सगरमाथामा कीर्तिमान बनाएका र अस्ताएका सपनाहरू
ओखलढुंगा : आज मे २९। सगरमाथा दिवस। हरेक वर्ष मनाइने सगरमाथा दिवसले हिमाल संरक्षण, पर्यटन प्रबद्र्धन र पर्वतारोहीहरूको योगदानलाई सम्मान गर्दछ।
सन् १९५३ को मे २९। ११: ३० बजे संसारको सर्वोच्च शिखर सगरमाथा, जहाँ हावाको गति आँधीझैं थियो। तापक्रम शून्य पछाडि कुदिरहेको थियो। त्यही चुचुरोमा दुई जना मानिस सगौरव उभिएका थिए, जसका पाइलाले इतिहासको नयाँ अध्याय कोर्दै थियो। एक थिए, आत्मविश्वासले भरिएका न्युजिल्यान्डका पर्वतारोही एडमन्ड हिलारी र अर्का थिए हिमालका छोरा, साहसका पर्याय तेञ्जिङ नोर्गे शेर्पा।
बसन्त ऋतुमा सगरमाथा जित्ने यो बेलायती अभियानको नेतृत्व जोन हन्टले गरिरहेका थिए। टोलीका लागि यो केवल पहाड चढ्ने कुरा थिएन, यो मानिसको सीमा नाप्ने अन्तिम परीक्षा थियो। क्याम्पहरू बनाउँदै, हिउँका भित्ताहरू काट्दै र अक्सिजन सिलिन्डरको भरमा उनीहरू अघि चुचुरोतर्फ उक्लिदै थिए। ठीक त्यसअघिको टोली (टम बर्डिलन र चाल्र्स इभान्स) शिखरनजिकै पुगेर पनि अक्सिजनको समस्याका कारण फर्कन बाध्य भएका थिए। अब पालो थियो हिलारी र तेञ्जिङको।
मे २८ को रात उनीहरू २७ हजार ९०० फिटको उचाइमा रहेको अन्तिम क्याम्प (क्याम्प ९) मा बिताए। त्यो रात चिसोले उनीहरूलाई सुत्न दिएन। तर, बिहानको पहिलो किरणसँगै उनीहरूको आँखामा एउटै दृश्य थियो– शिखर।
त्यो डेथ जोनको संघर्ष
मे २९ को बिहान ६:३० बजे, उनीहरूले आफ्नो आरोहण सुरु गरे। बाटो निकै कठिन थियो। अगाडि एउटा भीर थियो, जुन आज हिलारी स्टेपुका नामले चिनिन्छ। त्यो ठाडो चट्टानमाथि चढ्नु मृत्युसँग पौंठेजोरी खेल्नुजस्तै थियो। हिलारीले नेतृत्व गरिरहेका थिए, अनि पछ्याउँदै थिए तेञ्जिङ। हरेक पाइलाले उनीहरूको धैर्यताको परीक्षण गरिरहेको थियो। अक्सिजनको नलीमा जमेको हिउँ पगाल्दै, थकित शरीरलाई घिसार्दै उनीहरू अघि बढिरहे। शिखरनजिकै पुग्दा उनीहरूलाई लाग्यो– के यो साँच्चै नै अन्तिम बिन्दु हो ?
