गुणस्तरीय जीवन जिउनका लागि फिजियोथेरापी चाहिन्छ
के कस्ता समस्या भएका व्यक्तिहरूलाई फिजियोथेरापी सेवा आवश्यक हुन्छ ?
कुनै शारीरिक समस्याबाट मुक्त भई गुणस्तरयुक्त जीवन (क्वालिटी अफ लाइफ) जिउन चाहने व्यक्तिका लागि फिजियोथेरापी सेवा लाभदायक हुन्छ। जस्तै स्पाइनल कर्ड इन्जुरी भएर हातखुट्टा नचल्ने व्यक्तिलाई चलायमान बनाउन फिजियोथेरापी सेवा उपयुक्त हुन्छ। अपांग बालबालिकाका लागि पनि फिजियोथेरापी सेवा अत्यावश्यक हुन्छ।
हात, खुट्टामात्र होइन ढाड, कम्मर, घुँडा दुख्ने बिरामीले पनि फिजियोथेरापी सेवा लिन सक्छन्। न्युरो (नसा)सम्बन्धी, स्ट्रोक भइसकेका बिरामीले प्राथमिक उपचार पाइसकेपछि कुनै भाग चल्दैन भने त्यो भागलाई चलायमान बनाउन पनि फिजियोथेरापी सेवा उपयुक्त हुन सक्छ।
विगतमा कोभिड–१९ को समस्याका बेला श्वासप्रश्वासमा समस्या भएका व्यक्तिहरूले थकानको समस्या हुनेहरूले फिजियोथेरापी सेवा लिएका थिए। सडक दुर्घटनामा परेर जीवन बाँच्न सफल व्यक्तिहरूले पनि फिजियोथेरापी सेवा लिइरहेका छन्। औषधि सेवन वा शल्यक्रियाबाट रोग निको पार्न सहयोग पुग्छ। त्यस्तै फिजियोथेरापीले दैनिक जीवनलाई चलायमान गराउन मद्दत पुर्याउँछ।
फिजियोथेरापीलाई मसाज वा व्यायामसँग जोड्ने गरेको पाइन्छ। यसको आयाम के कस्तो छ ?
यसको आयाम बृहत् छ। विगतमा फिजियोथेरापीलाई संकुचन गरेर परिभाषित गर्ने वा हेर्ने प्रचलन थियो। अहिले विस्तारै त्यसमा परिवर्तन हुँदै आएको छ। फिजियोथेरापीको अध्ययन, अध्यापन पनि विगतमा डिप्लोमा तहमा सीमित थियो। अहिले यसको स्पेसलाइजेसन छ। अर्थोपेडिक, न्युरो, कार्डियो, स्पोर्टस, पल्मोनरी, जेरियाट्रिक, पिडियाट्रिकलगायतका बहुविधाहरू रहेका छन्। फिजियोथेरापीमा पनि बहुविशेषता रहेकोले यसको आयाम पनि फराकिलो छ।
फिजियोथेरापी सेवाको आवश्यकता बढिरहेको बेला दक्ष जनशक्तिको अवस्था कस्तो छ ?
दक्ष जनशक्तिको संख्या एकदमै न्यून छ। न्यून जनशक्ति पनि सहरी क्षेत्रमा सीमित छ। अस्पतालहरूमात्र नभई पोलिक्लिनिकहरूमा पनि फिजियोथेरोपी सेवा उपलब्ध छ। तर, सेवा अपर्याप्त छ। दक्ष जनशक्तिको उत्पादन नै कम भएकोले आम रूपमा सबै बिरामीको फिजियोथेरापी सेवामा पहुँच पुग्न सकेको छैन। काठमाडौंलगायतका सहरी क्षेत्रमा पनि सीमित संख्यामा छन्। फिजियोथेरापी सेवाका लागि भनेरै उपत्यका बाहिरका व्यक्तिहरू काठमाडौं बसेर सेवा लिइरहेका छन्। दर्ता भएका झन्डै २५ सय फिजियोथेरापिस्टमध्ये सबै नेपालमा छैनन्। जनशक्ति विदेश पलायनसमेत भइरहेका छन्।
फिजियोथेरापिस्टहरू विदेश पलायन हुनुको कारण के छ ?
