कीर्तिमानी रंगशाला, साकिराको ठुम्का
साकिरा फेरि २०२६ को विश्वकप हुनुअघि चर्चामा आइन्। समय फेरिएको छ, प्रविधिले उचाइ लिएको छ, भाषा, गीत र संगीतको प्रसारणमा आधुनिकता थपिएको छ।
विश्वकप २०२६ को आकर्षकमध्ये एक साकिरा र बर्ना ब्वायको प्रस्तुति बन्यो । मेक्सिको र दक्षिण अफ्रिकाको बीच उद्घाटन खेल हुनुअघि दाई दाई बोलको गीतले रंगशाला गुञ्जायमान भयो । विश्वकप पारखीहरूले पनि त्यसको मज्जा लिए ।
साकिरा र बर्ना ब्वायले विश्वकपको आधिकारिक गीत दाई दाई पहिलो पटक लाखौं दर्शकमाझ प्रत्यक्ष प्रस्तुत गरेका थिए। संगीतमय उद्घाटन समारोहको अन्तिम भागका लागि दर्शक उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका थिए। रंगशालाभरि बत्तीहरू मधुरो बनाइएपछि विशेष प्रकाशको प्रभाव र विशाल एलईडी दृश्यहरूसँग साकिरा र बर्ना बोयको प्रवेश भयो। हजारौं दर्शकले मोबाइलको फ्ल्यास बालेर उनीहरूलाई स्वागत गरेका थिए।
विश्वकपको विश्वव्यापी भावना, एकता, उत्सव, विविधता र फुटबलप्रतिको प्रेम झल्काउने गरी दाई दाई गीत तयार गरिएको बताइएको छ। गीतमा ल्याटिन पपको प्रभावका साथैं अफ्रिकी बिट्स, आधुनिक पपसंगीत बहुसांस्कृतिक ताल र लयकोे संयोजन गरिएको छ। साकिराको ऊर्जावान् गायन र बर्ना बोयको अफ्रोबिट शैलीले दर्शकलाई नाच्न बाध्य बनाएको थियो। साकिरा र बर्ना बोयको संयुक्त प्रस्तुति केवल सांगीतिक कार्यक्रममात्र नभई विश्वकपको सुरुवातलाई विश्वव्यापी उत्सवमा रूपान्तरण गर्ने मुख्य आकर्षण बन्यो।
विश्वकप, साकिरा र २०२६
प्रत्येक वर्ष संयुक्त राज्य अमेरिकामा प्रदान हुने संगीत क्षेत्रमा योगदान दिनेहरूलाई प्रदान गरिने विश्व चर्चित ग्रामी अवार्ड र ल्याटिन ग्रामी अवार्ड सबैभन्दा धेरै पटक प्राप्त गर्ने गायिकामध्येकी एक दक्षिण अमेरिकी मुलुक कोलम्बियाकी विश्वचर्चित गायिका विश्व साकिरा इसाबेल मेबारक रिपोल अर्थात् साकिरा द पप क्विनको प्रस्तुति पनि विश्वकपको आकर्षकमध्येको एक बन्दै आएको छ ।
विश्वकप हुनुअघि उनले कस्तो विश्वकप गीत गाउँलिन् भन्नेदेखि लिएर उनले कस्तो प्रकारको नृत्य गर्लिन् भन्ने चासो विश्वमा हुने गर्दछ । ल्याटिन भाषा र संगीतको विश्वभर विस्तार गर्न उल्लेखनीय योगदान दिएकी ४९ वर्षीया साकिरालाई ल्याटिन पप क्विन पनि भनिन्छ । पुरानो युरोपेली भाषामध्ये पर्ने ल्याटिन भाषा आज धेरैजसो विज्ञान, चिकित्सा र कानुनका शब्दहरूको मूलस्रोतको रूपमा लिइन्छ । यही भाषालाई केन्द्रमा राखिएको ल्याटिन संगीत ल्याटिन अमेरिका (मेक्सिको, कोलोम्बिया, ब्राजिल आदि देशमा) बाट आएको संगीत शैलीलाई जनाइन्छ।
