नेतृत्वबाट नहट्ने ओलीको संकेत

नेतृत्वबाट नहट्ने ओलीको संकेत
सुन्नुहोस्

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका छन्। पार्टीको संगठन विभागद्वारा आयोजित कार्यशालामा प्रमुख अतिथिका रूपमा उनी सार्वजनिक वृत्तमा देखा परेका हुन्। गत २०८२ फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले बेहोरेको लज्जास्पद पराजयपछि अध्यक्ष ओली चुपचाप थिए।

उनले यस निर्वाचनमा सबैभन्दा ठूलो क्षति एमालेले नै बेहोर्नुपरेको स्वीकार गरे पनि पार्टी नेतृत्वमा आफू निरन्तर सक्रिय रहिरहने स्पष्ट संकेत गरेका छन्। निर्वाचनको परिणामपछि पार्टी पुनर्गठनको चौतर्फी चर्चा चलिरहेका बेला ओलीले भने, ‘गएको पुस ३ मा मलाई अध्यक्ष छान्नुभएको थियो। सजिलो–सजिलो परिस्थिति भयो, अनुकूल वातावरण बन्यो र प्रधानमन्त्री खान पाइने भयो भने कस्सिएर अगाडि बढ्नु र प्रधानमन्त्री खानु तर अप्ठ्यारो अवस्था आयो भने झोला फ्याँकेर भागिहाल्नु भनेर मलाई चुनिएको होइन।’

आफूले बीचैमा पार्टीलाई अलपत्र नछाड्ने दाबी गर्दै उनले थपे, ‘कसैलाई आशंका हुन सक्छ, मैले बीचैमा झोला फ्याँकेर हिँड्छु कि भनेर। त्यो आशंका मनमा नलिनुहोला। म अप्ठ्यारो परिस्थितिसँग जुधेर पार्टीलाई सफलतामा पुर्‍याएर अनि मात्र वि श्राम लिनेछु। विश्राम लिनका लागि पनि पार्टीका आफ्नै विधि, विधान र प्रक्रियाहरू छन्, त्यसैअनुसार मात्र विश्रामको अवस्था बन्छ।’

अध्यक्ष ओलीले हालैका दिनमा पितृशोक, गिरफ्तारी र शल्यक्रिया जस्ता कारणहरूले गर्दा पार्टी काममा केही अलमल भए पनि अब नेताहरूसँगको भेटघाटलाई बाक्लो बनाउने बताए। ‘पार्टी, आन्दोलन र देशलाई यस चुनौतीको सामना गर्दै अगाडि बढाउने मेरो संकल्प यथावत् छ,’ उनले भने।

भदौ २३–२४ को घटना ‘प्रायोजित’ भएको आरोप
अध्यक्ष ओलीले गत भदौ २३–२४ गतेको घटना पहिल्यैदेखि योजनाबद्ध र प्रायोजित रहेको गम्भीर आरोप लगाए। उक्त घटनाबारे राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनले समेत संकेत गरेको उनको दाबी छ।

आफू नेतृत्वको सरकार त्यतिबेला लोकतान्त्रिक र संसदीय रूपमा बहुमतमा रहेको भन्दै उनले कानुनी र संसदीय प्रक्रियाबाट सरकार ढाल्ने प्रयास असफल भएपछि षड्यन्त्रपूर्ण ढंगले हटाइएको आरोप लगाए। उनले सो घटनाका लागि पहिल्यैदेखि तालिम, तयारी तथा आगजनी र हिंसात्मक गतिविधिहरूको योजना बनाइएको दाबीसमेत गरे।

सरकारलाई उत्ताउलो व्यवहार नगर्न चेतावनी
अध्यक्ष ओलीले राज्य संयन्त्रलाई उत्ताउलो व्यवहार नगर्न चेतावनी दिएका छन्। राज्य र त्यसका संयन्त्रमा बसेकाहरूलाई समय सधैं एकनास नरहने भन्दै जिम्मेवार बन्न उनले आग्रह गरे। राणाशासन, पञ्चायती व्यवस्था र राजतन्त्र ढलेको उदाहरण दिँदै उनले अहिलेको अवस्थालाई ‘अराजकतन्त्र’को संज्ञा दिए।
वर्तमान सरकारले अरूलाई नछाड्ने तर आफ्ना पक्षका मानिसहरूमाथि कारबाही नगर्ने पक्षपातपूर्ण शैली अपनाएको उनको आरोप छ। साथै, भदौ २३–२४ गतेको राष्ट्रव्यापी आगजनीलाई सामान्य रूपमा प्रस्तुत गर्न खोजिएको भन्दै उनले त्यो सानो घटना नभएको जिकिर गरे।

चुनावी नतिजा पूर्वनिर्धारित र ‘नाटक’ मात्रै
अध्यक्ष ओलीले निर्वाचनको नतिजा पहिल्यै निर्धारित रहेको आरोप लगाउँदै यसलाई ‘तमासा’ र ‘नाटक’ को संज्ञा दिए। ‘चुनाव एउटा तमासा र नाटक थियो। यो परिणाम पूर्वनिर्धारित थियो,’ ओलीले भने, ‘यही परिणाम निकाल्नका लागि मात्र चुनाव गराइएको थियो। हाम्रो पार्टीले यो कुरा बुझेको थियो, अरू पार्टीहरूले भने साँच्चिकै चुनाव हुँदैछ ठाने।’ ओलीले चुनावमा प्रयोग गरिएको मसीमाथि समेत शंका व्यक्त गर्दै यो छानबिनको विषय हुनुपर्ने बताए।

राष्ट्रपति र सम्पत्ति छानबिन आयोगमाथि आपत्ति
ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाप्रति गम्भीर आपत्ति जनाएका छन्। राष्ट्रपतिले ‘बडो जुक्तिका साथ लोकतन्त्र जोगाएको’ भनिए पनि राष्ट्रपति संस्था रबरस्ट्याम्पको रूपमा प्रयोग भएको टिप्पणी उनले गरे। ‘सम्मानित संस्थाको बारेमा मलाई बोल्न मन थिएन। वास्तवमै बडो जुक्तिका साथ लोकतन्त्रलाई एकपछि अर्को कदमबाट सिध्याउने काम भएको छ, जुन कुरा नेकपा एमालेलाई मान्य छैन,’ उनले भने।

त्यस्तै, उनले सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगलाई कुनै पनि हालतमा बयान नदिने घोषणा गरे। ‘यस्ता आयोगलाई हामी मान्यता दिँदैनौं। अरू कसैले बयान दिए पनि म चाहिँ बयान दिन्नँ,’ ओलीले आक्रोश पोख्दै भने, ‘म त्यसमा सम्पत्ति विवरण भरेर पठाउँदिनँ, सरकारले जे–जे गर्न सक्छ, गरोस्। विपक्षीलाई फसाउन प्रतिशोधको पोकोका रूपमा यो आयोग बनाइएको हो।’ उनले थपे, ‘मेरो सम्पत्ति विवरण त खरानी भइसक्यो, अब केको विवरण भर्ने ? आगो लगाएर पुगेन? खरानी छ, सरकारले उठाएर लैजाओस्।’

विद्या भण्डारीको पार्टी सदस्यता र पुनर्गठनको बहस
अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आवेदन दिएपछि मात्रै पार्टीले सदस्यता नवीकरण गरिदिएको जानकारी गराए। पूर्वराष्ट्रपति भण्डारी २०३७ सालदेखि नै एमालेको सदस्य रहेको र बीचमा राष्ट्रपति भएको अवधिमा मात्र प्राविधिक रूपमा सदस्यता निष्क्रिय रहेको उनले स्पष्ट पारे। ‘उहाँ राष्ट्रपति हुँदा सदस्य हुनुहुन्नथियो र नभएको सदस्यता नवीकरण हुने कुरा भएन। त्यसैले केन्द्रीय कमिटीले आवेदन दिन भनेपछि उहाँले आवेदन दिनुभयो र कमिटीले सदस्यता दियो। यसमा भ्रम राख्नु पर्दैन र यो हारजितको विषय पनि होइन,’ ओलीले भने।

पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चुनावी पराजयको निर्मम समीक्षा गर्दै पार्टी अगाडि बढ्ने बताए। ‘हामीबाट गल्ती भएको छ, गल्ती नभई यस्तो धक्का खाइँदैन,’ उपाध्यक्ष पौडेलले स्वीकार गरे, ‘एमालेलाई सकिनुबाट बचाउन समयानुकूल व्यापक पुनर्गठन गर्नुको विकल्प हामीसँग छैन। त्यसअघि यो एक महिना हामी निर्मम समीक्षा गर्नेछौं।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.