सगरमाथा आरोहणमा नयाँ–नयाँ रेकर्ड

सगरमाथा आरोहणमा नयाँ–नयाँ रेकर्ड

ओखलढुंगा : वसन्त ऋतुको आगमनसँगै हिउँका थुप्राहरू पग्लिन थाल्छन् तर सगरमाथाको बैंस भने यही सिजनमा चढ्छ। सन् २०२६ को वसन्त ऋतु सगरमाथाको इतिहासमै स्वर्ण अक्षरले अंकित भएको छ। यस वर्ष सर्वोच्च शिखरमा केवल हिउँ मात्र परेन, कीर्तिमानहरूको यस्तो वर्षा भयो कि चुचुरो आफैं अचम्मित भयो।

पर्यटन विभागले इतिहासकै सबैभन्दा बढी ४ सय ९४ जना विदेशीलाई आरोहण अनुमति दिएको यस सिजनमा जेठ ६ गते, बुधबार एकै दिन २ सय ७४ जनाले शिखर चुमेर विश्वकै सबैभन्दा ठूलो ‘एकदिने आरोहण’ को रेकर्ड बनाए। पर्वतारोहण सञ्चालक संघ नेपालका महासचिव ऋषिराम भण्डारीका अनुसार यो नेपाली पर्वतीय पर्यटनकै इतिहासमा सबैभन्दा ठूलो र ऐतिहासिक आरोहण हो। कुनै अप्रिय घटनाबिना यो सफलता मिल्नु अविस्मरणीय भएको र यसले सिंगो विश्वको ध्यान खिचेको उनी बताउँछन्।

बहालवाला अमेरिकी कूटनीतिज्ञको कीर्तिमान

विश्वको सर्वोच्च शिखर सगरमाथामा कूटनीतिक र साहसिक क्षेत्रका थप दुईवटा ऐतिहासिक कीर्तिमान कायम भएका छन्। नेपालस्थित अमेरिकी दूतावासका पब्लिक अफेयर्स चिफ माइक हार्कर र भारतको भारत–तिब्बत सीमा पुलिसका ११ जना महिला सुरक्षाकर्मीको टोलीले सगरमाथाको सफल आरोहण गरेका छन्। 

अमेरिकी कूटनीतिज्ञ माइक हार्कर जेठ ७ गते बिहान ९:१० बजे सगरमाथाको चुचुरोमा पुग्न सफल भए। यससँगै उनी सर्वोच्च शिखर आरोहण गर्ने पहिलो बहालवाला अमेरिकी परराष्ट्र सेवाका अधिकारी बनेका छन्। हार्करले सन् २००६ मा अन्नपूर्ण आधार शिविरको ट्रेकिङ गरेदेखि बुनेको सपना २० वर्षपछि साकार भएको हो। अमेरिकाको आगामी २५०औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा भएको यस निजी आरोहणले नेपाल–अमेरिका बीचको ८ दशक लामो सम्बन्धलाई थप प्रगाढ बनाएको दूतावासले जनाएको छ। दूतावासले नेपाली शेर्पा समुदायको अद्भुत वीरता र सहयोगको उच्च प्रशंसासमेत गरेको छ।

११ जना भारतीय महिला सुरक्षाकर्मीले पनि चुमे
नेपालतर्फको दक्षिणी रुट हुँदै भारत–तिब्बत सीमा पुलिस (आईटीबीपी)का ११ भारतीय महिला सुरक्षाकर्मीहरूले सगरमाथाको सफल आरोहण गरेर नयाँ इतिहास रचेका छन्। आईटीबीपीको इतिहासमा महिलामात्र सम्मिलित टोलीले सगरमाथा आरोहण गरेको यो पहिलोपटक हो। दुर्लभ सफलतापछि भारतका गृहमन्त्री अमित शाहले यसलाई ‘नारी शक्ति’ र कठोर प्रशिक्षणको परिणाम भन्दै बधाई दिएका छन्। बिहारका पूर्वमुख्यमन्त्री नितिशकुमारले पनि सामाजिक सञ्जालमार्फत महिला पर्वतारोहीहरूको साहस र संकल्पको प्रशंसा गरेका छन्।

