शैलुङको आलु संकटमा किसानलाई चिन्ता
दोलखा : दोलखाको शैलुङ गाउँपालिका आलु उत्पादनका लागि देशभर परिचित क्षेत्र हो। शैलुङमा उत्पादन हुने आलु काठमाडौंसहित देशका विभिन्न जिल्लामा पुग्ने गरेको छ। हरेक वर्ष यहाँका किसानले करोडौं रुपैयाँ बराबरको आलु बिक्री गर्दै आएका छन्। तर यस वर्ष भने रोग, असिनापानी र प्रतिकूल मौसमका कारण आलु उत्पादनमा ठूलो गिरावट आउने देखिएको छ। आलु खन्ने समय नजिकिँदै गर्दा किसानहरू चिन्तित बनेका छन्।
यस वर्ष आलुबालीमा डडुवा रोगको प्रकोप देखिएपछि अधिकांश आलुका बोटहरू समयअघि नै ओइलिन थालेका छन्। कतिपय ठाउँमा पात सुकिसकेका छन् भने कतै बोट नै पहेँलिँदै गएको छ। बोटको अवस्था हेर्दा उत्पादन उल्लेख्य रूपमा घट्ने निश्चित भएको किसानहरूको भनाइ छ। विगतका वर्षहरूमा आलु खेतीबाट राम्रो आम्दानी गर्दै आएका थियौ। हरेक वर्ष १० देखि १२ लाख रुपैयाँसम्मको आलु बिक्री गर्ने गरेका थियौ।
तर यस वर्षको अवस्था देख्दा उत्पादनमा ठूलो गिरावट आउने स्पष्ट देखिएको शैलुङ– ८ का किसान ताराबहादुर श्रेष्ठले बताए। आलु खन्ने बेला भइसकेको छ तर धेरै अघिदेखि नै बोटहरू ओइलिन थालेका छन्। बारीमा आलुको अवस्था हेर्दा उत्पादन घट्ने निश्चित छ, उनले भने। गरिएको लगानीसमेत उठाउन कठिन हुने चिन्ता उनलाई छ। यस वर्षको मौसमले किसानलाई निकै ठूलो क्षति पुर्याएको अर्का किसान कुमारी तामाङले बताइन्।।आलु रोपेको केही समयपछि नै लगातार वर्षा भयो। त्यसपछि पटक–पटक परेको असिनापानीले बालीमा थप क्षति पुर्यायो। आलु मात्र होइन, अन्य तरकारी पनि राम्रो भएनन्।
उत्पादन घटेपछि परिवार चलाउन नै गाह्रो हुने भयो, उनले दुखेसो पोखिन। शैलुङमा आलु मात्र नभई काउली, बन्दागोभी, गाजर, मुलालगायतका तरकारी बाली पनि उत्पादन हुने गर्छ। तर, यस वर्ष ती बालीहरूमा समेत अपेक्षाकृत उत्पादन हुन नसकेको किसानहरूको भनाइ छ। मौसममा आएको परिवर्तन, लामो समयसम्म परेको वर्षा तथा रोगका कारण अधिकांश किसानले लगानीअनुसार उत्पादन लिन नसकेको गुनासो गरेका छन्। यस वर्ष डडुवा रोग सबैभन्दा ठूलो समस्या बनेको छ। रोगका कारण आलुका पातमा दाग देखिने, पात सुक्दै जाने र अन्ततः बोट नै नष्ट हुने समस्या देखिएको छ। रोग फैलिन थालेपछि किसानहरूले विभिन्न विषादी प्रयोग गरे पनि अपेक्षित रूपमा नियन्त्रण हुन सकेको छैन।
शैलुङको अर्थतन्त्रमा आलु खेतीको महत्वपूर्ण योगदान छ। यहाँका अधिकांश किसानको मुख्य आम्दानीको स्रोत नै आलु खेती हो। उत्पादन राम्रो हुँदा किसानहरूले लाखौं रुपैयाँ आम्दानी गर्दै आएका छन्। तर, यस वर्ष उत्पादन घट्ने भएपछि किसानहरू आर्थिक रूपमा समेत प्रभावित हुने देखिएको छ। महँगी बढिरहेका बेला उत्पादन घट्दा परिवारको दैनिक खर्च धान्नसमेत समस्या हुने किसानहरू बताउँछन्। स्थानीय किसानहरूका अनुसार गत वर्ष शैलुङबाट करिब ४० करोड रुपैयाँ बराबरको आलु विभिन्न जिल्लामा निर्यात भएको थियो। शैलुङको आलुको माग काठमाडौं उपत्यकासहित देशका प्रमुख बजारहरूमा उच्च रहने गरेको छ। तर यस वर्ष उत्पादन आधाजति घट्ने अनुमान गरिएकाले २० करोड रुपैयाँ बराबरको आलु निर्यात गर्नसमेत कठिन हुने अवस्था देखिएको किसानहरूको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !