सुनकोशी नदी दोहनले संकटमा पर्यटन व्यवसाय
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको सुनकोशी नदीमा दोहन बढेपछि पर्यटन व्यवसाय संकटमा परेको भन्दै व्यवसायीले चिन्ता व्यक्त गरेका छन् ।
चौतारा साँगाचोकगढी नगरपालिका–१० स्थित सुकुटे क्षेत्रलाई ११ महिनाअघि मात्र नगरपालिकाले औपचारिक रूपमा पर्यटन क्षेत्र घोषणा गरेको थियो ।
प्राकृतिक सौन्दर्य, नदी किनार र बगर क्षेत्रको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित गरिएको उक्त निर्णयप्रति स्थानीयस्तरमा आशा र उत्साह दुबै देखिएको थियो । तर, घोषणा भएको एक वर्ष नबित्दै सुकुटे क्षेत्रमै पुनः अनियन्त्रित रूपमा बगर उत्खनन सुरु भएको छ । नदी किनारबाट बालुवा र ढुंगा निकाल्ने गतिविधि तीव्र बनेसँगै पर्यटन व्यवसायी स्थानीयवासी, सरोकारवाला तथा विभिन्न समूहहरूबाट तीव्र विरोध सुरु भएको छ ।
पर्यटन क्षेत्र घोषणा गर्दा प्राकृतिक स्रोतको संरक्षण गर्ने, अवैज्ञानिक उत्खनन पूर्ण रूपमा नियन्त्रण गर्ने र दिगो विकासको मार्ग अपनाउने प्रतिबद्धता जनाइएको थियो । ‘पर्यटन क्षेत्र घोषणा गरेको सुकुटे क्षेत्रको सुनकोशी नदीमा कोशी नै फर्काएर उत्खनन् भईरहेको छ,’ पर्यटन व्यवसायी एवम् सुकुटे रिभर फन रिसोर्टका सञ्चालक ललित गिरी भन्छन्, ‘नगरले गरेको प्रतिबद्धता विपरीत नदी उत्खनन् भईरहँदा पनि मुकदर्शक बन्नु नगरपालिकाको निर्णय र कार्यान्वयन क्षमतामाथि गम्भीर प्रश्न खडा भएको छ ।’
नदी दोहन बढ्न थालेपछि स्थानीय आक्रोशित छन् । ‘पर्यटन क्षेत्र घोषणा गरेर ठूला भाषण गर्ने, तर केही समयमै त्यही क्षेत्रको प्राकृतिक स्रोत दोहन सुरु गर्ने प्रवृत्ति अत्यन्तै लज्जास्पद हो,’ एक स्थानीयले भने । स्थानीयले तत्काल उत्खनन रोक्न, दोषीमाथि कारबाही गर्न र पारदर्शी अनुगमन प्रणाली लागू गर्न माग गरेका छन् । नियमनकारी सरकारी निकायहरूको मौनता झनै शंकास्पद बनेको उनीहरुको आरोप छ ।
२०७२ वैशाख ७ गते सुकुटेलाई पर्यटन क्षेत्र घोषणा गर्दा नगरपालिकाले घोषणापत्र जारी गर्दै नदी संरक्षण र पर्यटनलाई व्यवस्थित गर्न करिडोर हरियाली अभियानसहित जैविक विविधता तथा पर्यावरण संरक्षण गरिने, निश्चित क्षेत्रलाई र्याफ्टिङ जोनका रूपमा विकास गरी नदीजन्य उत्खननलाई वैज्ञानिक व्यवस्थापन गरिने तथा सुकुटे क्षेत्रलाई जलबिहारको हब बनाउने भनेको थियो । तर अहिले नगरपालिकाले चासो नदिँदा नदी दोहन बढेको व्यवसायीहरुको भनाई छ ।
‘नगरपालिकाले यहाँका होटल, रिसोर्टबाट पर्यटन शुल्क उठाउँछ’, एक रिसोर्ट व्यवसायीले भने, ‘हामीले यहाँ पर्यटकलाई मुख्य गरी र्याफ्टिङ गराउँछौं, नदी दोहन भएपछि कसरी र्याफ्टिङ गराउनु र नगरलाई शुल्क तिर्नु ?’ यही अवस्था रहे व्यवसाय धराशयी हुने र नदीको अस्तित्व पनि संकटमा पर्ने उनको भनाई छ ।
‘विकास चाहिन्छ, तर वातावरण संरक्षण गर्न सकिएन वा विनास गर्न थालियो भने पर्यटक आगमनमा कमी आउनेछ । हाम्रा प्राकृतिक मनोरम दृश्यमा रमाउन भनेरै पर्यटक आउने हुन् । यसलाई मासेर पर्यटन प्रवर्द्धन हुँदैन,’ नदी संरक्षण अभियन्ता मेघ आले भन्छन्, ‘नदीमा हुने साहसिक जलयात्रा प्रवद्र्धन गर्न र यस क्षेत्रको पर्यटन व्यवसाय उकास्न नदी दोहन रोक्नुपर्छ ।’ उनले स्थानीय सरकारले पर्यटक भित्र्याउने लक्ष्य राखे पनि त्यसको बेवास्ता गरेर नदी दोहनको अधिकार दिइएको बताए ।
प्रतिक्रिया दिनुहोस !