बिहानको ११:३० बजे एउटा अन्तिम उकालो चढ्नेबित्तिकै, उनीहरू एक यस्तो ठाउँमा आइपुगे जहाँबाट अगाडि बढ्ने कुनै बाटो थिएन। उनीहरूले यताउता हेरे– सगरमाथाको शिखर ! ती दुईले एक–अर्काको अनुहार हेरे। हिलारीले आफ्नो हात बढाए, तेञ्जिङले त्यसलाई समाते। उनीहरू संसारको सबैभन्दा अग्लो बिन्दुमा उभिए। त्यहाँबाट देखिने दृश्य अकल्पनीय थियो। अब बादलहरू उनीहरूको खुट्टा मुनि थिए।
‘टाइगर अफ द स्नो’ पुस्तकका अनुसार तेञ्जिङले त्यहाँ आफ्नो झोलाबाट केही चकलेट र बिस्कुट निकालेर हिमालका देउतालाई भेटी चढाए। हिलारीले त्यहाँ सानो क्रस गाडे। दुवैले एक–अर्कालाई अँगालो हाले। उनीहरू त्यहाँ १५ मिनेट मात्र बसे। अक्सिजन सकिन लागेको थियो, तर त्यो १५ मिनेटले उनीहरूलाई अमर बनायो। जब उनीहरू तल फर्के, संसारले उनीहरूलाई नायकका रूपमा स्वागत गर्यो। यो सफलताले सगरमाथालाई मानिसको सपनाको गन्तव्य बनाइदियो। आज ७३ वर्षपछि फर्किएर हेर्दा त्यो मे २९ को दिन एउटा कीर्तिमानी दिनकोरुपमा सम्झिने गरिन्छ।
सगरमाथामा अस्ताएका सपनाहरू
सन् १९२४ को एक बिहान न्युयोर्कका एक पत्रकारले गरेको ‘किन तपाईं सगरमाथा चढ्न चाहनुहुन्छ ?’ भन्ने प्रश्नमा विख्यात बेलायती आरोही जर्ज मेलोरीले दिएको छोटो तर ब्रह्माण्डीय जवाफ थियो– ‘किन कि यो त्यहीँ छ।’ सगरमाथाको शिखरलाई आफ्नो नियति ठान्ने मेलोरीलाई सायद त्यतिबेला थाहा थिएन कि उनले जुन अस्तित्वलाई जित्न खोज्दै छन्, त्यही उचाइले उनलाई सधैंका लागि आफ्नो काखमा विलय गराउनेछ। उनीसँगै थिए २२ वर्षका युवा एन्ड्र्यु इरभिन, जसले आफ्नी आमालाई लेखेको अन्तिम चिठीमा ‘हामी शिखरको धेरैनजिक छौं, सगरमाथाले हामीलाई बोलाइरहेको छ’ भनेर उत्साह पोखेका थिए। त्यो बोलावट पछ्याउँदै दुवै आरोही सन् १९२४ जुन ८ का दिन अन्तिम पटक सगरमाथाको डेथ जोनमा देखिए।
आज, १ सय २ वर्षपछि, सगरमाथाको शिखरमा जति भीड बढेको छ, उनीहरूको कथा त्यति नै गहिरो मौनतामा दबिदै गएको छ। संभवत यही पहिलो आधिकारिक विवरण हुनुपर्छ, सगरमाथाले मानिसका देहसँगै सपनाहरू समाधिस्थ गरेको।
सन् १९२४ को जुन ८, दिउँसोको ठीक १२:५० बजे सगरमाथाको ‘नर्थ–ईस्ट रिड्ज’ मा धुम्मिएको बादलको बीचमा अभियानका अर्का सदस्य नोएल ओडेलले आफ्नो दूरबिनबाट मेलोरी र इरभिनलाई देखेका थिए, भनिन्छ। उनीहरू शिखरको धेरैनजिक, एउटा भिरालो चट्टानबाट माथि माथि बढिरहेका थिए। त्यो नै उनीहरू देखिएको अन्तिम क्षण थियो। के उनीहरू शिखरमा पुगेका थिए ? त्यो रहस्य अझै पनि हिमालकै काखमा दबिएको छ।
मेलोरीको शव सन् १९९९ मा फेला परे पनि इरभिनको शरीर र उनीहरूले बोकेको कोडाक क्यामेरा आजसम्म भेटिएको छैन। यदि त्यो क्यामेरा भेटियो भने सायद १०२ वर्ष पुरानो यो रहस्यको ढोका खुल्ने थियो।
