युद्ध अन्त्यसम्म पुगोस् युद्धविराम

युद्ध अन्त्यसम्म पुगोस् युद्धविराम

मानव सभ्यताको विकाससँगै हामीले सोचेका थियौं– अब संवाद र कूटनीति नै समस्या समाधानका अन्तिम हतियार हुन् । तर, दुर्भाग्य ! आजको विश्व फेरि पाशविक युगतिर धकेलिँदै छ, जहाँ ‘जसको लाठी, उसको भैंस’ भन्ने नियम लागू हुन्छ ।

शान्तिका सेता परेवाहरू बारुदको धुवाँले निसासिएका छन् भने विश्वव्यापी कूटनीतिक संरचनाहरू केवल ‘पावर’ देखाउने रमिता हेर्ने अखडा बनेका छन् । जबसम्म राष्ट्रहरूले हतियारको दम्भ त्यागेर मानवीय संवेदना बुझ्दैनन्, तबसम्म यो अस्थिरताको चक्र रोकिने छैन । यही अन्योल र त्रासको बीचमा, एउटा खबरले भने थोरै भए पनि आशा जगाएको छ— इरान र अमेरिकाबीचको युद्धविराम ।

विश्व एकपटक फेरि गहिरो अविश्वास, अस्थिरता र द्वन्दमा फसेको छ । दुईपक्षीय तथा बहुपक्षीय सम्बन्धहरूमा कूटनीतिभन्दा बढी शैन्य भाषा हाबी हुन थालेको छ । युरोपदेखि लिएर पश्चिम एसियासम्म फैलिएको लगातारको युद्धले मानव सभ्यता, उसको आजसम्मको उपलब्धि र उसले खडा गरेका वैश्विक संरचनाहरूको कूटनीतिक क्षमता र कार्यकुशलता माथि नै प्रश्न चिह्न खडा गरिदिएको छ । तर ढिलै भए पनि यस्तो भयानक र त्रासदीपूर्ण परिस्थितिका बिचबाट शान्ति र स्थिरतासम्म पुग्ने पहिलो पाइला चालिएको छ । युद्धरत इरान र अमेरिकाबीच भने युद्धबिराम गरिएको छ । 

गत फेब्रुअरी २८ तारिखका दिन संयुक्त राज्य अमेरिका र इजरायलद्वारा इरानमाथि गरिएको संयुक्त सैन्य आक्रमणपश्चात् सुरु भएको पश्चिम एसियाको युद्ध हरदिन अझ खतरनाक र कहालिलाग्दो बन्दै थियो । दुईपक्षबीच सुरु भएको युद्ध केवल त्यतिमा मात्र सीमित थिएन, यूएई, कतार, बहराइन, साउदी अरबलगायतका मध्यपूर्वका अन्य अरब राष्ट्रहरूसमेत एकैपटक युद्धमा तानिइसकेका थिए । युद्धकै कारण ८६ वर्षीय इरानी सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीसहित दर्जन बढी उच्च पदस्थ अधिकारीहरूको ज्यान गइसकेको थियो । बदलामा इरान युद्ध मोर्चामा झनै सशक्त बन्दै गइरहेको थियो ।

युद्धरत तीनै पक्षका तेल प्रशोधन र उर्जा केन्द्रलगातार निशानामा परिरहेका थिए । विश्वको करिब २० प्रतिशत तेल तथा तेलजन्य पदार्थको आपूर्ति हुने हरमुज जलडमरु ठप्प थियो । पर्सियन खाडीबाट सुरु भएको ऊर्जा संकट फैलँदै विश्वका हरकुनाको हरचुलाचौकासम्म पुगिसकेको थियो । वैश्विक अर्थतन्त्र र आपूर्ति प्रणालीमा खतराको घण्टी बजिसकेको थियो । आउने दिनहरूमा विश्वले एउटा भयानक आर्थिक मन्दी खेप्नुपर्ने अड्कलबाजी संसारभरका अर्थविद्हरूले गरिरहेका थिए । अवस्था झनै नाजुक बन्दै थियो । युद्धका मूल्य मान्यताहरू संयुक्त राष्ट्रसंघको बडापत्रका अक्षरमा मात्र सीमित थिए । के विद्यालय, के औषधालय, के बालक के वृद्ध, निर्दोषहरूको नरसंहार चलिरहेको थियो । पटकपटक युद्ध अपराध दोहोरिँदै थियो । त्रेता र द्वापरमा जस्तो कलियुगको यो युद्धले आफ्नो धर्म निभाइरहन सकेको थिएन ।

