२० वर्षीया युवतीले जितिन् मेटा र युट्युवविरुद्धको मुद्दा, भयो ३९ करोड क्षतिपूर्तिको आदेश

२० वर्षीया युवतीले जितिन् मेटा र युट्युवविरुद्धको मुद्दा, भयो ३९ करोड क्षतिपूर्तिको आदेश

काठमाडौं : सामाजिक सञ्जालको लत हाम्रा लागि कति खतरनाक बन्दैछ ? मेटा र युट्युबविरुद्ध एक युवतीले जितेको मुद्दाले सोच्न वाध्य बनाएको छ ।  अमेरिकाको लस एन्जलसको एउटा अदालतले सामाजिक सञ्जालको लतका कारण बालबालिकाको मानसिक स्वास्थ्यमा पुग्ने असरलाई लिएर एक ऐतिहासिक फैसला सुनाएको छ ।

अदालतले इन्स्टाग्रामको मातृ कम्पनी ‘मेटा’ र युट्युबको मालिक ‘गुगल’ लाई एक युवतीलाई बाल्यकालमै सामाजिक सञ्जालको लतमा फसाएको र उनको मानसिक स्वास्थ्यमा क्षति पुर्‍याएकोमा दोषी ठहर गरेको छ । अदालतले ‘केली’ नामकी एक २० वर्षीया युवतीलाई ३० लाख अमेरिकी डलर (करिब ३९ करोड नेपाली रुपैयाँ) क्षतिपूर्ति दिन आदेश दिएको छ । यो फैसलाले अमेरिकाका विभिन्न अदालतमा विचाराधीन सयौं यस्तै प्रकृतिका मुद्दाहरूका लागि ठूलो अर्थ राख्ने देखिएको छ ।

मेटा र गुगलको जिम्मेवारी

जुरीले यस क्षतिमा मेटालाई ७० प्रतिशत र युट्युबलाई ३० प्रतिशत जिम्मेवार ठह¥याएको छ । यसको अर्थ कूल क्षतिपूर्तिको अधिकांश हिस्सा मेटाले तिर्नु पर्नेछ । यसबाहेक, अदालतले ‘दण्डनात्मक क्षतिपूर्ति’ बारेमा निर्णय गर्न बाँकी छ, जुन राज्यको कानुन अनुसार ३ करोड डलरसम्म पुग्न सक्ने जनाइएको छ ।
 

मेटाका वकिलहरूले केलीको जीवनमा आएका समस्याहरूमा इन्स्टाग्रामको कुनै भूमिका नरहेको तर्क गरेका थिए । फैसलापछि मेटाले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हामी यस फैसलाप्रति असहमति जनाउँछौँ र हाम्रा कानुनी विकल्पहरूको मूल्याङ्कन गरिरहेका छौं ।’ यता गुगलका प्रवक्ताले पनि फैसलाप्रति असन्तुष्टि जनाउँदै पुनरावेदन गर्ने बताएका छन् । उनले युट्युब एक जिम्मेवार ‘स्ट्रिमिङ प्लेटफर्म’ भएको र यसलाई सामाजिक सञ्जालको रूपमा बुझ्न नहुने दाबी गरे ।

के थियो केलीको व्यथा ?
केलीका वकिलहरूले अदालतमा मेटा र युट्युबले ‘लत लगाउने मेशिन’ बनाएको र बालबालिकालाई आफ्नो प्लेटफर्ममा पहुँच रोक्न असफल भएको तर्क गरेका थिए । केलीले आफू ६ वर्षको हुँदा युट्युब र ९ वर्षको हुँदा इन्स्टाग्राम प्रयोग गर्न सुरु गरेको बताएकी थिइन्।

उनले बयानमा भनिन्, ‘सामाजिक सञ्जालमा धेरै समय बिताउन थालेपछि मैले परिवारसँग बोल्न छाडें ।’ १० वर्षको उमेरदेखि नै उनमा चिन्ता र डिप्रेसनको समस्या देखिन थाल्यो । पछि उनलाई ‘बडी डिस्मोर्फिया’ (आफ्नो शारीरिक रूपलाई लिएर अत्यधिक चिन्तित हुने र ऐनामा आफूलाई नराम्रो देख्ने मानसिक अवस्था) को समस्या भयो । उनले आफ्नो नाक सानो र आँखा ठूलो देखाउने इन्स्टाग्राम फिल्टरहरूको प्रयोगमा आफू झुम्मिएको स्वीकार गरिन् ।
 

केलीले कुनै दिन त १६ घण्टासम्म लगातार इन्स्टाग्राम चलाउने गरेको खुलासा भयो । इन्स्टाग्रामका प्रमुख एडम मोगेरीले यसलाई ‘समस्याग्रस्त’ भने पनि ‘लत’ मान्न अस्वीकार गरे । मुद्दाको सुनुवाइका क्रममा मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्गले १३ वर्षमुनिका बालबालिकालाई आफ्नो प्लेटफर्ममा अनुमति नदिने कम्पनीको नीति रहेको दाबी गरेका थिए । तर, कम्पनीका आन्तरिक दस्ताबेजहरूले मेटालाई साना बालबालिकाहरूले पनि एप प्रयोग गरिरहेको जानकारी भएको देखाएपछि उनी रक्षात्मक बनेका थिए ।

यस मुद्दामा सुरुमा ‘स्न्यापच्याट’ र ‘टिकटक’ लाई पनि प्रतिवादी बनाइएको थियो, तर उनीहरूले केलीसँग अदालत बाहिरै गोप्य सम्झौता गरिसकेका छन् । फोरेस्टरका रिसर्च डाइरेक्टर माइक प्रुलक्सले यो फैसलालाई सामाजिक सञ्जाल कम्पनीहरू र जनताबीचको सम्बन्धमा एउटा ‘ब्रेकिङ प्वाइन्ट’ (निर्णायक मोड) को रूपमा व्याख्या गरेका छन् । उनले भने, ‘सामाजिक सञ्जालप्रति वर्षौदेखि गुम्सिएको नकारात्मक भावना अब विष्फोट हुन थालेको छ ।’

केलीका वकिलहरूले यो फैसलाले बालबालिकाको सुरक्षाको सवालमा कुनै पनि कम्पनी जवाफदेहिताबाट उम्किन नसक्ने स्पष्ट सन्देश दिएको बताएका छन् । यो फैसला आएको एक दिनअघि मात्र न्यु मेक्सिकोको अदालतले पनि बालबालिकालाई यौनजन्य सामग्रीको जोखिममा पारेको भन्दै मेटालाई दोषी ठहर गरेको थियो । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.