अधुरा सपना र मृत देहको समाधि
हिमालयन डेटाबेसको अभिलेखअनुसार सन् १९२१ देखि २०२५ सम्म सगरमाथामा ३३९ जनाले ज्यान गुमाएका छन्। २०२६ मा ५ जनाले अन्तिम श्वास सगरमाथामा लिए। (कतै ३४६ र ३५० बढीले ज्यान गुमाएको पनि पढ्न पाइन्छ।) यीमध्ये २०० भन्दा बढी मानिसहरू यस्ता छन्, जो सगरमाथाको माथिमाथि गए त, तर कहिल्यै तल आएनन्। उनीहरूको कुनै चिहान छैन, कुनै स्मारक छैन। उनीहरूको अस्तित्व अब केवल हिउँको पत्रमुनि पुरिएको छ। विज्ञहरू भन्छन्– सगरमाथामा हराउनु भनेको मृत्यु होइन, विसर्जन हो। मेलोरीको शव त फेला परर्यो तर इरभिनको शरीर र उनीहरूले बोकेको कोडाक क्यामेरा आजसम्म रहस्यकै गर्भमा छ। सगरमाथाले अहिले पनि २०० बढी मृत देह बोकेर उभिएको छ।
त्यसरी झस्काउनेमध्ये ग्रीन बुट्स र रोब हलको हृदयविदारक कथा सुन्दा मन नभक्कनिने शायदै होलान्। ११ मे १९९६ को बिहान, ८,७५० मिटरको उचाइबाट ‘म तिमीलाई माया गर्छु, आनन्दले सुत मेरी प्यारी, कृपया धेरै चिन्ता नगर’ भन्दै न्यूजिल्याण्डमा रहेकी आफ्नी पत्निसँग गरेको त्यो अन्तिम बाचा कारुणिक कथा बनेर बिलायो।
सगरमाथाको दक्षिण शिखर नजिकैको त्यो क्षेत्रमा फसेका रोब हलले आफ्नो ज्यान जोगाउन डग ह्यान्सनलाई छोडेर आउन सक्थे, तर एक व्यावसायिक गाइडका रूपमा उनले आफ्ना क्लाइन्टप्रति देखाएको अचुक वफादारी र कर्तव्यबोध नै उनको जीवनको अन्तिम निर्णय बन्न पुग्यो। कठिन हिमआँधी, अक्सिजनको अभाव र अत्यधिक चिसोका बीच रेडियोमार्फत गुञ्जिएका उनका ती शब्दहरू आज पनि पर्वतारोहणको इतिहासमा मानवीय संवेदना र वफादारीको सबैभन्दा पीडादायी र प्रेरणादायी लिगेसीका रूपमा सुरक्षित छन्।
पर्वतारोहणको क्रूर यथार्थ कस्तो हुन्छ भने, शिखर चुम्न जानेहरूका लागि उनको शव वर्षौंसम्म बाटोको एउटा कोसेढुंगा जस्तै बनेको थियो। एउटै आँधी, एउटै मिति र दुई फरक दिशामा दुई साहसी पर्वतारोहीहरूको अवसानले सगरमाथाको डेथ जोनमा समय कसरी मौन भएर मृत्युको साक्षी बस्छ भन्ने कुरालाई आज पनि झस्काइरहन्छ।
रचिएका गौरवगाथा नलेखिएका दर्दानक कथा
आज सगरमाथाको आकाशमा ड्रोनको भुनभुन सुनिन्छ। साहसिक पर्यटनको नाममा मानिसहरू उच्च प्रविधियुक्त क्यामेरा बोकेर हिमालको परफेक्ट सट लिन तल्लीन छन्। तर, यो भीडभाड र व्यावसायिक चमकधमकले ती मानिसहरूको त्यागलाई कता कता ओझेलमा पारेको छ, जसले आफ्नो क्यामेराको लेन्सभन्दा बढी आफ्नो आत्मबललाई विश्वास गर्थे। हिमालमा हाईप्रोफाइल आरोहीहरूको भीड बढ्दा सुरक्षा र गोपनीयताको जुन विरोधाभास पैदा भएको छ, त्यसले मेलोरी र इरभिनको त्यो शुद्ध साहसिक युगलाई आजकोुव्यावसायिक युगसँग आमनेसामने गराएको छ। के शिखर चुम्नु नै सबैभन्दा ठूलो सफलता हो, कि शिखरको बाटोमा हराउनु नै एउटा अदम्य इतिहास ? एक अनुत्तरित प्रश्नको जवाफ खोज्ने बेला भएको छ।
