देशका केही स्थानमा भारी वर्षा हुने, विभिन्न ठाउँमा तातो लहरको पनि सम्भावना
काठमाडौं : साताभर स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहने तर मनसुनी वायुको प्रभाव नरहने सम्भावना छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हिमाली भू-भागमा साताभर मध्यमसम्मको हिमपात/वर्षाको सम्भावना छ। पहाडी भू-भागमा साताभर कोशी प्रदेशको केही स्थानहरूमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
बागमती र गण्डकी प्रदेशमा साताको सुरु र मध्यमा थोरै स्थानहरूमा तथा अन्त्यमा केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साताको अन्त्यमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।
तराई भू-भागमा कोशी प्रदेशमा साताभर केही स्थानहरूमा, बाँकी प्रदेशमा साताको सुरु र मध्यमा एक-दुई स्थानमा तथा अन्त्यमा थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/असिना/हावाहुरीसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साताको अन्त्यमा कोशी, बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
साथै विशेषगरी साताको मध्यमा मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा मध्यम तातो लहर हुने, साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको छ।
सरदरसँग तुलना गर्दा कोशी प्रदेशमा औसत वर्षा हुने, बाँकी प्रदेशहरूमा औसतभन्दा कम वर्षा हुने सम्भावना रहेको छ। विशेष गरी मधेश र लुम्बिनी प्रदेशका अधिकांश भू-भागमा अधिकतम र न्यूनतम् तापक्रम औसत भन्दा केही बढी नै रहने सम्भावना रहेको विभागले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !