युद्ध अन्त्यसम्म पुगोस् युद्धविराम
मानव सभ्यताको विकाससँगै हामीले सोचेका थियौं– अब संवाद र कूटनीति नै समस्या समाधानका अन्तिम हतियार हुन् । तर, दुर्भाग्य ! आजको विश्व फेरि पाशविक युगतिर धकेलिँदै छ, जहाँ ‘जसको लाठी, उसको भैंस’ भन्ने नियम लागू हुन्छ ।
शान्तिका सेता परेवाहरू बारुदको धुवाँले निसासिएका छन् भने विश्वव्यापी कूटनीतिक संरचनाहरू केवल ‘पावर’ देखाउने रमिता हेर्ने अखडा बनेका छन् । जबसम्म राष्ट्रहरूले हतियारको दम्भ त्यागेर मानवीय संवेदना बुझ्दैनन्, तबसम्म यो अस्थिरताको चक्र रोकिने छैन । यही अन्योल र त्रासको बीचमा, एउटा खबरले भने थोरै भए पनि आशा जगाएको छ— इरान र अमेरिकाबीचको युद्धविराम ।
विश्व एकपटक फेरि गहिरो अविश्वास, अस्थिरता र द्वन्दमा फसेको छ । दुईपक्षीय तथा बहुपक्षीय सम्बन्धहरूमा कूटनीतिभन्दा बढी शैन्य भाषा हाबी हुन थालेको छ । युरोपदेखि लिएर पश्चिम एसियासम्म फैलिएको लगातारको युद्धले मानव सभ्यता, उसको आजसम्मको उपलब्धि र उसले खडा गरेका वैश्विक संरचनाहरूको कूटनीतिक क्षमता र कार्यकुशलता माथि नै प्रश्न चिह्न खडा गरिदिएको छ । तर ढिलै भए पनि यस्तो भयानक र त्रासदीपूर्ण परिस्थितिका बिचबाट शान्ति र स्थिरतासम्म पुग्ने पहिलो पाइला चालिएको छ । युद्धरत इरान र अमेरिकाबीच भने युद्धबिराम गरिएको छ ।
गत फेब्रुअरी २८ तारिखका दिन संयुक्त राज्य अमेरिका र इजरायलद्वारा इरानमाथि गरिएको संयुक्त सैन्य आक्रमणपश्चात् सुरु भएको पश्चिम एसियाको युद्ध हरदिन अझ खतरनाक र कहालिलाग्दो बन्दै थियो । दुईपक्षबीच सुरु भएको युद्ध केवल त्यतिमा मात्र सीमित थिएन, यूएई, कतार, बहराइन, साउदी अरबलगायतका मध्यपूर्वका अन्य अरब राष्ट्रहरूसमेत एकैपटक युद्धमा तानिइसकेका थिए । युद्धकै कारण ८६ वर्षीय इरानी सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीसहित दर्जन बढी उच्च पदस्थ अधिकारीहरूको ज्यान गइसकेको थियो । बदलामा इरान युद्ध मोर्चामा झनै सशक्त बन्दै गइरहेको थियो ।
युद्धरत तीनै पक्षका तेल प्रशोधन र उर्जा केन्द्रलगातार निशानामा परिरहेका थिए । विश्वको करिब २० प्रतिशत तेल तथा तेलजन्य पदार्थको आपूर्ति हुने हरमुज जलडमरु ठप्प थियो । पर्सियन खाडीबाट सुरु भएको ऊर्जा संकट फैलँदै विश्वका हरकुनाको हरचुलाचौकासम्म पुगिसकेको थियो । वैश्विक अर्थतन्त्र र आपूर्ति प्रणालीमा खतराको घण्टी बजिसकेको थियो । आउने दिनहरूमा विश्वले एउटा भयानक आर्थिक मन्दी खेप्नुपर्ने अड्कलबाजी संसारभरका अर्थविद्हरूले गरिरहेका थिए । अवस्था झनै नाजुक बन्दै थियो । युद्धका मूल्य मान्यताहरू संयुक्त राष्ट्रसंघको बडापत्रका अक्षरमा मात्र सीमित थिए । के विद्यालय, के औषधालय, के बालक के वृद्ध, निर्दोषहरूको नरसंहार चलिरहेको थियो । पटकपटक युद्ध अपराध दोहोरिँदै थियो । त्रेता र द्वापरमा जस्तो कलियुगको यो युद्धले आफ्नो धर्म निभाइरहन सकेको थिएन ।