विश्वप्रसिद्ध पर्वतारोही रेनहोल्ड मेसनरले भनेझैं, ८ हजार मिटरभन्दा माथिको संसारमा मानिस एउटा सानो थोपा हो। त्यहाँ हराएकाहरूलाई फिर्ता ल्याउनु भन्दा उनीहरूलाई हिमालकै अंश बन्न दिनु नै सायद प्रकृतिको न्याय हो। आज पनि, जब सगरमाथामा बतास चल्छ, त्यसले सायद मेलोरीको त्यो ‘किनभने यो त्यहाँ छ’ भन्ने जवाफलाई जीवन्तता दिन हो कि ! उनीहरूका सपनाहरू हिउँमा जमेर बसेका छन्, उनीहरूको कथा हिमालको चुचुरोमा प्रतिध्वनित छ।
- सन् १९५३ मे २९ मा एडमन्ड हिलारी र तेञ्जिङ नोर्गे शेर्पाले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेको सम्झनामा हरेक वर्ष यो दिवस मनाइन्छ, जसले हिमाल संरक्षण र पर्वतारोहीहरूको योगदानलाई सम्मान गर्दछ।
- सन् १९५३ देखि हालसम्म ७,२०० भन्दा बढीले सगरमाथा चुमिसकेका छन् भने ३४६ भन्दा बढी आरोहीहरूले ज्यान गुमाएका छन्। तीमध्ये २०० भन्दा बढी मृत देहहरू (जस्तै: रोब हल र ग्रीन बुट्स) आज पनि हिउँमुनि पुरिएका छन्।
- सन् २०२६ को वसन्तकालीन सिजनमा इतिहासकै धेरै ४ सय ९४ जनाले आरोहण अनुमति लिए। प्रतिव्यक्ति रोयल्टी शुल्क १५,००० डलर पुर्याइएका कारण नेपाल सरकारले सगरमाथाबाट मात्रै १ अर्ब ७ करोड रुपैयाँभन्दा बढी ऐतिहासिक राजस्व संकलन गर्यो।
- सन् २०२६ को मे २० का दिन एकैपटक २७४ जना आरोहीहरूले सगरमाथाको शिखर चुमेर एकै दिन इतिहासकै सबैभन्दा धेरै आरोहण हुने नयाँ विश्व कीर्तिमान कायम गरे।
- यसै सिजन अनुभवी आरोही कामीरिता शेर्पाले ३२औंपटक सगरमाथा चढेर आफ्नै कीर्तिमान तोडे भने नीलम पौडेलले नेपालको पहिलो ट्रान्सजेन्डर महिला आरोहीका रूपमा इतिहास रचिन्।
हामीले सगरमाथालाई नाप्न सकिने उचाइका रूपमा हेर्यौं, तर बिर्सियौं कि यो शिखरले मानिसका ती अधुरा सपनाहरूलाई आफ्नो काखमा राखेको छ, जसको कुनै अन्त्य छैन। ती २०० हराएका आरोही आज पनि त्यहीँ कतै छन्, आफ्नो क्यामेरा, आफ्नो डायरी र आफ्नो अधुरो सपनासहित। उनीहरूले शिखर त भेटे या भेटेनन्, त्यो इतिहासको प्रश्न होला। तर, हिमालले उनीहरूलाई कहिल्यै नमेटिने एउटा इतिहासको अध्याय बनाइदिएको छ।
