प्रधानमन्त्री कप क्रिकेट : आर्मीलाई सुदूरपश्चिमको चुनौती
वीरगन्ज : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि शुक्रबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश आमनेसामने हुँदैछन्। वीरगन्जस्थित नारायणी मैदानमा उत्रँदा आर्मी तेस्रो उपाधिको खोजीमा हुनेछ भने सुदूरपश्चिम इतिहास रच्ने दाउमा रहने छ। दुई पटकको उपाधि विजेता आर्मीले लगातार आठौं पटक फाइनल खेल्दैछ भने सुदूरपश्चिमले नौलो अनुभव गर्दैछ। यसअघिका सात वटा संस्करणमा विभागीय टोलीको दबदबा चल्दा प्रादेशिक टोली निरीह बनेका थिए।
विभागीयबाहेक फाइनलमा पुग्ने पहिलो टोली बनिसकेको सुदूरपश्चिमले उपाधि उचाले प्रधानमन्त्री कपलेसमेत नयाँ विजेता प्राप्त गर्नेछ। प्रधानमन्त्री कपको हालसम्म भएका सात वटा संस्करणमा नेपाल पुलिस क्लबले चार, आर्मी र एपीएफ क्लबले दुई/दुई पटक उपाधि उचालेका छन्। पहिलो संस्करणको फाइनल खेल वर्षाले बिथोलिँदा पुलिस र आर्मी दुवैलाई संयुक्त विजेता घोषणा गरिएको थियो। त्यसबाहेक पुलिसले तेस्रो, छैटौं र सातौं संस्करणको उपाधि उचाल्दा एपीएफले दोस्रो र पाँचौं प्रधानमन्त्री कप जितेको थियो। आर्मीले भने पुलिससँग संयुक्त विजेता बनेको पहिलो फाइनलपछि चौथो संस्करणको उपाधि उचालेको थियो।
जारी प्रतियोगितामा सानदार प्रदर्शन गर्दै आएको आर्मीका लागि यो तेस्रो पटक उपाधि जित्ने अवसर रहनेछ। लिग चरणमा सबै खेलमा आर्मी अपराजित छ। लिगमा भेट हुँदा आर्मीले सुदूरपश्चिममाथि सात विकेटको जित निकालेको थियो। लिगका नौ खेलमध्ये एक खेलमा वर्षा बाधक बन्दा आर्मी बाँकी आठ खेलमा विजयी भएको हो। लिगमा अपराजित रहँदै १७ अंकका साथ फाइनलमा पुगेको आर्मी उच्च मनोबलमा छ।
यसअघिको दुई संस्करणमा लगातार फाइनलमा पुगेर पुलिससँग पराजित हुँदै उपाधि चुम्नबाट बञ्चित आर्मी यसपटक अवसर गुमाउन चाहँदैन। कप्तान विनोद भण्डारी यसपटक टोलीलाई उपाधि दिलाएर मात्रै मधेसबाट काठमाडौं फर्कन चाहन्छन्। आर्मीलाई फाइनलमा पुर्याउन कप्तान भण्डारीले पनि सानदार प्रदर्शन गर्दै आएका छन्। जारी प्रतियोगितालमा भण्डारीले दुई शतकसहित चार सय दुई रन बनाएका छन्। प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा भण्डारी तेस्रो स्थानमा छन्।
पाँच सय चार रन बनाएका गण्डकीका अर्जुन कुमाल पहिलो र चार सय ५७ रनसहित एपीएफका आसिफ शेख दोस्रो स्थानमा छन्। फाइनलमा उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक रन बनाउने अवसर भण्डारीसामु छ। भण्डारीले लिगमा भेट हुँदा सुदूरपश्चिमविरुद्ध शतक प्रहार गरेका थिए। यसैगरी भीम सार्की, कुशल मल्ल, बसिर अहमद, रासिद खान, अर्जुन साउद, तृतराज दासले आर्मीलाई जित दिलाउन भूमिका खेल्न सक्छन्। बसिर र अर्जुन प्रतियोगितामा एक/एक शतक बनाएका छन् भने भीम र तृतराजले तीन/तीन अर्धशतक प्रहार गरेका छन्।
आर्मीसामु सुदूरपश्चिमका हेमन्त धामी र कप्तान शेर मल्ल बाधक बन्न सक्छन्। जारी प्रतियोगितामा धामी सर्वाधिक विकेट लिने बलरमा छन्। धामीले नौ खेलमा २५ विकेट लिइसकेका छन्। २५ विकेटसहित दोस्रो स्थानमा रहेका सन्दीप लामिछानेपछि सर्वाधिक विकेट लिनेमा कप्तान मल्ल छन्। मल्लले २२ विकेट लिइसकेका छन्। धामी र मल्लको घातक बलिङ आर्मीका लागि खतरा बन्न सक्छ।
सुदूरपश्चिका लागि पनि आर्मीविरुद्धको खेल सहज हुने छैन। लिगका नौ खेलमध्ये ६ मा जित हात पार्दै सुदूरपश्चिमले १२ अंकसहित फाइनलको यात्रा तय गरेको हो। यसअघि लिगमा सुदूरपश्चिमले आर्मीसँग लज्जास्पद हार बेहोरेको थियो। सुदूरपश्चिमसामु आर्मीका बलर बसिर अहमद, साहब आलम, नरेन साउद, आकाश चन्द चुनौती बन्न सक्छन्। बसिरले यस प्रतियोगितामा १७ र साउदले १५ विकेट लिइसकेका छन्।
लिगको ३४औं खेलमा आर्मीसँग सुरुवाती ब्याटिङ गरेको सुदूरपश्चिम एक सय ५० रनमै समेटिएको थियो। उक्त खेल आर्मीले २०.२ ओभरमा तीन विकेट गुमाउँदै एक सय ५५ रन बनाएर जितेको थियो। त्यसैले कमजोर ब्याटिङ सुदूरपश्चिमका लागि चुनौती बन्न सक्नेछ। यसको विपरित साविक विजेता पुलिसलाई समेत लिगमा पराजित गरेको आर्मीले यसपटक सबै टोलीलाई दबाबमा राखेको थियो। त्यसैले पनि आर्मीलाई यसपटक उपाधिको बलियो दावेदारका रुपमा हेरिएको छ।
प्रधानमन्त्री कपको उपाधि विजेताले १० लाख र उपविजेताले पाँच लाख प्राप्त गर्नेछ। चैत ७ गतेबाट सुरु भएको प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टोलीको सहभागिता रहेको थियो। यस प्रतियोगिताको शीर्ष ६ मा रहने टोली जय ट्रफीमा छनोट भएका छन्। जय ट्रफीमा आर्मी र सुदूरपश्चिमसँगै एपीएफ, नेपाल पुलिस क्लब लुम्बिनी प्रदेश छनोट भएका छन्। अघिल्ला संस्करणमा शीर्ष चार टोलीले मात्रै जय ट्रफी खेल्न पाउँथे। जय ट्रफीका अन्य खेल दुईदिवसीय र फाइनल खेल तीनदिवसीय हुनेछ। खेलाडीलाई यो फरम्याटमा अभ्यस्त गराउनका लागि क्यानले जय ट्रफीको अवधारणा ल्याएको हो।
प्रतिक्रिया दिनुहोस !