फिजियोथेरापी सेवाको महत्त्व सरकारी र निजी क्षेत्रले अझै पनि महसुस गर्न सकेको छैन। वर्कलोड (कार्यबोझ)अनुसारको सेवासुविधा नपाएकै कारण जनशक्ति विदेश पलायन भएका हुन्। कुनै समस्या भोगिरहेको व्यक्तिलाई समस्याको प्रकृतिअनुसार १५ /२० मिनेटदेखि एक/डेढ घण्टासम्म समय दिनुपर्ने हुन्छ। सरोकारवाला निकायबाट कार्यबोझअनुसार तलब र सेवा सुविधामा ध्यान पुग्न सकेको छैन। यसले गर्दा पनि जनशक्ति विदेश पलायन भइरहेका छन्।
फिजियोथेरापीमा नयाँ प्रविधि र उपकरणहरू आइरहेका छन्। म्यानुअल थेरापीको उपयोगिता कत्तिको आवश्यकता पर्छ ?
हो, अहिले नयाँ नयाँ प्रविधि र उपकरणहरू आइरहे पनि म्यानुअल थेरापी कहिल्यै हट्दैन। जस्तै कम्मर वा ढाड दुख्ने कारण पनि विभिन्न हुन्छन्। कम्मर दुखाइमात्र पनि विभिन्न कारणले हुन सक्छ। दुखाइको कारण के हो ? त्यो पत्ता लगाएर उपचार गर्ने हो। दुखाइ कम गराउन मेसिनको उपयोग गर्न सकिने अवस्था त छ नै, मांसपेशीलाई बलियो र खुकुलो बनाउनेलगायतका कार्यमा म्यानुअल टेक्निकहरूको प्रयोग हुन्छ। म्यानुअल टेक्निकको प्रयोग नगरी मेसिनको प्रयोगले मात्र सबै ठीक हुन्छ भन्ने हुँदैन।
समस्या पहिचान भइसकेपछि उपचार योजना कसरी बनाइन्छ ?
समस्या भएको स्थान वा भागलाई अधिकतम चलायमान (फङ्सनल) बनाउन सहयोग पुर्याउने काम फिजियोथेरापी सेवाबाट हुन्छ। एउटै प्रकृतिको रोग वा समस्या भएको तीनजना व्यक्ति सेवा लिन आएको छ भने पनि त्यसको उपचार प्रोटोकल फरक–फरक हुन सक्छ। पछाडिको दुखाइ (ब्याक पेन)को समस्या लिएर आएको व्यक्ति छ भने पनि प्रोटोकल फरक हुन्छ। जस्तै कोही नसा च्यापिएर ब्याक पेन भएको हुन सक्छ। कसैको ढाड सटकएर ब्याक पेन भएको हुन सक्छ। त्यसैले सम्बन्धित व्यक्ति र रोग (समस्या)को प्रकृति हेरेर उपचार प्रोटोकल तय गरिन्छ।
अहिले व्यक्तिका खानपानमात्र नभई जीवनशैली सन्तुलित छैन। खराब जीवनशैलीकै कारण पनि समस्या उत्पन्न भएको छ, नि होइन ?
हो, खराब जीवनशैलीका कारण पनि समस्या उत्पन्न भएको छ। लगाउने जुत्ता, चप्पलदेखि लिएर अफिसमा कुर्सीमा बसेर काम गरिरहँदाखेरिको पोस्चर नमिल्दा पनि शारीरिक समस्या उत्पन्न भइरहेको छ। घरमा होस् वा अफिसमा बसाइको पोस्चर नमिल्दा काँध, गर्धन, ढाड दुख्नेलगायतका समस्याहरू भोग्ने व्यक्तिहरू धेरै छन्। रोग र चोटपटकभन्दा बाहेक अन्य समस्या भोगिरहेका धेरै भए पनि कसैले उमेरगत समस्या हो भने चुपचाप सहेर बसिरहेका छन्।
खराब खालको जीवनशैली के कस्ता छन् ?