अब युद्ध यस्तो बिन्दुमा पुगिसकेको थियो जहाँ हरदिन युद्ध रोक्ने आशा त जगाइन्थ्यो तर त्यसको ठीक विपरीत युद्ध मैदान भने झनै डरलाग्दो र रहस्यमयी बन्दै जान्थ्यो । पश्चिम एसियाबाट सुरु भएको यो युद्ध हरेक दिन क्षेत्रीयताको सिमाना पार गर्दै विश्वव्यापी बन्दै थियो । अब भने विश्वले यो युद्ध थेगिरहन सक्ने अवस्था थिएन । यसैबीचबाट पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले विश्वलाई युद्धको यो दलदलबाट मुक्त गर्न मध्यस्थताको हातअघि बढाए । सोहीअनुसार यही जुन १७ मा इरान र अमेरिकाबीच दुई महिने युद्धविराम गर्नेमा सहमति बन्यो । फ्रान्सस्थित भरसाइल दरबारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अनि तेहरानस्थित इरानी राष्ट्रपति मसुद पेजेस्कियानले १४ बँुदे समझदारीपत्रमा हस्ताक्षर गरेसँगै युद्धविराम लागू भएको हो । 

युद्धविराम युद्धको अन्त्य होइन तर युद्ध अन्त्यको पहिलो खुडकला अवश्य हो । युद्धविरामले गोली र बमबारी रोक्छ । युद्धमोर्चामा खटिएका सैनिक र तिनका प्रियजनलाई राहतको श्वास फेर्ने मौका दिन्छ । युद्धरत सबै पक्षलाई ठण्डा दिमागले सोच्न र युद्ध अन्त्यका लागि कूटनीतिक संवाद अघि बढाउन आधार तयार गर्छ । विपक्षीप्रतिको तमाम शंका, अविश्वास र आक्रोशलाई मेटाउने अवसर दिन्छ । विश्व इतिहासले हामीलाई प्रस्ट देखाएको छ कि धेरै स्थायी र दीर्घकालीन शान्ति प्रव्रिmयाहरू युद्धविरामबाटै सुरु भएका छन् । तर पश्चिम एसियाको यो युद्धविरामलाई रणनीति बदल्ने र सैन्य क्षमता अभिवृद्धि गर्ने दुष्प्रयासको रूपमा दुरुपयोग चाहिँ नगरियोस् ।

आजको विश्व अन्तरनिर्भर र अन्तरआश्रित छ । कुनै एक राष्ट्र अर्को राष्ट्रसँग अन्तरआश्रित नभई कुनै पनि राष्ट्रको अर्थतन्त्र चलायमान र स्वस्थ रहन सम्भव छैन । अन्तरनिर्भर यो विश्वमा पश्चिम एसियाको युद्ध केवल युद्ध मैदानमा सीमित छैन, समाज, युद्धरत राष्ट्र र अन्तर्राष्ट्रिय जगत्का हरेक घर र मानिसका दैनिक जीवनमा यसको डरलाग्दो प्रभाव परिरहेको छ ।

नेपालजस्तो भूपरिवेष्ठित भूगोल अनि सानो अर्थतन्त्र भएको राष्ट्रमाथि यो युद्धको प्रभाव झनै गहिरो र गम्भीर देखिएको छ । विशेष गरेर आयातमुखी अर्थतन्त्र अनि दशकौंदेखि व्यापार घाटा भोगिरहेको यो देशमा तेल तथा तेलजन्य पदार्थलाई लिएर ऊर्जा संकट चुलिएको छ । मट्टीतेल, डिजेल र पेट्रोलको मूल्य हरहप्ता बढ्दो छ । सरकारले खाना पकाउने ग्याँस आधामात्र वितरण गर्न सकेको छ । इन्धनको मूल्यवृद्धिले यातायात तथा दैनिक आवश्यकताका खाद्यान्नको पनि मूल्य महँगिएको छ ।

