सांसद मिङ्मा डेभिड शेर्पाले १० औं पटक चुमे सगरमाथाको चुचुरो
ओखलढुंगा : प्रतिनिधिसभा सदस्य एवं विश्वचर्चित पर्वतारोही मिङ्मा डेभिड शेर्पाले ‘संसद्देखि शिखरसम्म’को संकल्प बोकेर सगरमाथाको सफल आरोहण पूरा गरेका छन्। शेर्पाले बुधबार बिहान ५ः४० बजे विश्वको सर्वाेच्च शिखर सगरमाथामा १०औं पटक पाइला टेक्दै आफ्नो कीर्तिमानी यात्रामा सफलता थपेका हुन्।
गत आइतबार राति चौथो शिविर (क्याम्प ४) बाट शिखरको अन्तिम यात्रा सुरु गरेका सांसद शेर्पाले हिमालका चुनौतीहरूलाई चिर्दै तोकिएको समयमै चुचुरो चुमेका हुन्। बुधबार बेसक्याम्प झर्दै गरेका शेर्पाले अन्नपूर्णसँग भने, ‘मुलुक परिवर्तनको संघारमा छ। मुलुकको समृद्धिका लागि पर्यटनलाई नीतिमा समेट्न भरमग्दुर प्रयास गर्नेछु।’
संसददेखि शिखरसम्मको नारासहित आरोहणमा निस्किएका सांसद शेर्पाको यो यात्राले हिमालको सुरक्षा र जलवायु परिवर्तनका मुद्दालाई नीति निर्माणको तहमा जोड्ने प्रयास गरेको छ। संसद्मा हिमालका समस्या र पर्यटनका मुद्दा उठाउँदै आएका शेर्पाले सगरमाथाको चुचुरोबाटै हिमाल जोगाउने सन्देश दिएका हुन्।
३० वर्षको उमेरमै विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल चढेर विश्व कीर्तिमान कायम गरेका मिङ्मा डेभिड शेर्पा पर्वतारोहण क्षेत्रका एक स्थापित नाम हुन्। उनी केटु (८,६११ मिटर) हिमालको चुचुरोमा ६ पटक पुग्ने विश्वकै एकमात्र आरोही हुन्। सगरमाथाको डेथ जोनमा हेलिकप्टरको सहायताले साहसिक उद्धारमा संलग्न भई धेरैको ज्यान बचाएका शेर्पाका यस्ता अनेकौं कथाहरू अन्तर्राष्ट्रिय पर्वतारोहण वृत्तमा चर्चित छन्।
सन् २०१० मा सगरमाथाबाटै आरोहण सुरु गरेका शेर्पाले २०१४ र २०१५ को त्रासदीपूर्ण घटनाहरू नजिकबाट भोगेका छन्। हिमालका ती भोगाइहरूलाई उनले अब संसदीय बहसको माध्यमबाट सम्बोधन गर्ने अपेक्षा गरिएको छ। शिखर चुमेपछि उनको यो आरोहणले नेपाली पर्वतारोहणको गरिमा उच्च राख्नुका साथै नीति निर्माताहरूलाई हिमालको अवस्थाबारे थप गम्भीर हुन प्रेरित गर्ने अपेक्षा गरिएको छ।
उनले नेपालको साथै संघीय संसद्को झण्डासमेत सगरमाथामा फहराएका छन्। सांसद शेर्पालाई सभामुख डोलप्रसाद अर्यालले संसदको झण्डा दिएर सगरमाथा आरोहणका लागि बिदाइ गरेका थिए। उनी रास्वपाका समानुपातिक सांसद हुन्।
प्रतिक्रिया दिनुहोस !