एमालेबाट जितेर दल फेरेका तीन वडा अध्यक्षसहित आठ जनप्रतिनिधि पदमुक्त
ओखलढुंगा : निर्वाचन आयोगले नेकपा (एमाले) बाट निर्वाचित भई चुनावको मुखमा अन्य राजनीतिक दलमा प्रवेश गरेका ओखलढुङ्गाका तीन जना वडा अध्यक्षसहित देशभरका आठ जना स्थानीय जनप्रतिनिधिहरूको पद स्वतः रिक्त भएको घोषणा गरेको छ ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेको टिकटबाट विजयी भएका ओखलढुङ्गाका मोलुङ गाउँपालिका–१ का वडा अध्यक्ष कमलबहादुर बानिया, सोही गाउँपालिका–६ का कमल तामाङ र चम्पादेवी गाउँपालिका–७ का वडा अध्यक्ष सुरेशकुमार थापा एमाले परित्याग गरी नेकपामा प्रवेश गरेपछि उनीहरू पदमुक्त भएका हुन् ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको बेहोरा नेकपा (एमाले) को केन्द्रीय सचिवालयले निर्णय गरी आयोगमा जानकारी गराएको थियो । एमाले केन्द्रीय सचिवालयको निर्णय र आधिकारिक पत्र प्राप्त भएपछि निर्वाचन आयोगको जेठ २६ गतेको बैठकले दल त्याग गर्ने जनप्रतिनिधिहरू निर्वाचित भएका सम्बन्धित पालिका र वडाको पद स्वतः रिक्त भएको निर्णय गरेको हो । दल परिवर्तन गरेका कारण कानुन बमोजिम उनीहरूले जनप्रतिनिधिको हैसियत गुमाउनु परेको आयोगको सूचनामा उल्लेख छ।
ओखलढुङ्गाका तीन जना बाहेक देशका अन्य विभिन्न जिल्लाका पाँच जना वडा अध्यक्षहरू पनि दल त्याग गरेकै कारण पदमुक्त भएका छन् । आयोगका अनुसार पाल्पाको माथागढी गाउँपालिका–१ का राजकुमार पन्थी, ललितपुरको बागमती गाउँपालिका–७ का होमप्रसाद बजगाईं, मोरङको लेटाङ नगरपालिका–४ का रामकुमार श्रेष्ठ, सोही जिल्लाको रंगेली नगरपालिका–१ का महेशकुमार खनाल र दाङको घोराही उपमहानगरपालिका–४ का मधुसुदन शर्माको पद पनि रिक्त भएको छ । निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम यो सूचना सार्वजनिक गर्दै पद रिक्त भएको आधिकारिक जानकारी गराएको हो ।
प्रतिक्रिया दिनुहोस !