स–साना बालबालिकादेखि प्रौढ व्यक्तिहरूले पनि मोबाइल, ट्याब हेर्दा होस् वा ल्यापटपमा काम गर्दा होस् कुप्रो पर्ने गरेको पाइन्छ। सोफामा डुंगा जस्तो भएर मोबाइल वा ट्याब स्क्रिन हेर्ने गरेको पाइन्छ। यो पोस्चर खराब खालको हो। स्पोर्टसमा रुचि हुन्छ तर त्यसका लागि आफूलाई तयारी अवस्थामा नराख्दा स्पोर्टस इन्जुरी हुन पुग्छ।
स्कुल/कलेजमा अध्ययन गर्ने विद्यार्थी सबैको शारीरिक वनावट एकै किसिमको हुँदैन। तर, कुर्सी, टेबल, बेन्चहरू निर्माण गर्दा सबै विद्यार्थीहरू एकै किसिमको वनावट वा उचाइका हुन्छन् भन्ने कल्पना गरिएको हुन्छ। यसले गर्दा भिन्न शारीरिक वनावट भएका कतिपय विद्यार्थीलाई कुर्सी वा बेन्चमा बसेर घण्टौं पढ्न परिरहेको हुन्छ। त्यस्तै कुनै अफिसियल व्यक्तिलाई कार्यालयमा बसेर काम गर्दा कुर्सी, टेबलसँग म्याच भएन भने कार्यमा कठिनाइ हुन सक्छ। कर्मचारीले काममा ध्यान दिँदाखेरि पोस्चर मिलेको छ /छैन ? ख्याल गरेको पाइँदैन। बसाइको पोस्चर नमिलेको पनि हुन सक्छ। जसका कारण कार्यक्षमतामा ह्रास आउनेमात्र नभई शारीरिक समस्यासमेत उत्पन्न हुन सक्छ। शरीरलाई अनुकूल वा सहज हुनेभन्दा पनि देखावटीका लागि जुत्ता, लुगा लगाइन्छ भने त्यो पनि खराब लाइफस्टाइल हो।
ज्येष्ठ नागरिकहरू धर्मकर्मका पुस्तकहरू पढ्ने वा आमाहरू बत्ती कात्ने गर्दा कुप्रो पर्ने गरेको देखिन्छ। त्यस्तै वृद्धवृद्धाहरू पलँेटी कसेर बस्दा घुँडामा समस्या उत्पन्न सक्छ। यी सबै खराब लाइफस्टाइल हुन्। अहिले त लामो समयसम्म मोबाइलमा युट्युब, टिकटक हेर्ने चलन छ। समग्रमा भन्नुपर्दा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म धेरैको लाइफस्टाइल खराब नै छ। खराब लाइफस्टाइलका कारण समस्या भएपछि फिजियोथेरापी सेवा लिँदा हामीले सम्झाउँछौं। तर, विडम्बना त्यहिं खराब लाइफ स्टाइल पुनः पच्छाएका कारण दोहोरिएर सेवा लिन आएका उदाहरण पनि छन्।
सेवाग्राहीहरू समस्या हुनेबित्तिकै उपचार सेवा लिन आउने प्रवृत्ति छ कि ढिलो गरेर आउँछन् ?
ज्यानै जोखिममा पर्ने स्थिति छ भने गम्भीर चासो लिने र तुरुन्तै उपचार गर्ने प्रवृत्ति आम नेपालीमा छ। मानौं, शरीरको कुनै भागमा दुखाइ महसुस भयो मल्हम लगाएर र कुनै कारणले दुखाइ कम हुनेबित्तिकै चुपचाप घरमै बस्ने प्रवृत्ति छ। समस्याको कारण पत्ता लगाउनेतिर ध्यान नदिने प्रवृत्ति छ। समस्याको दिगो समाधानभन्दा पनि तत्काल राहत भएपछि बेवास्ता गर्ने प्रवृत्ति अझै हटेको छैन। उपचारमा ढिलाइ गर्ने प्रवृत्तिले समस्यालाई झन् मलजल पुर्याइरहेको छ।
प्रस्तुति : दिनेश गौतम
प्रतिक्रिया दिनुहोस !