मकवानपुर परवानीपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश
सिमराः नव जनजागृति युवा क्लब सिमरालाई स्तब्ध पार्दै एन्फा मकवानपुर पाँचौं परवानीपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। परवानीपुर खेल मैदानमा मंगलबार अन्तिम क्वाटरफाइनलमा नव जनजागृतिलाई ३-० ले पराजित गर्दै मकवानपुरले अन्तिम चारको यात्रा तय गरेको हो।
मकवानपुरको जितमा सुजन गुरुङ, निमेश मोक्तान र रिजन लामाले एक/एक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा मकवानपुरले दोस्रो हाफमा तीन गोल गर्दै जित निकालेको हो। खेलको ५२औं मिनेटमा सुजनले गोल गर्दै टिमलाई अग्रता दिलाए। ५७औं मिनेटमा निमेशले अर्को गोल थप्दै खेल २-० को स्थितिमा पुर्याए। खेलको ६७औं मिनेटमा रिजनले तेस्रो गोल थप्दा नव जनजागृति ३-० ले पछाडि पर्यो।
खेलमा पाएका केही अवसर सदुपयोग गर्न नसक्दा नव जनजागृति हार आत्मसाथ गर्न बाध्य भयो। निमेश प्लेयर अफ दि म्याच घोषित भए। निमेशलाई नागमणी उपाध्यायले दुई हजार एक सय नगदसहित पुरस्कृत गरे। प्रतियोगिता अन्तर्गत बुधबार आयोजक शक्ति युवा क्लब र वीरगन्ज युनाइटेड क्लबबीच पहिलो सेमिफाइनल खेल हुनेछ।
मकवानपुरले भने दोस्रो सेमिफाइनलमा निजगढको सामना गर्नेछ। वैशाख १२ गतेसम्म आयोजना हुने प्रतियोगितामा भारतसहित ८ वटा टिमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख नगद प्राप्त गर्नेछन्। विधागततर्फ सर्वोत्कृष्ट खेलाडीलाई पाँच हजार एक सय नगदसहित पुरस्कृत गरिनेछ।
प्रतिक्रिया दिनुहोस !