अमेरिकामा ठगी, नेपालमा शक्तिकेन्द्रसँग लबिइङ
अधिकारी विभिन्न गैरकानुनी घटनामा जोडिँदा त्यसले अप्रत्यक्ष रूपमा भुटानी समुदायलाई भने असर गरिरहेको छ । खासगरी सामाजिक रूपमा त्यसले नकारात्मक असर गरिरहेको र राज्यले समेत फरक ढंगले भुटानी समुदायलाई लिने अवस्था बन्ने हो कि भन्ने चिन्तासमेत यसले बढाएको छ ।
काठमाडौं : अमेरिका पछिल्लो समय ‘एसोसिएसन अफ नेपाली ओरिजिन’ नामक गैरनाफामूलक संस्था निर्माण गरी नेपालको शक्ति केन्द्रमा पहुँच बढाउन सक्रिय डिल्लीराम अधिकारी अमेरिकामा एकपछि अर्को गैरकानुनी क्रियाकलापमा तानिएका छन्। लामो समय भुटानी शरणार्थीका रूपमा नेपालमा बसी तेस्रो मुलुक पुनस्र्थापना कार्यक्रमअन्तर्गत अमेरिका आएका अधिकारी विभिन्न ढंगबाट नेपालमा आफ्नो चर्चा बढाउन उद्यत व्यक्ति हुन्। उनी र उनको नेतृत्वको समितिका पदाधिकारीहरूले पछिल्लो समय प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल, परराष्ट्रमन्त्री शिशिर खनालदेखि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगन थापालाई समेत भेटेका छन्।
नेपालका कलाकारहरूलाई अमेरिका बोलाएर होस् वा खेलकुद प्रतियोगिताहरू आयोजना गरेर होस् अथवा विभिन्न सामाजिक सेवाका काममा सक्रिय भएर, अधिकारी नेपालमा आफ्नो प्रभाव देखाउन सक्रिय देखिँदै आएका छन्। अन्तर्राष्ट्रिय गायन प्रतियोगिताका रूपमा ‘मेरो भ्वाइस युनिभर्स’ र नृत्य प्रतियोगिताका रूपमा ‘मेरो डान्स युनिभर्स’ नामक रियालिटी शोसमेत अधिकारीले सञ्चालन गर्दै आएका छन्। विश्वका विभिन्न देशमा समेत गएर छनोट शृंखला चल्ने यस रियालिटी शो अधिकारी संस्थापक र अध्यक्ष रहेको ‘इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ले सञ्चालन गर्दै आएको छ। यी दुई प्रतियोगिताको पुरस्कार राशिसमेत जनही १/१ करोड नेपाली रुपैयाँ रहेको छ। अधिकारीले सामाजिक सेवाका कार्यक्रमसमेत यही फाउन्डेसनमार्फत गर्दै आएका छन्।
आर्थिक हैसियत देखाएर र चर्चामा रहने कार्यक्रम गर्दै अधिकारी नेपालमा आफ्नो पहुँच बढाउन लागिपरेका छन्। पछिल्लो केही वर्षयता विश्वभर रहेका नेपाली भाषीलाई जोडेर संस्था बनाउने भन्दै अधिकारीको नेतृत्वमा ‘एसोसिएसन अफ नेपाली ओरिजिन’ नामक गैरनाफामूलक संस्था खुलेको छ। यो संस्थाको विभिन्न देशमा शाखाहरूसमेत विस्तार भइरहेका छन्। अमेरिकामा दर्ता रहेको भनिएको यस संस्थाले अहिले नेपालमा विभिन्न माग राख्दै नेपाल सरकारलाई दबाब बढाउन सक्रियता देखाएको छ। खासगरी गैरआवासीय नेपाली संघभित्र आन्तरिक समस्या झाँगिँदै गएको फाइदा उठाएर अधिकारीको महत्वाकांक्षी भूमिका र अन्य केहीको साथले उनले संस्था निर्माण गरी नेपालका शक्ति केन्द्रमा सीधा पहुँच बनाइरहेका छन्।
