क्यान्सर औषधि र स्लाइनको अभाव, किमो लिइरहेका सयौं बिरामी प्रभावित

क्यान्सर औषधि र स्लाइनको अभाव, किमो लिइरहेका सयौं बिरामी प्रभावित
सुन्नुहोस्

औषधि अभावले मुलुकभरका सयौं क्यान्सर बिरामीहरूको नियमित उपचार प्रक्रिया (केमोथेरापी साइकल) रोकिएको छ ।

काठमाडौं :  क्यान्सर निको पार्ने आशामा नियमित औषधि उपचार (किमोथेरापी)गराइरहेका बिरामी अहिले रोगसँग मात्र होइन, औषधि अभावसँग पनि लडिरहेका छन्। बजारमा क्यान्सर रोगको उपचारमा प्रयोग हुने प्लाटिनम समूहका अत्यावश्यक औषधि कार्बोप्लाटिन, सिस्प्लाटिन र अक्सालिप्लाटिनका साथै स्लाइन औषधिको समेत अभाव देखिएको छ।

अत्यावश्यक औषधिको अभावले मुलुकभरका क्यान्सरका सयौं बिरामीको उपचार प्रभावित भएको क्यान्सर रोग विशेषज्ञहरू बताउँछन्। पाटन अस्पतालका मेडिकल अन्कोलोजिस्ट डा. अरुण शाहीका अनुसार, औषधि अभावले मुलुकभरका सयौं क्यान्सर बिरामीहरूको नियमित उपचार प्रक्रिया (केमोथेरापी साइकल) रोकिएको छ। जसले गर्दा बिरामीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ। 

‘उपचाररतमध्ये ६० देखि ४० प्रतिशत क्यान्सरका बिरामी प्रभावित भएका छन्,’ क्यान्सर रोग विशेषज्ञ डा. शाही भन्छन्, ‘क्यान्सरसँग लडिरहेका बिरामीहरूको औषधि पाउँ भन्ने संवेदनशील आवाजलाई चाँडोभन्दा चाँडो सम्बोधन गरियोस्।’वीर अस्पतालकी क्यान्सर रोग विशेषज्ञ डा. रमिला शिल्पकार डंगोलले फेसबुकमा स्टाटस लेख्दै अत्यावश्यक क्यान्सर औषधिहरू कार्बोप्लाटिन/सिस्प्लाटिनको अभावले कतिपय निको हुने अवस्थाका क्यान्सरका बिरामीहरू समयमै उपचार पाउनबाट बञ्चित भइरहेको उल्लेख गरेकी छिन्। 

उनले लेखेकी छिन्, ‘यो जीवन र मृत्युको प्रश्न हो।’ भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.उज्ज्वल चालिसेका अनुसार, औषधि अभावमा निको हुने अवस्थामा रहेका बिरामीहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। डा.चालिसे भन्छन्, ‘निको हुनेक्रममा रहेका क्यान्सरका बिरामीहरूले समयमा औषधि नपाउँदा निको नहुने जोखिम बढेको छ।’

क्यान्सर रोग विशेषज्ञ डा. शाहीका अनुसार औषधि अभावमा बिरामीको नियमित उपचार प्रक्रिया रोकिँदा स्वास्थ्य अवस्था थप जटिल बन्दै गइरहेको छ। डा.शाही भन्छन्, ‘औषधि नपाउँदा ज्यान नै जोखिममा परेको छ।’

किन भयो औषधि अभाव ?  

सरकारले एक दशकअघि तोकेको मूल्यमा अहिले पनि औषधि बिक्री गर्नुपर्ने बाध्यताले आयातकर्ता कम्पनीहरू पछाडि हटेका छन्। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि नेपालमा मूल्य समायोजन नहुँदा क्यान्सरको औषधि आयातमा घाटा भएको व्यवसायीहरूको भनाइ छ। सरकारले २०७२ सालमा १ सय ७२ वटा समूहका औषधि मूल्य समायोजन गरेको थियो। एक दशक बितिसक्दा पनि मूल्यको समायोजन हुन सकेको छैन। नेपाल औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्यका अनुसार भारतले झैं नेपालले पनि बेलाबखत मूल्य समायोजन गरेको भए औषधि अभाव हुने थिएन। आचार्य भन्छन्, ‘भारतले हरेक वर्ष मूल्य समायोजन गर्छ। नेपालले भने ११ वर्षअघि गरेको मूल्य समायोजन गरेको छैन। नेपालले पनि स्वचालित मूल्य समायोजन प्रणाली अपनाएको भए अहिले औषधि अभावको समस्या हुने थिएन।’

कहिलेसम्म होला अभाव ?  