ल्याटिन संगीतलाई नृत्यसमेत गर्न सहज संगीतभित्र मानिन्छ । यही संगीत शैलीलाई विश्वभर चिनाउन भूमिका खेल्ने गायिकामध्ये पर्ने साकिराले विश्वकपसँगको गीत संगीतको साइनो भने २००६ बाटै जोडिएको हो । विश्वकपको लोकप्रियतालाई संगीतमार्फत विश्वभर पुर्याउन साकिराको विशेष भूमिका रहेको छ । जसलाई यहाँ वर्णन गरिएको छ ।
२००६ विश्वकप (जर्मनी)
साकिराको विश्वकपसँग जोडेर पहिलो गीत सन् २००६ मा आएको थियो । जर्मनीमा भएको विश्वकप हुनुअघि सार्वजनिक भएको उनको गीत हिप्स डन्ट लाइले विश्वभर अन्यन्तै चर्चा कमाएको थियो ।
२०१० विश्वकप (दक्षिण अफ्रिका)
विश्वकपलाई अर्को उचाइमा पुर्याउन र संगीत पारखीहरूका माझमा विश्वकपलाई चर्चित बनाउन सन् २०१० को विश्वकप अघि साकिराले गाएको गीत पर्याप्त बन्यो । विश्वकपमात्र होइन आयोजक महादेश र आयोजक देशलाई नैं विश्वभर चिनाउन साकिराको गीत प्रभावशाली बन्यो । करिब १६ वर्षअघि गाएको वाका वाका ऐ ऐ दिज टाइम फर अफ्रिका बोलको विश्वकप गीत गाज पनि उत्तिकै लोकप्रिय रहेको छ ।
२०१४ विश्वकप (ब्राजिल)
ल्याटिन संगीतको रानी भनेर चिनिने साकिराले ल्याटिन भाषा र संगीतको एक उद्गगम देशभित्र पर्ने ब्राजिलमा २०१४ मा भएको विश्वकपमा ला ला ला ला बोलको गीतको सार्वजनिक गरेकी थिइन् । यो गीतले केवल विश्वकपको प्रचारमा योगदान गरेन, यो गीत विश्वकपसँग नजोडिकन पनि गुनगुनाउने गरी लोकप्रिय भयो । कुनै विशेष महत्त्व वा कार्यक्रमका लागि गाइने गीत पनि सर्वकालीन रूपमा उत्कृष्ट बन्न सक्छ भन्ने उदाहरण साकिराले यस गीत मार्फत दिइन् ।
२०२६ (अमेरिका, क्यानडा र मेक्सिको)
साकिरा फेरि २०२६ को विश्वकप हुनुअघि चर्चामा आइन् । समय फेरिएको छ, प्रविधिले उचाइ लिएको छ, भाषा, गीत र संगीतको प्रसारणमा आधुनिकता थपिएको छ, यस्तो बेला साकिराले नयाँ गीत ल्याइन् दाई दाई बोलको गीत । विश्वकप २०२६ को आधिकारिक गीतको रूपमा दर्ज भएको यस गीत लोकप्रियमात्र भएन समकालीन गीतसंगीतको उत्कृष्ट प्रस्तुतिमा दर्ज हुन पुग्यो ।
सामाजिक सञ्जालमार्फत सबैभन्दा बढी सेयर भएको गीत बन्न पुगेको यस गीतमा साकिराले अफ्रिकन गायक बर्ना ब्वायलाई पनि समेटेकी छन् । दाई दाइमार्फत साकिरा चौथोपटक विश्वकपसँग जोडिएकी छिन्, जुन एक दुर्लभ उपलब्धि भित्र समेटिएको छ । करिब ३ मिनेट ४ सेकेन्डको यो गीत दुई हप्ताअघि सार्वजनिक भएको थियो । यो गीत आधिकारिक युट्युबमा मात्रै १ सय २९ मिलियन पटक हेरिसकिएको छ ।
साकिरा र बर्ना ब्वायको प्रस्तुति
एस्टाडियो अज्टेकाको कीर्तिमान
मेक्सिको उत्कृष्ट रंगशालाको रूपमा रहेको राजधानी मेक्सिको सिटीको मुटुमा रहेको एस्टाडियो अज्टेका रंगशालाले विश्वकप २०२६ को उद्घाटन खेलको आतिथ्यता गर्दै कीर्र्तिमान कायम गर्यो। अज्टेका विश्व फुटबलको सबैभन्दा प्रसिद्ध र ऐतिहासिक स्टेडियममध्ये एक यसको सन् १९६६ मा उद्घाटन गरिएको थियो। हाल ८० हजार दर्शक क्षमता रहेको यस रंगशालामा कुल तीन वटा विश्वकप आयोजना भएको छ । जुन कीर्र्तिमान हो । यहाँ सन् १९७०, १९८६ र २०२६ को विश्वकपका खेलहरू आयोजना भएका छन् । यही मैदानमा ब्राजिलका विश्व चर्चित खेलाडी पेलेको ऐतिहासिक विजय (१९७०) भएको थियो । उनको देशको मात्र होइन यसलाई पेलेको जीवनको स्वर्णिम उपलब्धिको रूपमा पनि लिँदै उनको विजयसँग यसलाई जोडिन्छ ।
१९७० को विश्वकप फाइनलमा पेले नेतृत्वको ब्राजिलले इटलीलाई ४–१ ले हराएर उपाधि जितेको थियो। त्यही विश्वकपमा पेलेले आफ्नो तेस्रो विश्वकप उपाधि जितेका थिए, जुन आजसम्म पनि एक अद्वितीय उपलब्धि मानिन्छ।
सन् १९८६ मा पनि यो रंगशालाले विश्वकपको आतिथ्यता गर्दा अर्का महान् खेलाडी विश्वमाझ देखिए । उनी थिए डियगो म्यारोडोना, अर्जेन्टिनाका म्यारोडोनाले यही रंगशालामा गरेको ह्यान्डमार्फत गोल र अर्को लगभग विपक्षीका सबै रक्षकलाई छक्याएर गरेको गोल निकै चर्चित रह्यो । जसले म्यारोडानालाई चिन्नेहरूका लागि थप चिन्ने आधारसमेत बन्यो ।
१९८६ विश्वकपको क्वार्टरफाइनलमा म्यारोडोनाले इंगल्यान्डविरुद्ध दुई अत्यन्त चर्चित गोल गरेका थिए। पहिलो गोल, हातले बल छोएर गरेको गोल, जसलाई पछि ह्यान्ड अफ गड र दोस्रो गोल आफ्नै मैदानबाट धेरै खेलाडी छक्याउँदै गरेको अद्भुत गोल, जसलाई फिफाले गोल अफ द सेन्चुरी घोषणा गरेको थियो ।
यसैगरी, दुई विश्वपको फाइनल आयोजना गर्ने केही रंगशालामध्येको एक अज्टेकाले १९७० विश्वकप फाइनल र १९८६ विश्वकप फाइनल दुवै आयोजना गरेको थियो। समुद्री सतहबाट करिब २,२४० मिटर उचाइमा अवस्थित यो रंगशाला फुटबलका महान् खेलाडीहरूको मञ्चको रूपमा पनि लिइन्छ । यस मैदानमा खेल्ने अवसर पाएका केही महान् खेलाडीहरूमा पेले, म्यारोडोना, जोन क्रुफ, माइकल प्लाटिनी, जिको आदि रहेका छन् । र यसलाई फुटबलको मन्दिर पनि भनिन्छ ।
अज्टेक संस्कृतिको भव्य झल्को
२०२६ फिफा विश्वकपको उद्घाटन समारोहले मेक्सिकन इतिहास र आधुनिक प्रविधिको मिश्रण प्रस्तुत गर्दै दर्शकलाई मन्त्रमुग्ध बनाएको छ। एस्टाडियो अज्टेकामा मा आयोजित कार्यक्रममा मेक्सिको प्राचीन सभ्यता र अज्टेक संस्कृतिलाई लाई विशेष प्राथमिकताका साथ प्रस्तुत गरिएको थियो।
समारोहको सुरुवातमा एज्टेक युगबाट प्रेरित नृत्य, पोसाक र सांस्कृतिक प्रतीकहरूले रंगीन दृश्य सिर्जना गरेका थिए। कलाकारहरूले ढाल, ड्रम र परम्परागत शैलीका नृत्यमार्फत मेक्सिकोको हजारौं वर्ष पुरानो इतिहासलाई जीवन्त रूपमा प्रस्तुत गरेका थिए।
कार्यक्रमको मुख्य आकर्षणमध्ये एक विशाल सुनौलो गोला थियो, जुन स्टेडियमको बीचमा देखा परेर विस्तारै प्रकाश र डिजिटल प्रभावमार्फत विश्वकप ट्रफीको रूपमा परिवर्तन भएको थियो। यस दृश्यले दर्शकबाट ठूलो उत्साह र ताली पाएको थियो।
स्टेडियमभरि मेक्सिकोको राष्ट्रिय झण्डाका रंगहरू—हरियो, सेतो र रातो—मा आधारित आतिशबाजी र लेजर सो गरिएको थियो। ड्रोन प्रदर्शन र प्रकाश संयोजनले रातको आकाशलाई उज्यालो बनाएको थियो। समारोहले फुटबलमात्र नभई संस्कृति, इतिहास र प्रविधिको संगमलाई एकैसाथ प्रस्तुत गर्दै विश्वकपको सुरुवातलाई भव्य बनाएको थियो।
अन्तर्राष्ट्रिय कलाकारहरूको प्रस्तुति
२०२६ फिफा विश्वकपको उद्घाटन समारोहमा विश्वप्रसिद्ध कलाकारहरूको समूहले सांगीतिक प्रस्तुतिमार्फत स्टेडियमलाई उत्सवमय बनाएको छ। अज्टेका रंगशालामा आयोजित कार्यक्रममा हजारौं दर्शक उपस्थित थिए। उद्घाटन समारोहमा मुख्य आकर्षण बनेका साकिरा र बर्ना ब्वायका
साथै अन्य चर्चित कलाकारहरूले लगातार स्टेज प्रदर्शन गरेका थिए।
मेक्सिकन मानाले रक संगीतमार्फत कार्यक्रमको सुरुवात गरेका थिए भने अर्का मेक्सिकन अलेजेन्ड्रो फर्नान्डेजले परम्परागत मेक्सिकन शैलीको प्रस्तुति दिएका थिए। स्पेनिस बेलिन्डाले पप गीतमार्फत दर्शकको ध्यान खिचेकी थिइन्।
त्यसैगरी भेनेज्युलेन ड्यानी ओसियन र कोलम्बियन जे बाल्भिनले आधुनिक ल्याटिन पप र रेगेटन शैलीका गीत प्रस्तुत गर्दै स्टेडियममा ऊर्जा भरिदिएका थिए। मेक्सिकन लोक संगीतको प्रतिनिधित्व गर्दै मेक्सिकन लिा होन्स र र लस एन्गल्स एज्युअल्सलेको विशेष प्रस्तुति दिएका थिए। आयोजकका अनुसार विभिन्न महादेशका कलाकारहरूको सहभागिताले विश्वकपलाई ‘संगीत र संस्कृतिको विश्व उत्सव’का रूपमा प्रस्तुत गर्ने उद्देश्य राखिएको थियो।
तीन वटा छुट्टाछुट्टै उद्घाटन समारोह
जुन ११ मा विश्वकप सुरु भए पनि क्यानडा र अमेरिकाका सुरु हुने आयोजकसहितको खेललाई पनि उद्घाटन खेलकै रूपमा लिइने भएको छ । जहाँ खेल हुनुअघि उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । अघिल्ला विश्वकपहरूमा प्रतियोगिताको पहिलो खेलअघि एउटै उद्घाटन समारोह हुने गथ्र्यो। तर विश्वकप २०२६ मा तीनवटा आपसमा जोडिएका उद्घाटन समारोह भएका छन् ।
मेक्सिकोमा बिहीबार उद्घाटन हुँदा अमेरिका र क्यानडामा शुक्रबार उद्घाटन भए । जे बाल्भिन, नोरा फतेही र क्याटी पेरीले क्रमश क्रमशः मेक्सिको सिटी, टोरोन्टो र लस एन्जन्समा क्रमशः मेक्सिको, क्यानडा र अमेरिकाको उद्घाटनको नेतृत्व गरे ।
उद्घाटनकै दिन शिक्षकको प्रदर्शन
उद्घाटन समारोहको दिन मेक्सिको सिटीमा उत्सवसँगै विभिन्न सामाजिक समूहहरूले व्यापक विरोध प्रदर्शन गरेका छन्। हजारौं शिक्षकहरूले राजधानीका सडकहरूमा विशाल मार्च निकाल्दै तलब वृद्धि, राम्रो सेवासुविधा र शिक्षा क्षेत्रमा सुधारको माग गरेका छन्। उनीहरूले लामो समयदेखि न्यून तलब र अस्थिर रोजगारीको समस्या भोग्दै आएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
त्यसैगरी, बेपत्ता व्यक्तिका परिवारहरूले पनि प्रदर्शनमा सहभागिता जनाउँदै आफ्ना आफन्तहरूको खोजी र न्यायको माग गरेका छन्। उनीहरूले राज्यले बेपत्ता घटनाहरूको अनुसन्धानमा ढिलाइ गरेको आरोप लगाएका छन्। मानवअधिकारकर्मी तथा अन्य नागरिक समाज समूहहरूले पनि प्रदर्शनमा समर्थन जनाउँदै पारदर्शिता, सुरक्षा सुधार र सामाजिक न्यायका मागहरू उठाएका छन्। उद्घाटन समारोहका कारण अन्तर्राष्ट्रिय ध्यान मेक्सिको सिटीमा केन्द्रित भएको बेला गरिएको यो प्रदर्शनलाई सहभागीहरूले आफ्ना मुद्दा विश्व समुदायसमक्ष पुर्याउने अवसरका रूपमा लिएका छन्।
राजनीति र गर्मीको चुनौती
अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा सुरु भएको विश्वकप राजनीति, भिसा विवाद र अत्यधिक गर्मीका कारण चर्चामा आएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिका कारण सोमाली रेफ्री ओमार अब्दुलातिदर अर्तान लई अमेरिका प्रवेश गर्न नदिएको घटनाले विवाद बढाएको छ। साथै, इरानी टोलीको अमेरिका प्रवेश र सुरक्षाबारे पनि प्रश्न उठेका छन्।
यसैबीच, प्रतियोगीता हुने केही सहरमा अत्यधिक गर्मी र आद्रताले खेलाडी तथा दर्शकको स्वास्थ्यमा जोखिम बढ्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन्। मानवअधिकार समूहहरूले फिाले मानवअधिकार र प्रवासनसम्बन्धी समस्यामा पर्याप्त ध्यान नदिएको आरोप लगाएका छन्। हुन त फिफाले यस विश्वकपको पहिलो हाफको बीचमा र दोस्रो हाफको बीचमा रेस्ट गर्नका लागि समय छुट्ट्याएको छ । विश्वकप २०२६ खेलसँगै राजनीति, भिसा विवाद र जलवायु चुनौतीका कारण पनि केन्द्रमा रहेको छ।
विश्वकप खेलमा ऐतिहासिक घटना, एकै खेलमा ३ रातो कार्ड
विश्वकपको उद्घाटन खेलमा तीनवटा रातो कार्ड देखाइएको छ । खेलमा कुल तीन वटा रातो कार्ड देखाइएका छन्, जुन विश्वकप इतिहासकै एक खेलमा सबैभन्दा धेरै हो ।
दक्षिण अफ्रिका र मेक्सिकाको बीचको उद्घाटन खेलमा दक्षिण अफ्रिकाका स्टेफेलो सिथ्लो र तेम्बा ज्वान तथा मेक्सिकोका सेसर मोन्टेसलाई रातो कार्ड देखाइएको हो । रातो कार्डपछि एक समय मैदानमा १९ खेलाडीमात्र थिए । रातो कार्ड पाएका खेलाडीरूले आफ्नो टोलीको आगामी खेल गुमाउने भएका छन्। खेल अत्यन्तै तनावपूर्ण र फाउल प्रवण बनेको बताइएको छ, जसका कारण रेफ्रीले कडा निर्णय लिनु परेको थियो।
रंगशालमा खाली सिट अनि टिकट मूल्यबारे बहस
विश्वकप सुरु हुनु अगावैदेखि नै विश्वकप टिकट मूल्यलाई लिएर टिप्पणीहरू भइरहेको भए पनि बिहीबारको खेल पनि त्यसले झन् बहस बढाएको छ । ग्वाडालाहारा, मेक्सिकोमा विश्वकप उद्घाटन दिनमा दक्षिण कोरिया र चेक रिपब्लिकका बीचमा भएको खेलमा रंगशालाका धेरै सिट खाली देखिएपछि टिकट मूल्यबारे उठ्दै आएको चिन्ता फेरि चर्चामा आएको छ।
मेक्सिकोमा भएको उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० को हराउँदा ८० हजारभन्दा बढी दर्शकले भरिएको रंगशालामा उत्साहपूर्ण वातावरण देखिएको थियो।