पासाङ दावाको ३१औं र कामीरिताको ३२औं कीर्तिमान
विश्वको सर्वोच्च शिखर सगरमाथामा नेपाली भेट्रान आरोहीहरूबीचको कीर्तिमानी प्रतिस्पर्धाले पर्वतारोहणको इतिहासमा नयाँ र स्वर्णिम अध्याय थपेको छ। सर्वाधिक ३२ पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम राखेका कामीरिता शेर्पा काठमाडौं फर्किनासाथ उनलाई पछ्याइरहेका अर्का प्रख्यात आरोही पासाङ दावा शेर्पाले ३१औं पटक सगरमाथाको सफल आरोहण गरेका छन्।

जारी वसन्त ऋतुको पर्वतारोहणअन्तर्गत पासाङ दावाले शुक्रबार बिहान ४:२० बजे सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेकेका हुन्। ‘क्लाइम्बिङ द सेभेन समिट्स’ र ‘टाग नेपाल ट्रेक्स एन्ड एक्सपेडिसन’ को संयुक्त व्यवस्थापनमा भएको यो आरोहण पासाङ दावाको यसै सिजनको दोस्रो सफलता हो। यसअघि उनले सोही सिजनको जेठ ५ गते (मे १८) मात्रै ३० औं पटक सगरमाथाको सफल आरोहण गरेका थिए।

सन् १९९८ देखि सगरमाथा आरोहण सुरु गरेका दावाले यो सफलतासँगै ‘एभरेस्ट म्यान’ कामीरिता शेर्पासँगको दूरीलाई मात्र एक अंकमा खुम्च्याउँदै कीर्तिमानी दौडलाई निकै रोचक बनाएका छन्। दुई महारथीले दुई दशकभन्दा लामो समयदेखि हिमालको काखमा अविचलित यात्रा गरिरहेका छन्।

कीर्तिमानका बादशाह ५६ वर्षीय कामीरिता शेर्पा ३२ औं पटक सगरमाथाको सफल आरोहण पूरा गरी काठमाडौं फर्किएका छन्। उनले पछिल्लोपटक जेठ ३ गते बिहान १०:१२ बजे सगरमाथा शिखर चुमेका थिए। सन् १९९४ देखि पर्वतारोहणको यात्रा सुरु गरेका कामीरिता आबद्ध ट्रेकिङ कम्पनी ‘सेभेन समिट ट्रेक्स’ले उनलाई काठमाडौंमा भव्य स्वागत गरेको छ। कामीरिता भन्छन्, ‘मैले कहिल्यै रेकर्डका लागि हिमाल चढिनँ। मेरो ३२ औं आरोहण पनि विदेशी आरोहीहरूलाई सुरक्षित रूपमा शिखर पु¥याउने एउटा कडा मिहिनेतको नतिजा मात्र हो। हिमाल मेरो कर्मथलो हो।’

‘माउन्टेन क्विन’ र क्यामेराको कमाल
मे १७ को बिहान ९:३० बजे ५२ वर्षीया लाक्पा शेर्पाले ११ औं पटक सगरमाथाको शिखरमा पाइला टेकिन्। ‘ग्रिप्ड म्यागजिन’का अनुसार उनी विश्वमै सबैभन्दा धेरैपटक सगरमाथा चढ्ने महिला हुन्। पूर्णिमा श्रेष्ठ छैटौंपटक पुगिनबुधबार नेपालकी चर्चित फोटो पत्रकार पूर्णिमा   श्रेष्ठले छैटौं सफल आरोहण पूरा गरिन्। उनी गैर–शेर्पा समुदाय र पत्रकारिता पेसाबाट सबैभन्दा बढी सगरमाथा आरोहण गर्ने फोटो पत्रकार बनेकी छिन्।

क्यान्सरको बेडदेखि सर्वोच्च शिखरसम्म
मे १७ मा क्यानडाका चार्स–एन्टोइन लान्थियरले सगरमाथाको शिखर चुमे। केही समयअघि मात्रै उनी अस्पतालको बेडमा चौथो चरणको (स्टेज ४) क्यान्सरसँग लडिरहेका थिए। डाक्टरहरूले बाँच्ने आस मारिसकेका उनी शिखरमा पुगेर रोए। यो उनको पुनर्जन्मको उत्सव थियो।

