नेपाल–भारत सम्बन्ध: ‘परम्परागत मित्रतामा मात्रै सीमित नराखौं’

नेपाल–भारत सम्बन्ध: ‘परम्परागत मित्रतामा मात्रै सीमित नराखौं’
सुन्नुहोस्

काठमाडौं : भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच शनिबार साँझ नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ। भेटवार्तामा नेपाल–भारत सम्बन्धलाई नयाँ चरणमा प्रवेश गराउने, आर्थिक तथा रणनीतिक सहकार्यलाई थप सुदृढ बनाउने र दुवै देशबीचको साझेदारीलाई परिणाममुखी बनाउने विषयमा गहन छलफल भएको बताइएको छ।

भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री खनालले भारत नेपालको सबैभन्दा महत्वपूर्ण र निकट साझेदार राष्ट्र भएको उल्लेख गर्दै वर्तमान सरकारले भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट पारेका थिए।  उनले नेपाल–भारत सम्बन्धलाई केवल परम्परागत मित्रतामा सीमित नराखी विकास, समृद्धि र क्षेत्रीय साझेदारीको नयाँ आधारमा अगाडि बढाउनुपर्ने धारणा राखे। 

‘नेपालले भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको छ। नयाँ सरकारको नेतृत्वमा हामी स्पष्ट उद्देश्यका साथ उच्च तहमा सक्रिय संलग्नता बढाउन तयार छौं,’ मन्त्री खनालले वार्ताका क्रममा बताएका थिए। उनका अनुसार व्यापार, ऊर्जा, कनेक्टिभिटी, प्रविधि, शिक्षा तथा पूर्वाधार विकासका क्षेत्रमा दुवै देशबीचको सहकार्यलाई थप ठोस र अर्थपूर्ण बनाउने समय आएको छ।

भारतीय विदेशमन्त्री जयशंकरले नेपाल र भारतबीचको सम्बन्धलाई ‘बलियो जगमा आधारित विशेष सम्बन्ध’ को संज्ञा दिँदै भारत सधैं नेपालको भरोसायोग्य साझेदार रहने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले पछिल्लो समय पश्चिम एसियामा उत्पन्न भूराजनीतिक तनाव र ऊर्जा आपूर्ति चुनौतीका बीच पनि भारतले नेपालतर्फ इन्धन आपूर्तिलाई निरन्तरता दिएको उल्लेख गर्दै कठिन परिस्थितिमा समेत भारत नेपालसँग उभिएको बताए।

जयशंकरले नेपाल–भारत सम्बन्धको आधार केवल सरकार–सरकारबीचको सम्बन्ध नभई साझा इतिहास, संस्कृति, खुला सीमा र जनस्तरको घनिष्ठ सम्बन्ध रहेको उल्लेख गरेका थिए। उनले आगामी दिनमा ऊर्जा, पूर्वाधार र क्षेत्रीय कनेक्टिभिटीका क्षेत्रमा सहकार्य विस्तार गर्ने भारतको प्रतिबद्धता दोहोर्‍याए।

यसैबीच, भारत भ्रमणका क्रममा भारतीय सञ्चारमाध्यम एनडीटिभीसँगको अन्तर्वार्तामा परराष्ट्रमन्त्री खनालले नेपाल–भारत सम्बन्धलाई ‘रिसेट’ अर्थात् पुनर्संरचना गर्ने समय आएको बताएका छन्। केही दिनअघि भारत भ्रमण सम्पन्न गरेर नेपाल फर्किएका प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि भारतसँगको सम्बन्ध नयाँ ढंगले पुनःस्थापित भएको बताएका थिए। मन्त्री खनालले त्यसै अवधारणालाई थप स्पष्ट पार्दै विगतका असमझदारी र अविश्वासभन्दा माथि उठेर सम्बन्धलाई नयाँ युगअनुकूल बनाउनुपर्ने धारणा व्यक्त गरे। 

उनले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन र आर्थिक रूपान्तरणको जनादेश प्राप्त गरेको उल्लेख गर्दै त्यसलाई सफल बनाउन भारतसँगको सहकार्य अपरिहार्य रहेको बताए। विशेषगरी ऊर्जा व्यापार, सीमा पार कनेक्टिभिटी, डिजिटल पूर्वाधार, लगानी प्रवद्र्धन तथा व्यापार विस्तारलाई सरकारले प्राथमिकतामा राखेको उनले जानकारी दिए। परराष्ट्रमन्त्री खनालले नेपालले भारतको तीव्र आर्थिक विकासबाट प्राप्त हुन सक्ने अवसरहरू विगतमा पूर्णरूपमा उपयोग गर्न नसकेको स्वीकार गर्दै अब विकास साझेदारीलाई व्यावहारिक नतिजामा रूपान्तरण गर्नुपर्ने बताउँदै भने, ‘भारत तीव्र गतिमा आर्थिक शक्ति बन्दै गएको छ। नेपालले त्यसबाट लाभ लिन सकेको छैन। अब स्पष्ट प्राथमिकता, नीतिगत सुधार र समयबद्ध कार्यान्वयनमार्फत सहकार्यलाई परिणाममुखी बनाउनु आवश्यक छ।’ 

खनालले सुरक्षा सहकार्यको विषयमा पनि नेपालको प्रतिबद्धता दोहोर्‍याउँदै दुवै देशले एकअर्काको सुरक्षा संवेदनशीलतालाई सम्मान गर्दै आएको बताए। खुला सीमाको विशिष्टतालाई कायम राख्दै सीमा व्यवस्थापन, सुरक्षा सहयोग र आर्थिक आवागमनबीच सन्तुलन कायम गर्नुपर्ने आवश्यकता उनले औंल्याए। परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री जयशंकरबीचको भेट वर्तमान सरकारको भारतप्रतिको कूटनीतिक प्राथमिकताको स्पष्ट संकेत रहेको भारतीय सञ्चारमाध्यमहरूमा कूटनीति विज्ञहरूले प्रतिक्रिया दिएका छन्।

रिसेटको अवधारणामार्फत नेपालले भारतसँगको सम्बन्धलाई विगतका विवाद र संवेदनशील मुद्दाभन्दा माथि उठाएर विकास, लगानी, ऊर्जा र आर्थिक साझेदारीमा केन्द्रित गर्न खोजेको सन्देश यस भ्रमणबाट प्रवाहित भएको देखिएको पनि चर्चा सुरु भएको छ । 

त्यसो त कूटनीतिक वृत्तमा यो भ्रमणलाई आगामी दिनमा उच्चस्तरीय राजनीतिक आदानप्रदान, सीमा पार पूर्वाधार विस्तार, विद्युत् व्यापार वृद्धि, रेलमार्ग निर्माण, डिजिटल कनेक्टिभिटी तथा क्षेत्रीय आर्थिक सहकार्यलाई नयाँ गति दिने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। पछिल्लो समय नेपाल र भारतबीचको सम्बन्धलाई ‘विशेष सम्बन्ध’ बाट ‘विकास साझेदारी’ को नयाँ चरणमा रूपान्तरण गर्ने प्रयासका रूपमा पनि यस भ्रमणलाई विश्लेषण गरिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.