण गराएका छन्।
प्रतिक्रिया दिनुहोस !