१८ वर्षे बियान्काको साहस
मे २० को राती २:३० बजे अस्ट्रेलियाकी १८ वर्षीया युवती बियान्का एड्लरले शिखरमा पाइला राखिन्। सन् २०२५ मा मौसम बिग्रिएर शिखरको ४०० मिटर तलबाट फर्किएकी उनी यसपालि इतिहासकै सबैभन्दा कम उमेरकी अस्ट्रेलियन नागरिक बनेर सगरमाथा जित्न सफल भइन्।

बिनाअक्सिजन सगरमाथा
मे १९, २०२६ को बिहान पोल्यान्डका बारतोस कास्पर जिएम्स्की कृत्रिम अक्सिजन बिना नै सगरमाथाको चुचुरोमा पुगे। ‘एभरेस्ट क्रोनिकल’ का अनुसार उनले डेथ जोनको ठाडो हिउँको भीरबाट स्की गर्दै सगरमाथा र छिमेकी हिमाल ल्होत्से दुवैबाट स्की गरेर झर्ने पहिलो मानवको नयाँ कीर्तिमान रचे।

दुई भारतीय आरोहीको निधन
सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी फर्कने क्रममा दुई जना भारतीय आरोहीको निधन भएको छ। पर्यटन विभागका अनुसार मृत्यु हुनेहरूमा भारतीय नागरिक अरुणकुमार तिवारी र सन्दीप आरे रहेका छन्। पर्वतारोहण सञ्चालक संघका महासचिव ऋषिराम भण्डारीका अनुसार यी दुईसहित सन् २०२६ को यस वसन्तकालीन सिजनमा सगरमाथा, ल्होत्से र मकालु हिमालमा ज्यान गुमाउने आरोही तथा गाइडहरूको कुल संख्या सात पुगेको छ।

‘डेथ जोन’ को ट्राफिक जाम र दु:खद घटना
यस वर्ष मौसम प्रतिकूल भई आरोहणको समय निकै छोटो हुँदा जेठ ६ गते बुधबार एकै दिन २७४ जनाभन्दा बढी आरोहीहरू शिखरतर्फ प्रस्थान गरेका थिए। अत्यधिक चापले भएको ट्राफिक जामका कारण ८ हजार मिटरभन्दा माथिको ‘डेथ जोन’ मा लामो समय पालो कुर्नु पर्दा ओर्लिने क्रममा उनीहरू गम्भीर बिरामी परेका थिए।  यसअघि सगरमाथामा दुई नेपाली गाइड र एक उच्च हिमाली कामदारले ज्यान गुमाएका थिए भने मकालुमा एक अमेरिकी र एक चेक गणतन्त्रका आरोहीको मृत्यु भइसकेको छ। पर्यटन विभागले यस सिजनमा सगरमाथामा मात्रै इतिहासकै सर्वाधिक ४९४ वटा आरोहण अनुमति पत्र जारी गरेको थियो।

इतिहासकै धेरै अनुमति, १ अर्ब ११ करोड राजस्व
चीनले आफ्नोतर्फको (तिब्बत) बाटो यस वर्ष पूर्णरूपमा बन्द गरेकाले संसारभरका पर्वतारोहीहरूको चाप नेपालतर्फ मात्र सोझियो। ४ सय ९४ जना विदेशी आरोही र त्यत्तिकै संख्यामा रहेका शेर्पा गाइडहरूका कारण आधार शिविर एउटा सानो आधुनिक सहरजस्तै देखियो। यस ठूलो चापका कारण नेपाल सरकारले इतिहासकै सर्वाधिक १ अर्ब ११ करोड रुपैयाँभन्दा बढी राजस्व (रोयल्टी) संकलन गर्न सफल भयो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा कभरेज
सगरमाथाका ऐतिहासिक रेकर्डहरूलाई विश्वका प्रतिष्ठित सञ्चारमाध्यमहरूले प्राथमिकताका साथ कभरेज गरेका छन्। एसोसिएटेड प्रेस (एपी) (२१ मे)ले भनेको छ– ‘पर्वतारोहण विज्ञहरूले अक्सर नेपाललाई एउटै समयमा धेरै मानिसलाई सगरमाथा चढ्न अनुमति दिएकोमा आलोचना गर्छन्, जसले हिमालको केही विन्दुहरूमा जोखिमपूर्ण भीडभाड निम्त्याउँछ।’ द गार्जियन (मे २१): यस ऐतिहासिक उपलब्धिलाई ‘मानव इच्छाशक्ति र प्रकृतिमाथिको अभूतपूर्व विजय’का रूपमा चित्रण गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.