खाजाघर र मसाज सेन्टरमा नाबालिकाको दुरुपयोग

खाजाघर र मसाज सेन्टरमा नाबालिकाको दुरुपयोग
सुन्नुहोस्

काठमाडौं :  ललितपुरको सानेपास्थित ‘शुकल्प स्पा एन्ड थेरापी’ की सञ्चालिका सुमन कुमाल गत शुक्रबार पक्राउ परिन्। गोरखाकी सुमनले नाबालिकालाई जबरजस्ती यौनकार्यमा लगाएको आरोप छ। सुमनले स्पा सेन्टरमा कर्मचारीका रूपमा कार्यरत एक बालिकालाई ललाइफकाइ विभिन्न प्रलोभनमा पारी स्पामा सेवा लिन आउने ग्राहकहरूको इच्छाअनुसार जबरजस्ती अनैतिक कार्य गराइरहेको सूचना प्रहरीले पाएको थियो र जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा थप अनुसन्धान भइरहेको छ।

काठमाडौं गोकर्णेश्वर नगरपालिका—५, शिवचोकमा जस्ताको टहरामा खाजाघर सञ्चालन गरी नाबालिकालाई जबरजस्ती यौन कार्यमा लगाउने मसली तामाङ कारागार चलान भएकी छन्। उनले खाजाघरको जस्ताको टहराभित्र रहेको कोठामा नाबालिकालाई ललाइफकाइ विभिन्न प्रलोभनमा पारी, आर्थिक लाभ लिँदै जबरजस्ती वेश्यावृत्तिमा लगाउने गरेकी थिइन्।

काठमाडौं–१७ ठहिटीमा रहेको ‘न्यु हर्बल स्पा’ का सञ्चालक शेरबहादुर भारती नाबालिकालाई गलत कार्यमा लगाएको आरोपमा पक्राउ परेका छन्। उनले रोजगारी खोज्दै काठमाडौं आएकी १५ वर्षीया नाबालिकालाई न्युहर्बल स्पामा मसाजको काममा लगाइदिने र प्रतिव्यक्ति मसाज गरेबापत ३ सय रुपैयाँ कमाइ हुने भन्दै प्रलोभनमा पारेका थिए। नाबालिकाको नाजुक अवस्थाको फाइदा उठाई लोभलालच, डर र त्रास देखाई उक्त स्पामा पुरुष ग्राहकहरू आएपछि मसाजको काममा नलगाई अस्थायी साधन दिई दैनिक ४/५ जना ग्राहकसँग पैसा लिई जबरजस्ती यौनजन्य कार्यमा लगाएको प्रहरी अनुसन्धानमा खुलेको छ।

  •  रोजगारी र राम्रो आम्दानीको सपना देखाएर नाबालिकालाई स्पा, मसाज सेन्टर र खाजाघरमार्फत यौन शोषणमा धकेल्ने गिरोह सक्रिय रहेको तथ्य फेरि उजागर भएको छ। 
  • पछिल्लो १० महिनामै काठमाडौं उपत्यकाबाट ८९ नाबालिकाको उद्घार हुनु समस्याको भयावह संकेत बनेको छ।

गत मंगलबार प्रहरी वृत्त गौशालाले मनहरी–२, मकवानपुरका विकास भुलनसहित १६ जनालाई पक्राउ गर्‍याे। उनीहरूमाथि लागेको आरोप सामान्य थिएन। उनीहरूको टोलीले कलेज पढ्ने किशोरी तथा युवतीहरूलाई प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने गथ्र्यो। उनीहरू सामाजिक सञ्जालमार्फत ग्राहक खोजी गरी होटलहरूमा यौनजन्य अनैतिक गतिविधि सञ्चालन गर्ने गर्थे। रोजगारीको खोजीमा काठमाडौं आएका तथा विभिन्न बाध्यतामा परेका युवतीहरूलाई उनीहरूले खाजाघर, होटल तथा मसाज सेन्टरसम्म पुर्‍याउने गरेका थिए। फेसबुक, ह्वाट्सएपलगायतका माध्यमबाट युवतीहरूको फोटो तथा भिडियो देखाई ग्राहकसँग मोलमोलाइ गर्ने, सेटिङ मिलाउने तथा ट्याक्सी र निजी सवारीसाधन प्रयोग गरी गौशाला क्षेत्रको शम्भुमार्ग र बत्तीसपुतली क्षेत्रका विभिन्न होटलमा पुर्‍याई यौनजन्य गतिविधि गराएको कसुरमा उनीहरू पक्राउ परेका हुन्।