वैदेशिक रोजगारमा आधारित नेपाली परिवारको आयस्रोत घटेको छ । श्रम स्वीकृति प्राप्त गरिसकेर मध्यपूर्व जान ठीक परेका नेपाली श्रमिकहरू कति बेरोजगार बस्नु परेको छ । रासायनिक मलको अभाव किसानका अघि अर्को चुनौती बनेर उभिएको छ । नेपालको बलियो शक्ति मानिएको पर्यटन क्षेत्रमा युद्धको प्रभाव देखिन थालिसकेको छ । यी त सबै प्रारम्भिक चुनौतीहरू मात्र हुन्, युद्धका कारण नेपालमा अझ डरलाग्दो प्रभाव भोलिको दिनमा देखिँदै जानेछ । 

संयुक्त राज्य अमेरिका र इरानबीच भएको युद्धविराम यो नै पहिलो भने होइन । गत अप्रिल ८ मा समेत यस्तै शान्ति प्रस्ताव उपर दुवै राष्ट्रबीच सहमति भएको थियो । सोही महिनाको ११ र १२ मा पाकिस्तानको राजधानी इस्लामावादमा दुवै पक्षबीच २१ घण्टे लामो वार्तासमेत भएको थियो । तर दुर्भाग्यवश उक्त वार्ता सफल हुन सकेन । अब भने कुनै पनि मूल्यमा त्यो विडम्बना नदोहोरियोस् । 

युद्ध कहिल्यै पनि समस्याको दिगो समाधान हुन सक्दैन । युद्धले आजसम्म कहीँ कसैको हित पनि गरेको छैन । पश्चिम एसियाको यो युद्धले युद्धरत पक्षमात्र होइन सारा विश्व नै थिलथिलो बनाइसकेको छ । हरेक मानिसको मनबाट अन्तर्राष्ट्रिय समुदाय तथा वैश्विक संगठनप्रतिको विश्वास घट्दो छ । डर र त्रासले जनजनमा डेरा जमाएको छ । 

अब भने विश्वभरका मानिसहरूको एउटै कामना छ, यो शान्ति सम्झौता केवल अक्षरमा सीमित नहोस्, वार्ताको प्रक्रिया फेरि पनि अवरुद्ध नहोस्, यस युद्धविराम युद्ध अन्त्यको सुरुवात बन्न सकोस् अनि इरान र अमेरिकी सम्बन्ध दिगो शान्तितर्फ अधि बढोस् । युद्धरत सबै पक्षलाई कुनै पनि हालतमा युद्ध अन्त्यबाट पछि हट्ने अब छुट छैन ।

निष्कर्षमा, इरान र अमेरिकाबीचको तात्कालिक युद्धविराम राहतको विषय भए पनि यसले स्थायी शान्तिको पूर्ण सुनिश्चिता गर्दैन । हर्मोज जलडमरू ठप्प हुँदा विश्वको २० प्रतिशत ऊर्जा आपूर्ति अवरुद्ध हुनु र इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीसहित धेरै उच्च अधिकारीको ज्यान जानुले यो द्वन्द्वको विनाशकारी स्वरूपलाई प्रस्ट्याएको छ । कूटनीतिलाई सैन्य भाषाले विस्थापित गर्दा वैश्विक संरचनाहरू कति कमजोर हुँदा रहेछन् भन्ने यो एउटा गम्भीर पाठ हो । यो पहिलो पाइलालाई अब गहिरो अविश्वास र अस्थिरताको खाडल पुर्ने बलियो कूटनीतिक संवादमा परिणत गर्नुपर्छ, अन्यथा यस्ता द्वन्द्वले मानव सभ्यतालाई फेरि विनाशको संघारमा पुर्‍याउन सक्छ ।

कूटनीतिलाई सैन्य भाषाले विस्थापित गर्दा वैश्विक संरचनाहरू कति कमजोर हुँदा रहेछन् भन्ने यो एउटा गम्भीर पाठ हो। यो पहिलो पाइलालाई अब गहिरो अविश्वास र अस्थिरताको खाडल पुर्ने बलियो कूटनीतिक संवादमा परिणत गर्नुपर्छ, अन्यथा यस्ता द्वन्द्वले मानव सभ्यतालाई फेरि विनाशको संघारमा पुर्‍याउन सक्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.