फाउन्डेसनमार्फत होस् वा नेपाली मूलका व्यक्तिहरूलाई एकजुट गर्ने र उनीहरूको सेवा गर्ने सहयोगात्मक प्रयासहरू र समावेशी पहलहरूका माध्यमबाट संस्थागत रूपमा नेपाल र नेपाली भाषीलाई सहयोग गर्ने उद्देश्य राखिएको ‘एसोसिएसन अफ नेपाली ओरिजिन’ मार्फत गरिएका राम्रा काम प्रशंसनीय नै रहने भए तापनि नेपालमा चर्चा कमाइरहेका अधिकारी अमेरिकामा भने एकपछि अर्को गैरकानुनी क्रियाकलापमा तानिन पुगिरहेका छन्। उनको फाउन्डेसनले समेत कर समयमा फाइलिङ नगर्ने गरेको खबर सार्वजनिक भइरहेको छ।
अमेरिकामा गैरनाफामूलक संस्था वा च्यारिटी संस्थामार्फत गरिने सहयोग रकम व्यक्ति वा कम्पनीको खुद नाफाबाट घटाउन सकिने प्रावधान रहेको छ। खुद वार्षिक आम्दानीमा सहयोग रकम घटाउन पनि सकिने, च्यारिटीमा सहभागी हुँदा सामाजिक प्रतिष्ठा पनि बढ्ने अनि निस्वार्थ ढंगले च्यारिटी गर्नेहरूलाई राष्ट्रले पनि उच्च महत्व दिने हुँदा अमेरिकामा च्यारिटीमार्फत सहयोग गर्नेहरू धेरै हुने गर्दछन्। तर, अधिकारीले नेतृत्व गरेको फाउन्डेसनको सन्दर्भमा भने ओहायो राज्यमा मेडिकेड कार्यक्रम दुरुपयोग भएको भनी एक अमेरिकी पत्रकार लुक रोसाइकले ‘डेली वायर’मा प्रकाशन गरेको ‘मेडिकल मिलियन्स’ अन्तर्गतको शृंखलाबद्ध सामग्रीहरूमध्येको ‘रिफ्युजी फ्रम भुटान बिल्स मेडिकेड मिलियन्स नाउ दे ड्रिंक स्याम्पेन प्राइभेट जेट्स’ शीर्षकको समाचारमा डिल्ली अधिकारीलाई पनि जोडिएको छ। उनले सञ्चालन गरेका हेल्थ केयर सेन्टरहरूले पनि मेडिकेड दुरुपयोग गरेको र फाउन्डेसन पनि वैधानिक ढंगबाट नचलेको आरोप लगाइएको छ।
हाल मेडिकेड दुरुपयोग भएको भनी सार्वजनिक हुन गएको घटनामा मुछिएका अधिकारी यसअघि अमेरिकाको श्रम कानुन उल्लंघनमा तानिएका थिए। उनको कम्पनी अमरीकेयर हेल्थ केयर सर्भिसेज इन्कलाई लगभग १५ मिलियन डलर तिर्न अदालतले आदेश दिएको थियो।
अमेरिकाको श्रम विभागले अदालतमा दायर गरेको मुद्दामा अधिकारीको कम्पनीको विपक्षमा तल्लो अदालतले फैसला गरेको थियो। सो फैसला चित्त नबुझाई अधिकारीको कम्पनीले माथिल्लो अदालतमा पुनरावेदन गरेको थियो। तर, अप्रिल १, २०२६ मा युनाइटेड स्टेट्स कोर्ट अफ अपिल्स फर द सिक्स्थ सर्किटले तल्लो अदालतले गरेको फैसलालाई नै निरन्तरता दिएको थियो। जसका कारण ओहायोस्थित ‘अमरीकेयर’ नामक होमकेयर कम्पनी र त्यसका मालिक डिल्ली अधिकारीलाई आफ्ना कर्मचारीहरूलाई नदिइएको ओभरटाइम तलब र क्षतिपूर्ति स्वरूप करिब १४ दशमलव ९६ मिलियन डलर उपलब्ध गराउन अदालतको आदेश कायम रहेको थियो।
श्रम विभागले २०२१ मा मुद्दा दायर गर्दै अधिकारीको कम्पनीले घरमै बिरामी तथा वृद्धहरूको हेरचाह गर्ने कर्मचारीहरूलाई कानुनअनुसार ओभरटाइम तलब नदिएको आरोप लगाएको थियो। अनुसन्धानअनुसार कम्पनीले २०१८ देखि २०२४ सम्म धेरै कर्मचारीलाई ४० घण्टाभन्दा बढी काम गराउँदा पनि उचित ओभरटाइम भुक्तानी नगरेको पाइएको जनाएको थियो।