भक्तपुरको जडीबुटीमा रहेको ‘पुनम ल्हास्सो फ्याफुल्ला’ खाजाघरकी सञ्चालिका देविका श्रेष्ठ यतिखेर कारागारमा छिन्। उनले खाजाघरमा काममा लगाइदिने र एक जना पुरुष ग्राहकसँग शारीरिक सम्बन्ध राखेबापत पाँच सय रुपैयाँ दिने भन्दै नाबालिकालाई प्रलोभनमा पारेकी थिइन्।
उक्त खाजाघरमा आउने नेपाली, भारतीय तथा चिनियाँ ग्राहकसँग सोही खाजाघरको पछाडि रहेको कोठामा लगी ३/४ जना पुरुष ग्राहकसँग शारीरिक सम्बन्ध राख्न लगाई जबरजस्ती यौनकार्यमा लगाएकी थिइन्। ती नाबालिकालाई नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोले गत माघमा उद्धार गरेको थियो।

नाबालिकालाई रोजगारीको प्रलोभनमा पारी खाजाघर तथा मसाज सेन्टरको काममा लगाउने बहानामा यौनजन्य गतिविधिमा धकेल्ने घटना नयाँ होइनन्। नेपालको कानुनले उमेर पुगेका युवा–युवतीबीचको आपसी सहमतिमा हुने शारीरिक सम्बन्धलाई अपराध मानेको छैन। तर, विभिन्न प्रलोभनमा पारी यौन शोषण गर्नु, जबरजस्ती सम्बन्ध बनाउन बाध्य पार्नु तथा खाजाघरमा काम गर्ने भनेर अन्य अनैतिक काममा लगाउनु पूर्ण रूपमा गैरकानुनी कार्य हो। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले उपत्यकामा मात्रै २०८२ साउनदेखि २०८३ वैशाखसम्म विभिन्न स्पा, मसाज सेन्टर तथा होटलहरूबाट ८९ जना नाबालिकाको उद्धार गरेको छ। यस्तो कार्यमा बाध्य पारिएका २४ जना महिलाको पनि उद्धार गरिएको छ। आर्थिक वर्ष २०७७ यता अहिलेसम्म मानव बेचबिखन अनुसन्धान ब्युरोले २ सय ३ जना नाबालिका र १ सय ७१ जना महिलाको उद्धार गरिसकेको छ।

मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता राजन लिम्बूका अनुसार पछिल्लो समय यस्ता गतिविधि केही बढिरहेका छन्। सामाजिक सञ्जालबाट फैलिने गलत सूचना र विज्ञापनका कारण बालिकाहरू सजिलै प्रलोभनमा पर्ने गरेका छन्। जागिर खाने आसमा काठमाडौं आउने र अन्य कुनै विकल्प नहुँदा उनीहरू यस्ता गतिविधिमा फस्ने गरेका छन्। प्रवक्ता लिम्बू भन्छन्, ‘उद्धार गर्ने क्रममा बालिकाहरू सजिलै काम छोड्न नमान्ने र घर फर्कन आनाकानी गर्ने जस्ता व्यवहार पनि देखाउने गर्छन्।’ बालिकाहरूको उद्धार गरी विभिन्न संरक्षण गृहमा पठाइने र उनीहरूलाई आवश्यक काउन्सिलिङ गरेरमात्रै घर पठाइने गरेको जानकारी उनले दिए।

मानसिक अस्पताल पाटनका चिकित्सक रविन बस्नेत गैरकानुनी कार्य र यौनजन्य गतिविधिमा बालिकाको प्रयोग हुनु अत्यन्तै गम्भीर र गलत कुरा भएको बताउँछन्। उनी भन्छन्, ‘यस्ता गतिविधिमा संलग्न गराइएका बालिकाहरू गम्भीर ट्रमामा जाने, डिप्रेसन र एन्जाइटीजस्ता मानसिक समस्यामा पर्ने र भविष्यमा उनीहरूको सामान्य यौन जीवन नै समस्याग्रस्त हुन सक्ने उच्च जोखिम रहन्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.