तर केही घण्टापछि ग्वाडालाराजामा भएको दक्षिण कोरिया–चेकिया अर्थात् चेक रिपब्लिक बीचको खेलमा रंगशालाभरि खाली सिटहरू प्रस्ट देखिन्थे। करिब ४६ हजार दर्शक अट्ने रंगशालामा आधिकारिक उपस्थिति ४४,९८५ जना भनिए पनि मध्यभागका धेरै सिटहरू खाली थिए र अन्य क्षेत्रमा पनि छरिएका खाली स्थान देखिएका थिए। जुन खेल दक्षिण कोरियाले १–० को स्थिति उल्टाउँदै २–१ ले जितेको थियो । सिटहरू खाली देखिएपछि अत्यधिक महँगा टिकट मूल्य, होटल तथा आवास खर्च, तीन आयोजक राष्ट्र (अमेरिका, क्यानडा, मेक्सिको) बीच यात्रा खर्च तथा फिफाको टिकट बिक्री तथा मार्केटिङ रणनीतिबारे विश्वकप हुनु अघि उठेको गुनासोले फेरि ध्यान खिचेको छ ।
तर कतिपय फुटबल विश्लेषकहरूले भने मेक्सिकोको उद्घाटन खेलमा घरेलु टोली खेलेकाले दर्शकको चाप धेरै हुनु स्वाभाविक थियो। तर दक्षिण कोरिया र चेकिया दुवै विश्व वरीयतामा शीर्ष २५ भन्दा बाहिर रहेका कारण त्यस खेलमा अन्तर्राष्ट्रिय समर्थकहरूको संख्या अपेक्षाकृत कम देखिएको हुन सक्ने बताएका छैनन् ।
विश्वकप २०२६ इतिहासकै सबैभन्दा ठूलो संस्करण हो, जसमा ४८ टोली सहभागी छन् र कुल १०४ खेल खेलिनेछन्। प्रतियोगिता जुलाई १९, २०२६ मा सम्पन्न हुनेछ।
- साकिरा फेरि २०२६ को विश्वकप हुनुअघि चर्चामा आइन्। समय फेरिएको छ, प्रविधिले उचाइ लिएको छ, भाषा, गीत र संगीतको प्रसारणमा आधुनिकता थपिएको छ, यस्तो बेला साकिराले नयाँ गीत ल्याइन् दाई दाई बोलको गीत।
- वश्वकप हुनुअघि उनले कस्तो विश्वकप गीत गाउँलिन् भन्नेदेखि लिएर उनले कस्तो प्रकारको नृत्य गर्लिन् भन्ने चासो विश्वमा हुने गर्दछ। ल्याटिन भाषा र संगीतको विश्वभर विस्तार गर्न उल्लेखनीय योगदान दिएकी ४९ वर्षीया साकिरालाई ल्याटिन पप क्विन पनि भनिन्छ।
- साकिराको विश्वकपसँग जोडेर पहिलो गीत सन् २००६ मा आएको थियो। जर्मनीमा भएको विश्वकप हुनुअघि सार्वजनिक भएको उनको गीत हिप्स डन्ट लाइले विश्वभर अन्यन्तै चर्चा कमाएको थियो।
दाई दाई र बर्ना बोय
दाई दाई बोलको गीतमा बर्ना बोयलाई जोड्नुले ठूलो अर्थ बोकेको छ । गीत संगीत केवल मनोरञ्जनको माध्यममात्र होइनन् गीतसंगीत विश्व जोड्ने कडी पनि हुन् भन्ने भाव बर्ना बोयको उपस्थितिले जनाएको छ ।
बर्ना बोय अफ्रिकाका सबैभन्दा सफल समकालीन कलाकारमध्ये एक मानिन्छन्। अफ्रिकन गायकमध्ये ग्रामी अवार्ड जित्ने कममध्येका एक ३४ वर्षीय गायक बोय अर्थात् डामिनी एबुनोलुवा ओगुलु नाइजेरियन गायक हुन् । उनको देश यस पटक विश्वकपमा भने छानिन सकेन । बोयको सहभागिताले अफ्रिकी संगीत संस्कृतिको प्रतिनिधित्व विश्वकपको विश्वव्यापी चरित्र अफ्रिका र ल्याटिन अमेरिकाबीचको सांगीतिक
सम्बन्ध झल्काएको थियो।
प्रतिक्रिया दिनुहोस !