अब युद्ध यस्तो बिन्दुमा पुगिसकेको थियो जहाँ हरदिन युद्ध रोक्ने आशा त जगाइन्थ्यो तर त्यसको ठीक विपरीत युद्ध मैदान भने झनै डरलाग्दो र रहस्यमयी बन्दै जान्थ्यो । पश्चिम एसियाबाट सुरु भएको यो युद्ध हरेक दिन क्षेत्रीयताको सिमाना पार गर्दै विश्वव्यापी बन्दै थियो । अब भने विश्वले यो युद्ध थेगिरहन सक्ने अवस्था थिएन । यसैबीचबाट पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले विश्वलाई युद्धको यो दलदलबाट मुक्त गर्न मध्यस्थताको हातअघि बढाए । सोहीअनुसार यही जुन १७ मा इरान र अमेरिकाबीच दुई महिने युद्धविराम गर्नेमा सहमति बन्यो । फ्रान्सस्थित भरसाइल दरबारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अनि तेहरानस्थित इरानी राष्ट्रपति मसुद पेजेस्कियानले १४ बँुदे समझदारीपत्रमा हस्ताक्षर गरेसँगै युद्धविराम लागू भएको हो ।
युद्धविराम युद्धको अन्त्य होइन तर युद्ध अन्त्यको पहिलो खुडकला अवश्य हो । युद्धविरामले गोली र बमबारी रोक्छ । युद्धमोर्चामा खटिएका सैनिक र तिनका प्रियजनलाई राहतको श्वास फेर्ने मौका दिन्छ । युद्धरत सबै पक्षलाई ठण्डा दिमागले सोच्न र युद्ध अन्त्यका लागि कूटनीतिक संवाद अघि बढाउन आधार तयार गर्छ । विपक्षीप्रतिको तमाम शंका, अविश्वास र आक्रोशलाई मेटाउने अवसर दिन्छ । विश्व इतिहासले हामीलाई प्रस्ट देखाएको छ कि धेरै स्थायी र दीर्घकालीन शान्ति प्रव्रिmयाहरू युद्धविरामबाटै सुरु भएका छन् । तर पश्चिम एसियाको यो युद्धविरामलाई रणनीति बदल्ने र सैन्य क्षमता अभिवृद्धि गर्ने दुष्प्रयासको रूपमा दुरुपयोग चाहिँ नगरियोस् ।
आजको विश्व अन्तरनिर्भर र अन्तरआश्रित छ । कुनै एक राष्ट्र अर्को राष्ट्रसँग अन्तरआश्रित नभई कुनै पनि राष्ट्रको अर्थतन्त्र चलायमान र स्वस्थ रहन सम्भव छैन । अन्तरनिर्भर यो विश्वमा पश्चिम एसियाको युद्ध केवल युद्ध मैदानमा सीमित छैन, समाज, युद्धरत राष्ट्र र अन्तर्राष्ट्रिय जगत्का हरेक घर र मानिसका दैनिक जीवनमा यसको डरलाग्दो प्रभाव परिरहेको छ ।
नेपालजस्तो भूपरिवेष्ठित भूगोल अनि सानो अर्थतन्त्र भएको राष्ट्रमाथि यो युद्धको प्रभाव झनै गहिरो र गम्भीर देखिएको छ । विशेष गरेर आयातमुखी अर्थतन्त्र अनि दशकौंदेखि व्यापार घाटा भोगिरहेको यो देशमा तेल तथा तेलजन्य पदार्थलाई लिएर ऊर्जा संकट चुलिएको छ । मट्टीतेल, डिजेल र पेट्रोलको मूल्य हरहप्ता बढ्दो छ । सरकारले खाना पकाउने ग्याँस आधामात्र वितरण गर्न सकेको छ । इन्धनको मूल्यवृद्धिले यातायात तथा दैनिक आवश्यकताका खाद्यान्नको पनि मूल्य महँगिएको छ ।
