लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, विद्यार्थी फसेको आशंका
काठमाडौं : भारतको लखनउस्थित एक कोचिङ सेन्टरमा सोमबार दिउँसो भीषण आगलागी भएको छ। आगलागीमा परेर केही विद्यार्थी भवनभित्र फसेको आशंका गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अग्निशमन विभागका अनुसार अलिगञ्ज प्रहरी क्षेत्रको उषा मेहता मार्गमा रहेको कोचिङ सेन्टरमा दिउँसो करिब ३ बजेतिर आगलागी भएको हो। आगो नियन्त्रणका लागि हाइड्रोलिक प्लेटफर्म गाडीसहित १४ वटा दमकल घटनास्थलमा परिचालन गरिएको छ।
आगो लागेपछि त्रसित विद्यार्थीहरू ज्यान जोगाउन भवनको पहिलो तलाबाट हाम फालेका थिए। स्थानीय बासिन्दाका अनुसार सातदेखि आठ जना विद्यार्थी यसरी बाहिर निस्कन सफल भएका छन्।
एक स्थानीय बासिन्दाले समाचार संस्था पीटीआईसँग कुरा गर्दै आगलागी विद्युत् सर्ट वा झिल्कोका कारण भएको हुन सक्ने बताए। उनका अनुसार अझै २० देखि २५ जना विद्यार्थी भवनभित्र फसेको हुनसक्ने आशंका छ।
घटनास्थलबाट बाक्लो धुवाँ निस्किरहेको छ भने अग्निनियन्त्रकहरू आगो निभाउने प्रयासमा जुटिरहेका छन्। आगलागीका कारण आसपासको क्षेत्रमा त्रास फैलिएको छ।
हालसम्म कुनै मानवीय क्षतिको पुष्टि नभएको अधिकारीहरूले बताएका छन्। आगलागीको वास्तविक कारण खुल्न बाँकी रहेको र उद्धार तथा नियन्त्रणको काम जारी रहेको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस !