२६० जनाको ज्यान गएको विमान दुर्घटनाको भिडियो खिच्ने आर्यनले किन छोड्नु पर्‍यो सहर ?

२६० जनाको ज्यान गएको विमान दुर्घटनाको भिडियो खिच्ने आर्यनले किन छोड्नु पर्‍यो सहर ?
सुन्नुहोस्

भारत : आर्यन असारी (१७ बर्ष) अहिले गुजरातको साबरकाँठा जिल्लाको खानपुर गाउँमा बस्छन् । १२ जुन २०२५ मा उनी अहमदाबाद पुगेका थिए। त्यही दिन उनले एउटा विमान उडिरहेको देखे र त्यसको भिडियो खिचे । केही सेकेण्डमै उक्त विमान दुर्घटनाग्रस्त भयो ।

यस दुर्घटनामा विमानमा सवार २४१ जनासहित कुल २६० जनाको ज्यान गएको थियो । आर्यनले मोबाइल फोनबाट खिचेको भिडियो दुर्घटनासम्बन्धी सबैभन्दा महत्वपूर्ण दृश्य प्रमाणमध्ये एक बन्यो । १३ जुन २०२५ मा बीबीसी गुजरातीले आर्यनलाई भेटेर अन्तर्वार्ता लिएको थियो । एक वर्षपछि आर्यन आफ्नो गाउँमा बसिरहेका छन् र विमानको भिडियो खिच्न डराउन थालेका छन् ।

आर्यन आफ्ना बुबा–आमा र एक बहिनीसँग खानपुर गाउँमा बस्छन् । उनले हालै कक्षा १२ उत्तीर्ण गरेका छन् र अब कलेज अध्ययनको तयारीमा छन् । बीबीसी गुजरातीसँगको विशेष कुराकानीमा उनले पछिल्लो एक वर्षमा आफ्नो जीवनमा आएको परिवर्तनबारे बताएका छन् । अहिले उनका साथीभाइ र वरपरका मानिसहरूले उनलाई ‘भिडियो ब्वाइ’ भनेर चिन्ने गरेका छन् । 

विवाह समारोह होस् वा कलेजको कार्यक्रम, मानिसहरूले उनलाई सबैभन्दा पहिले सोध्ने प्रश्न एउटै हुन्छ-त्यो भिडियो कसरी खिचियो ? आर्यन स्वभावले निकै शान्त छन् र कम बोल्छन् । उनलाई मोबाइलबाट विभिन्न भिडियो खिच्ने रुचि छ । घर बाहिर निस्कँदा साना–ठूला घटनाहरूको भिडियो रेकर्ड गर्ने उनको बानी थियो । यही बानीका कारण उनले एयर इन्डिया फ्लाइट १७१ दुर्घटनाको भिडियो पनि खिच्न पुगे । 

विमानको भिडियो कसरी खिचियो ?
त्यस दिन उनी मेघानीनगरस्थित घरको छतमा थिए । उनले भने, ‘म र मेरी बहिनी गाउँबाट बस चढेर भर्खरै अहमदाबाद आइपुगेका थियौँ । म छतमा उभिएको थिएँ र बहिनी छतको कोठामा थिइन् । बुबा काममा जानु भएको थियो । म वरपरका भवनहरूको तस्वीर खिचिरहेको थिएँ ।’ उनको घर विमानस्थलको रनवे नजिकै छ । घरको एकातिर रनवे र अर्कोतिर एयर इन्डिया फ्लाइट १७१ दुर्घटनाग्रस्त भएको क्षेत्र रहेको छ । आर्यन भन्छन्, ‘मैले रनवेबाट एउटा विमान उडेको देखें र जिज्ञासावश भिडियो बनाउन थालें । विमान केही माथि गयो, फेरि तल झर्‍यो, पुनः माथि उठ्यो र त्यसपछि अगाडि बढेर दुर्घटनाग्रस्त भयो । तुरुन्तै आगो लाग्यो र धुवाँ देखिन थाल्यो । त्यो दृश्य देखेर म निकै डराएँ ।’

त्यसपछि उनले बहिनी नीलम असारीलाई घटनाबारे जानकारी दिए । नीलमले बाहिर हेर्दा चारैतिर धुवाँ मात्र देखिएको बताइन् । नीलमले भनिन्, ‘मैले तुरुन्तै बुबालाई फोन गरें । उहाँ केहीबेरमै घर आइपुग्नुभयो र हामीलाई नआत्तिन सम्झाउनु भयो ।’
‘भिडियो ब्वाइ’ बने आर्यन
भिडियो सार्वजनिक भएपछि सबैभन्दा पहिले एयरपोर्ट अथोरिटी अफ इन्डियाका अधिकारीहरू उनीसँग सम्पर्कमा आएका थिए । त्यसपछि बीबीसी गुजरातीको टोलीले पनि भेटेको थियो । आर्यन भन्छन्, ‘अधिकारीहरूले भिडियोबारे जानकारी लिए । त्यसपछि बीबीसी गुजरातीले सम्पर्क गर्‍यो ।’
भिडियो भाइरल भएपछि आर्यन एकाएक चर्चामा आए ।

उनका बुबा मगनभाइ असारीका अनुसार, अत्यधिक मिडिया ध्यानका कारण आर्यनलाई अहमदाबादबाट गाउँ फर्काउनु परेको थियो । उनी भन्छन्, ‘मिडियासँग लगातार कुरा गर्नुपर्दा उनी थाकिसकेका थिए । उनी धेरै बोल्न रुचाउँदैनथे, त्यसैले हामीले उनलाई गाउँ पठायौँ ।’ गाउँमा पनि उनको चर्चा कम भएन । बहिनी नीलमका अनुसार सबैले उनलाई ‘भिडियो बनाउने केटा’ भनेर चिन्न थाले ।

आर्यन अब विमानको भिडियो किन खिच्दैनन् ?
आर्यनका अनुसार धेरै मानिसहरूले उनलाई चर्चित भएको बताए । शिक्षकहरूले पनि उनको कामको प्रशंसा गर्दै अनुसन्धानमा सहयोग पुगेको बताएका थिए । तर दुर्घटनाले उनलाई भावनात्मक रूपमा असर पनि गर्‍यो । उनले भने, ‘मलाई लाग्छ, यदि मैले फेरि कुनै विमानको भिडियो खिचेँ भने फेरि दुर्घटना हुन सक्छ र मानिसहरूको ज्यान जान सक्छ । त्यसैले अहिले म विमानको भिडियो खिच्दिनँ ।’

यद्यपि, उनले अन्य घटनाहरूका भिडियो भने अझै खिचिरहन्छन् । उनको मोबाइलमा रहेको पछिल्लो भिडियो अहमदाबादबाट गाउँ फर्कदाको यात्राको हो, जसमा उनले राजमार्ग वरपरको हरियाली र सवारीसाधनहरू कैद गरेका छन् । आर्यन भन्छन्, ‘हालै म एउटा विवाहमा गएको थिएँ । सबैले मलाई घेरेर भिडियोबारे प्रश्न गरे । उनीहरू भन्थे, ‘तिमी धेरै चर्चित भयौ ।’ यो सुन्दा मलाई राम्रो लाग्छ, किनभने मैले यस्तो काम गरेको छु, जुन अरू कसैले गरेका थिएनन् ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.