संघीय अदालतले करिब ७ दशमलव ४८ मिलियन बक्यौता तलब र त्यति नै बराबरको अतिरिक्त क्षतिपूर्तिको रकम कम्पनीले भर्नुपर्ने जनाएको थियो। अदालतले कम्पनीले कर्मचारीले बढी घण्टा काम गर्दा उनीहरूको नियमित प्रतिघण्टा दर घटाएर ओभरटाइमको अतिरिक्त लाभ कम हुने व्यवस्था गरेको र सो अमेरिकी श्रम कानुनको उद्देश्यविपरीत भएको ठहर्याएको थियो।
अमेरिकी संसद्देखि अमेरिकी आन्तरिक राजनीतिसम्म तातेको र बहसको विषय बनिरहेको ओहायो राज्यमा मेडिकेड कार्यक्रमको दुरुपयोगको घटना र त्यसमा आप्रवासीहरूको संलग्नता अनि भुटानी समुदायका व्यक्तिहरूले सञ्चालन गरेका हेल्थ केयर सेन्टरसमेत दायरामा आएको घटनाको समाचारमा पूर्वशरणार्थी डिल्लीराम अधिकारीका तीनवटा होम हेल्थ केयर कम्पनीहरू पनि तानिएका छन्। समाचारमा जनाइएअनुसार पछिल्ला केही वर्षमा मेडिकेड कार्यक्रमबाट संयुक्त रूपमा करिब २५ करोड अमेरिकी डलर भुक्तानी भएको उल्लेख छ। जसमा अधिकारीको ब्लाक लिक, ओहायोमा रहेको ‘अमरीकेयर हेल्थ सर्भिसेज’, एटना ओहायोमा रहेको ‘इन्ट्रा नेसनल होम केयर’ र रेनोल्डसबर्ग ओहायोमा रहेको ‘सेरिनिटी होम हेल्थ एजेन्सी’ समावेश छन्।
समाचारमा जनाइएअनुसार नेपाली मूलका व्यक्तिहरूलाई जोड्ने भनी खुलेको संस्था ‘एसोसिएसन अफ नेपाली ओरिजिन’लाई पनि अधिकारीले आफ्नो कम्पनीजस्तै गरी सञ्चालन गर्ने गरेका छन्। साथै ‘इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन’ नामक गैरनाफामूलक संस्था स्थापना गरी अमेरिकन आइडल जस्तै दुईवटा टेलिभिजन कार्यक्रम (नृत्य र गायन प्रतियोगिता) आयोजना गर्ने गरेको र त्यसमा नेपालका राष्ट्रपति पनि संलग्न हुने गरेको उल्लेख समाचारमा गरिएको छ।
ती प्रतियोगिताका विजेताले १ करोड नेपाली रुपैयाँ (करिब ६५ हजार अमेरिकी डलर) पुरस्कार प्राप्त गर्छन्। त्यसलाई ओहायोमा बस्ने एकजना भुटानी मूलका व्यक्तिले मेडिकेडअन्तर्गत पाउने सेवाहरू प्रदान गर्दा पाउन सक्ने रकमसँग तुलना गरिएको छ। समाचारमा दाबी गरिएअनुसार फाउन्डेसनले सन् २०२० पछि वार्षिक करसम्बन्धी विवरण ‘ट्याक्स रिटर्न’ पेस गरेको कुनै अभिलेख भेटिएको छैन। सन् २०२० मा भने संस्थाले करिब ५ लाख डलर आम्दानी भएको जनाएको थियो र विदेशमा कुनै रकम नपठाएको बताएको समाचारमा उल्लेख छ।
अधिकारीले मिचिगन, ओहायो र पेन्सिलभेनियामा हेल्थ केयरसँग सम्बन्धित कम्पनीहरू सञ्चालन गरेका छन्। ‘इन्ट्रा नेसनल होम केयर एलएलसी’ देखि लिएर ‘डेली वायर’मा उल्लेख गरिएका कम्पनीहरू अधिकारीको आम्दानीका स्रोत हुन्। त्यसो त पछिल्लो समय उनले मिनेसोटा तथा अन्य राज्यमा समेत घरजग्गा र सपिङ कम्प्लेक्समा लगानी गरेका छन्।
व्यक्तिगत रूपमा डिल्ली विभिन्न गैरकानुनी घटनामा जोडिँदा त्यसले अप्रत्यक्ष रूपमा भुटानी समुदायलाई भने असर गरिरहेको छ। खासगरी सामाजिक रूपमा त्यसले नकारात्मक असर गरिरहेको र राज्यले समेत फरक ढंगले भुटानी समुदायलाई लिने अवस्था बन्ने हो कि भन्ने चिन्तासमेत यसले
बढाएको छ।
प्रतिक्रिया दिनुहोस !