हाल ९ वटा आयात कम्पनीहरूले कार्बोप्लाटिन, सिस्प्लाटिन र अक्सालिप्लाटिन औषधि आयात गरिरहेका छन्। दुई महिनाअघिदेखि नै औषधि आयात प्रभावित भएको हो। औषधि आयातकर्ताहरूका अनुसार गत चैत महिनामा नै क्यान्सरको औषधि अभाव हुन सक्ने जानकारी स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभागलाई गराइएको थियो। तर, सरकारी अधिकारीले दुई महिनासम्म पनि बेवास्ता गर्दा त्यसको प्रत्यक्ष मारमा बिरामी परेका छन्।

आयातकर्ता संघका अध्यक्ष आचार्य औषधि जस्तो संवेदनशील विषयमा सरकारले समयमै निर्णय नगर्दा थप भयावह अवस्था निम्तने बताउँछन्। ‘नेपालमा कार्बोप्लाटिन, सिस्प्लाटिनको हरेक वर्ष १० देखि १२ हजार भायल माग छ,’ संघका अध्यक्ष भने, ‘भारत सरकारले एक महिनाअघि पुनः मूल्य समायोजन गरेको छ। औषधि उत्पादकहरूले समायोजन गरेको मूल्यमा औषधि उत्पादन गर्न नसकिने बताए पछि भारत सरकारले एक साताभित्र पुनः मूल्य समायोजनको प्रक्रियामा छ। नेपालमा भने ११ वर्षदेखि मूल्य समायोजन हुन सकेको छैन।’

औषधिको मूल्यमा २० देखि २५ प्रतिशतसम्मको फरक रहेको आयातकर्ता बताउँछन्। सरकारले समयमै मूल्य समायोजन नगर्ने हो भने औषधि अभाव झन् चर्कने आयातकर्ताको भनाइ छ।

तत्काल आपूर्ति योजना के छ ?  

औषधि व्यवस्था विभागकी निमित्त महानिर्देशक शिवानी खड्गीका अनुसार, औषधिको उपलब्धता, मौज्दात अवस्था र आपूर्ति व्यवस्थाको निरन्तर अनुगमन भइरहेको छ। क्यान्सरको औषधिको तत्काल आपूर्तिका लागि योजना बनाइरहेको बताउँछिन्। ‘सम्बन्धित औषधिको पर्याप्त उपलब्धता सुनिश्चित गर्न सम्बन्धित निकाय, उत्पादक, आयातकर्ता तथा सरोकारवालासँग आवश्यक समन्वय र पहल भइरहेको छ,’ निमित्त महानिर्देशक खड्गीले भनिन्, ‘कच्चा पदार्थको मूल्य बढेकाले औषधिको पनि मूल्य बढेकाले औषधि आयात नभएको जानकारी हामीलाई गराइएको छ। 

विस्तृत रूपमा बुझ्दै छौं।’  औषधिको अभाव हुन नदिन र दीर्घकालीन समाधानका लागि मूल्य समायोजनको प्रक्रिया अघि बढेको उनले जानकारी दिइन्। ‘भारतमा औषधिको मूल्य बढेको र नेपालमा समायोजन नभएको आयातकर्ताहरूको भनाइ छ,’ निमित्त महानिर्देशक खड्गीले भनिन, ‘तत्काल आपूर्तिको लागि पहल गरिरहेका छौं। सहज आपूर्तिका लागि हिजो मात्रै सूचना निकालेका छौं।’  नेपाल औषधि आयातकर्ता संघका अध्यक्ष आचार्यले औषधि नपाएर अकालमा मर्ने अवस्था सिर्जना गर्न नदिने बताए।

-डा. अरुण शाही
मेडिकल अन्कोलोजिस्ट, पाटन अस्पताल


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.