कांग्रेसमा सदस्यता अद्यावधिक

देउवासहित शीर्ष नेता नै महाधिवेशन प्रक्रियाबाट बाहिरिने जोखिममा

देउवासहित शीर्ष नेता नै महाधिवेशन प्रक्रियाबाट बाहिरिने जोखिममा

काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियानमा निवर्तमान सभापति शेरबहादुर देउवासहित शीर्ष नेता नै बाहिरिने जोखिम बढेको छ। पार्टीले सञ्चालन गरेको डिजिटल सदस्यता प्रणालीमा शीर्ष नेतृत्वदेखि केन्द्रीय सदस्यसम्म ठूलो संख्यामा नेताहरू सहभागी भएका छैनन्।निवर्तमान सभापति शेरबहादुर देउवा, नेता डा. शेखर कोइराला, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, पूर्वउपसभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र डा. शशांक कोइराला, डा. प्रकाशशरण महतलगायत शीर्ष नेताहरूले हालसम्म सदस्यता अद्यावधिक गरेका छैनन्।

अहिले पार्टीका उपसभापति विश्वप्रकाश शर्माले जो–जो नेताहरूसँग कुराकानी गर्नुपर्ने हो, कुराकानी गरिराख्नु भएको छ।

गगन थापा, सभापति

पूर्वसहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, उमाकान्त चौधरी, किशोरसिंह राठौर, बद्री पाण्डे, मीन विश्वकर्मालगायत नेताहरूको सदस्यता अद्यावधिक भएको छैन। नेताहरू एनपी साउद, रमेश लेखक, श्याम घिमिरे, शंकर भण्डारी, गुरु बराल, कुन्दनराज काफ्ले, कान्तिका सेजुवाललगायतका केन्द्रीय सदस्यहरू पनि अद्यावधिक प्रक्रियामा आएका छैनन्। यीमध्ये अधिकांश नेता १४औं महाधिवेशनमा विभिन्न प्यानलबाट निर्वाचित भएका तथा केही मनोनीत केन्द्रीय सदस्यसमेत छन्।

विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा कांग्रेस पुनर्गठन भएपछि १४औं महाधिवेशनमा देउवा प्यानलबाट निर्वाचित अधिकांश पार्टी गतिविधि बाहिर छन्। सहमतिका लागि पटक–पटक वार्ता भए पनि संगठन एक हुन सकेको छैन।सभापति थापाले पार्टीको आन्तरिक विवाद समाधानका लागि उपसभापति विश्वप्रकाश शर्माले असन्तुष्ट नेताहरूसँग छलफल गरिरहेको दाबी गरे पनि नतिजा आउन सकेको छैन। 

‘अहिले पार्टीका उपसभापति विश्वप्रकाश शर्माले जो–जो नेताहरूसँग कुराकानी गर्नुपर्ने हो, उहाँले कुराकानी गरिराख्नु भएको छ,’ उनले केही दिनअघि एक कार्यक्रममा भनेका थिए, ‘हामी आफ्नो पार्टीको काम पनि अगाडि बढाइरहेका छौं। नेताहरूसँग गर्नुपर्ने संवाद पनि गरिरहेका छौं।’ 
क्रियाशील सदस्यता अद्यावधिकको समग्र नेतृत्व गरेका महामन्त्री प्रदीप पौडेल पनि असन्तुष्टि जनाइरहेका पक्षलाई पनि प्रक्रियामा सहभागी हुन आग्रह गर्दै उनले पार्टीभित्रका सबै धार र विचारलाई समेट्ने प्रयास भइरहेको बताउँछन्। ‘हामी सबैलाई यस प्रक्रियामा समावेश गर्न चाहन्छौं,’ उनी भन्छन्, ‘उहाँहरूको इच्छाशक्ति मात्रै आवश्यक छ।’ पौडेलले सदस्यता अद्यावधिकलाई आन्तरिक विवाद वा बार्गेनिङको विषय नबनाई सबैको साझा सहमतिका रूपमा अघि बढाउनुपर्ने बताउँछन्।

कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक नगर्ने कुनै पनि नेता–कार्यकर्ता १५औं महाधिवेशनको प्रक्रियामा सहभागी हुन नपाउने निर्णय यसअघि नै गरिसकेको छ। देउवासहितका नेताहरूले सदस्यता अद्यावधिकबाट पछि हटे आसन्न महाधिवेशनमा सहभागी हुन नपाउने निश्चित छ। महामन्त्री गुरुराज घिमिरे भन्छन्, ‘असन्तुष्ट पक्षलाई पनि समेट्न चाहन्छौं, तर पार्टीको औपचारिक प्रक्रियामा सहभागी हुन सदस्यता अद्यावधिक अनिवार्य छ।’
कांग्रेसले बिहीबार राति १२ बजेसम्मका लागि सदस्यता अद्यावधिकको समयसीमा तोकेको थियो। उक्त समयावधिभित्र ५ लाख ३८ हजार ६ सय २२ जनाले क्रियाशील सदस्यता अद्यावधिक गराएका छन्। पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको शुक्रबार बसेको बैठकले हालसम्म ६ लाख ८७ हजार ९ सय ३१ जना क्रियाशील सदस्यको विवरण डिजिटल प्रणालीमा प्रविष्ट भइसकेको जानकारी दिएको छ। 

समितिका अनुसार डिजिटल प्रणालीमा रहेका कुल ७ लाख ८२ हजार २ सय ९ क्रियाशील सदस्यमध्ये ५ लाख ३८ हजार ६ सय २२ जनाले सदस्यता प्राप्त गरिसकेका छन् भने १ लाख ४९ हजार ३ सय ९ जनाको स्वयं अद्यावधिक फाराम वडा तहबाट अनुमोदनको प्रक्रियामा रहेको छ। 

पार्टीले असार ५ गतेभित्र सबै वडा तहलाई अनलाइनमार्फत प्राप्त फाराम अनुमोदन गरिसक्न निर्देशन दिएको छ। निर्धारित समयभित्र अनुमोदन हुन नसके विधानअनुसार योग्य सदस्यको सदस्यता केन्द्रबाट स्वतः अनुमोदन गरिने व्यवस्था मिलाइने जनाइएको छ।महाधिवेशनको तयारीलाई प्रभावित नपर्ने गरी सदस्यता अद्यावधिक प्रक्रिया सम्पन्न गर्न पार्टीले दुर्गम तथा इन्टरनेट पहुँच न्यून भएका हिमाली र पहाडी क्षेत्रका केही जिल्ला, साथै बारा र खोटाङका लागि अद्यावधिकको समय असार ७ गतेसम्म थप गरेको छ। विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूका लागि भने असार १० गतेसम्मको समयसीमा तोकिएको छ।

नयाँ क्रियाशील सदस्यता वितरण तथा पुराना सदस्यको नवीकरण प्रक्रिया असार २० गतेसम्म सञ्चालन हुने निर्णय गरिएको छ। पार्टीले सदस्यता शुल्क नबुझाई अद्यावधिक भएका वा नयाँ सदस्यता लिएका व्यक्तिहरूलाई तत्काल शुल्क बुझाउन निर्देशन दिँदै शुल्क नबुझाउने सदस्यले १५औं महाधिवेशनको कुनै पनि प्रक्रियामा सहभागी हुन नपाउने स्पष्ट पारेको छ।

बैठकले युवा सहभागिता विस्तारलाई विशेष प्राथमिकता दिँदै ३५ वर्षमुनिका युवालाई लक्षित गरेर क्रियाशील सदस्यता वितरण अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ। कांग्रेस विधानको व्यवस्थाअनुसार युवा पुस्तालाई पार्टीको संगठनात्मक संरचनामा थप सक्रिय बनाउने उद्देश्यले यो अभियान सञ्चालन गरिने बताइएको छ। त्यसैगरी, नेपालमै क्रियाशील सदस्य रहेर हाल विदेशमा रहेका सदस्य, विभिन्न क्षेत्रका विषय विज्ञ तथा समयमै अद्यावधिक हुन नसकेका सदस्यहरूलाई आवश्यक प्रमाणसहित आवेदन दिएर सदस्यता नवीकरण तथा अद्यावधिक गर्ने अवसर प्रदान गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.