हिमालमा रचिएका गौरवगाथाका पछि थुप्रै अँध्यारा र नलेखिएका कथाहरू छन्, तिनलाई नजरअन्दाज गर्दा हिमालको कथा पूरा हुँदैन पनि। आज सगरमाथा दिवस मनाउँदा, हामी केवल दुई मानिसलाई सम्झदैनौं, बरु ती हजारौं शेर्पाहरूको बलिदानी र साहसलाई सम्झन्छौं, जसको बिना हिमाल आरोहणको यो गौरवगाथा कहिल्यै पूरा हुन सक्दैनथ्यो। सगरमाथा आरोहणको तथ्यांक हेर्दा द हिमालयन डाटाबेस २०२५ को रेकर्डअनुसार सन् १९५३ देखि हालसम्म करिब ७,२०० भन्दा बढी व्यक्तिहरूले सगरमाथाको सफल आरोहण गरिसकेका छन्। यस साहसिक यात्राको क्रममा डेथ जोनमा अक्सिजनको कमी, अचानक आउने हिमआँधी र हिमपहिरोका कारण करिब ३ सय ४६ भन्दा बढी आरोहीहरूले आफ्ना सपनाहरू सगरमाथालाई सुम्पिएर सधैंका लागि अस्ताएका छन्।
सगरमाथामा सन् २०२६ : के–के भए
सन् २०२६ को वसन्तकालीन सिजन सगरमाथाको इतिहासमा सर्वाधिक व्यस्त, आर्थिक रूपमा सफल र कीर्तिमानी वर्षका रूपमा स्थापित भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार यस वर्ष सगरमाथा आरोहणका लागि ४ सय ९४ जना आरोहीले अनुमति लिएका थिए, जुन विगतकै तुलनामा सबैभन्दा उच्च संख्या हो। प्रतिव्यक्ति रोयल्टी शुल्क ११ हजार डलरबाट बढाएर १५ हजार डलर कायम गरिएको यस वर्ष, केवल सगरमाथाको रोयल्टीबाट मात्र नेपालले १ अर्ब ७ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। यो आर्थिक सफलताले नेपालको पर्वतारोहण पर्यटनको जग थप बलियो बनाएको छ।
यस वर्षको सिजनमा मानवीय साहसका अनेकौं दृश्यहरू देखिए। मे २० का दिन एकै पटकमा २ सय ७४ जना आरोहीले सगरमाथाको शिखर चुमेर एकै दिन सर्वाधिक आरोहणको विश्व कीर्तिमान रचे। अनुभवी आरोहीहरूको कुरा गर्दा कामीरिता शेर्पाले ३२औंपटक, लाक्पा शेर्पाले ११ औंपटक र पादवा शेर्पाले १२औं पटक सगरमाथाको सफल आरोहण गरी आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएका छन्।
नेपाली पर्वतारोही पूर्णिमा श्रेष्ठले अफ्नो छैटौं सफल आरोहण पूरा गर्दै ८ हजार मिटरका अग्ला हिमाल चढ्ने आफ्नो लक्ष्यलाई थप उचाइ प्रदान गरिन्। यस्त नीलम पौडेलले नेपालको पहिलो ट्रान्सजेन्डर महिला आरोहीका रूपमा शिखर चुमेर इतिहास रचिन्। यस वर्षको आरोहणमा कूटनीतिक र राजनीतिक क्षेत्रका व्यक्तित्वहरूको सहभागिताले पनि विशेष चर्चा पायो। नेपालस्थित अमेरिकी दूतावासका कूटनीतिज्ञ माइक हार्करले सगरमाथाको सफल आरोहण गरे भने नेपालका सांसद मिङ्मा डेविड शेर्पाले संघीय संसदको लोगो बोकेर सदनदेखि शिखरसम्मको सन्देश प्रवाह गर्दै आरोहण पूरा गरे।
भारतबाट आएको १६ सदस्यीय राष्ट्रिय सुरक्षा गार्डको टोलीले पनि अत्यन्त छोटो समयमा सगरमाथा आरोहण गरी आफ्नो उच्च दक्षता प्रदर्शन गर्यो। भारतकै महिला पर्वतारोहीहरूको विशेष टोलीले पनि सशक्तिकरणको सन्देशसहित शिखर चुम्यो। कुल ५५ देशका आरोहीहरू सामेल रहेको यस सिजनमा चीन, अमेरिका र भारतका नागरिकहरूको सहभागिता सबैभन्दा बढी थियो। हालसम्म यो सिजनमा सगरमाथा आरोहणका क्रममा ५ जनाको ज्यान गइसकेको छ।

प्रतिक्रिया दिनुहोस !