वैदेशिक रोजगारमा आधारित नेपाली परिवारको आयस्रोत घटेको छ । श्रम स्वीकृति प्राप्त गरिसकेर मध्यपूर्व जान ठीक परेका नेपाली श्रमिकहरू कति बेरोजगार बस्नु परेको छ । रासायनिक मलको अभाव किसानका अघि अर्को चुनौती बनेर उभिएको छ । नेपालको बलियो शक्ति मानिएको पर्यटन क्षेत्रमा युद्धको प्रभाव देखिन थालिसकेको छ । यी त सबै प्रारम्भिक चुनौतीहरू मात्र हुन्, युद्धका कारण नेपालमा अझ डरलाग्दो प्रभाव भोलिको दिनमा देखिँदै जानेछ ।
संयुक्त राज्य अमेरिका र इरानबीच भएको युद्धविराम यो नै पहिलो भने होइन । गत अप्रिल ८ मा समेत यस्तै शान्ति प्रस्ताव उपर दुवै राष्ट्रबीच सहमति भएको थियो । सोही महिनाको ११ र १२ मा पाकिस्तानको राजधानी इस्लामावादमा दुवै पक्षबीच २१ घण्टे लामो वार्तासमेत भएको थियो । तर दुर्भाग्यवश उक्त वार्ता सफल हुन सकेन । अब भने कुनै पनि मूल्यमा त्यो विडम्बना नदोहोरियोस् ।
युद्ध कहिल्यै पनि समस्याको दिगो समाधान हुन सक्दैन । युद्धले आजसम्म कहीँ कसैको हित पनि गरेको छैन । पश्चिम एसियाको यो युद्धले युद्धरत पक्षमात्र होइन सारा विश्व नै थिलथिलो बनाइसकेको छ । हरेक मानिसको मनबाट अन्तर्राष्ट्रिय समुदाय तथा वैश्विक संगठनप्रतिको विश्वास घट्दो छ । डर र त्रासले जनजनमा डेरा जमाएको छ ।
अब भने विश्वभरका मानिसहरूको एउटै कामना छ, यो शान्ति सम्झौता केवल अक्षरमा सीमित नहोस्, वार्ताको प्रक्रिया फेरि पनि अवरुद्ध नहोस्, यस युद्धविराम युद्ध अन्त्यको सुरुवात बन्न सकोस् अनि इरान र अमेरिकी सम्बन्ध दिगो शान्तितर्फ अधि बढोस् । युद्धरत सबै पक्षलाई कुनै पनि हालतमा युद्ध अन्त्यबाट पछि हट्ने अब छुट छैन ।
निष्कर्षमा, इरान र अमेरिकाबीचको तात्कालिक युद्धविराम राहतको विषय भए पनि यसले स्थायी शान्तिको पूर्ण सुनिश्चिता गर्दैन । हर्मोज जलडमरू ठप्प हुँदा विश्वको २० प्रतिशत ऊर्जा आपूर्ति अवरुद्ध हुनु र इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीसहित धेरै उच्च अधिकारीको ज्यान जानुले यो द्वन्द्वको विनाशकारी स्वरूपलाई प्रस्ट्याएको छ । कूटनीतिलाई सैन्य भाषाले विस्थापित गर्दा वैश्विक संरचनाहरू कति कमजोर हुँदा रहेछन् भन्ने यो एउटा गम्भीर पाठ हो । यो पहिलो पाइलालाई अब गहिरो अविश्वास र अस्थिरताको खाडल पुर्ने बलियो कूटनीतिक संवादमा परिणत गर्नुपर्छ, अन्यथा यस्ता द्वन्द्वले मानव सभ्यतालाई फेरि विनाशको संघारमा पुर्याउन सक्छ ।
कूटनीतिलाई सैन्य भाषाले विस्थापित गर्दा वैश्विक संरचनाहरू कति कमजोर हुँदा रहेछन् भन्ने यो एउटा गम्भीर पाठ हो। यो पहिलो पाइलालाई अब गहिरो अविश्वास र अस्थिरताको खाडल पुर्ने बलियो कूटनीतिक संवादमा परिणत गर्नुपर्छ, अन्यथा यस्ता द्वन्द्वले मानव सभ्यतालाई फेरि विनाशको संघारमा पुर्याउन सक्छ।
प्रतिक्रिया दिनुहोस !