अमेरिका–इरान शान्ति सम्झौता २४ अर्ब डलरमा अड्कियो
इरान : इरानका सर्वोच्च नेता आयातोल्लाह मोज्तबा खामेनीसैन्य सल्लाहकार मोहसेन रेजाइले अमेरिका र इरानबीच सम्भावित शान्ति सम्झौता २४ अर्ब अमेरिकी डलर बराबरका रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्ने विषयमा अड्किएको बताएका छन् ।
शुक्रबार अमेरिकी समाचार संस्था सीएनएनसँगको विशेष अन्तर्वार्तामा उनले भने, ‘वार्ता ठप्प अवस्थामा पुगेको छ र यो गतिरोध तोड्ने जिम्मेवारी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि छ । बल अहिले ट्रम्पको कोर्टमा छ ।’ रिपोर्टअनुसार, इरानले अन्तरिम सम्झौता हुने बित्तिकै १२ अर्ब डलर र पछि थप १२ अर्ब डलर गरी कुल २४ अर्ब डलर फुकुवा गर्न माग गरेको छ ।
अमेरिकी अधिकारीहरू भने यस्तो रकम फुकुवा गर्दा इरानमाथिको प्रमुख दबाबको माध्यम गुम्ने चिन्तामा छन् । ट्रम्पले कुनै पनि नयाँ सम्झौता सन् २०१५ को आणविक सम्झौता भन्दा धेरै बलियो देखिनु पर्ने र ‘नगद पैसा हस्तान्तरण’ जस्तो आलोचना खेप्न नपरोस् भन्ने चाहेका छन् ।
‘२४ अर्ब डलर विश्वासको परीक्षा हो’
रेजाइले उक्त रकम फुकुवा गर्नु अमेरिका र इरानबीच विश्वास निर्माणको महत्वपूर्ण कदम हुने बताए । उनले भने, ‘यदि ट्रम्प इरानसँग सम्झौता गर्न चाहन्छन् भने यो २४ अर्ब डलर विश्वासको परीक्षा हो । अमेरिकाले यो परीक्षा पास गर्नुपर्छ, त्यसपछि बाटो खुल्नेछ । यो हाम्रो आफ्नै पैसा हो, अमेरिकाको पैसा होइन ।’
युद्ध फेरि सुरु भए दायरा विस्तार गर्ने चेतावनी
रेजाइले अमेरिका फेरि युद्धमा फर्किए इरानले द्वन्द्वलाई फारसी खाडीभन्दा बाहिर फैलाउने चेतावनी दिए । उनका अनुसार सम्भावित सैन्य कारबाही होर्मुज जलडमरूमध्यबाट हिन्द महासागर, बाब–अल–मन्दाब जलडमरूमध्य, लाल सागर र भूमध्यसागरसम्म फैलिन सक्छ । उनले भने, ‘हामी युद्धलाई अर्को आयाम दिनेछौँ र अहिलेसम्म आक्रमण नगरेका अन्य अमेरिकी सैन्य अड्डाहरूलाई पनि निशाना बनाउन सक्छौं ।’ यद्यपि उनले युद्धको सम्भावना अहिले कम रहेको पनि बताए ।
ट्रम्प–खामेनेई भेटको सम्भावना अस्वीकार
रेजाइले सर्वोच्च नेता मोज्तबा खामेनेईको स्वास्थ्य अवस्थाबारे टिप्पणी गर्न अस्वीकार गरे । साथै ट्रम्प र खामेनेईबीच भेटघाट हुने सम्भावनालाई पनि खारेज गरे । उनले भने, ‘यो हुनेवाला छैन । हामी अहिले वार्ताको प्रारम्भिक चरणमा छौँ र श्री ट्रम्पले नै वार्तालाई ठप्प बनाएका छन् ।’ यसै साता ट्रम्पले आफू र खामेनेईबीच सम्बन्ध राम्रो बन्दै गएको तथा अवसर मिले भेट्न सम्मानित महसुस गर्ने बताएका थिए ।
होर्मुज जलडमरूमध्यमाथि पुनः दाबी
रेजाइले विश्वको करिब पाँचौँ भाग तेल तथा तरलीकृत प्राकृतिक ग्यास ओसारपसार हुने होर्मुज जलडमरूमध्यमाथि इरान र ओमनको सार्वभौमिक अधिकार रहेको दाबी गरे । उनले इरानले जहाजहरूबाट ‘टोल’ नभई जलडमरूमध्यको व्यवस्थापन खर्चका लागि सेवा शुल्क लिन सक्ने बताए ।
इरानको सैन्य शक्ति अझै बलियो रहेको दाबी
इरानी क्रान्तिकारी गार्डका पूर्व कमाण्डर रेजाइले वार्ता असफल भए अमेरिकाले इरानमाथि स्थल आक्रमण गर्न सक्ने सम्भावनाका लागि पनि देश तयार रहेको बताए । उनले भने, ‘त्यसो भयो भने संसारले इरानको वास्तविक क्षमता देख्नेछ, किनभने हाम्रो स्थल सेनाको शक्ति हाम्रो मिसाइल शक्तिभन्दा धेरै गुणा ठूलो छ ।’
‘४७ वर्षमा पहिलो ठूलो विजय’
रेजाइले हालैको अमेरिका–इजरायलविरुद्धको युद्धलाई इस्लामिक गणतन्त्र इरानको ४७ वर्षे इतिहासकै पहिलो ठूलो सैन्य विजयको रूपमा चित्रण गरे। उनले दाबी गरे, ‘यो पहिलो पटक हो जब इरान युद्धबाट विजयी भएर निस्किएको छ । अघिल्ला युद्धहरूमा इरान सधैं पराजित भएको थियो ।’
प्रतिक्रिया दिनुहोस !