रुबीकुमारीको ‘अप्रत्याशित’ राजनीतिक उडान : समर्थक हुँदै नीति निर्माणको थलोमा
यस्ता छन् संसदमा उठाउने रुबिका प्राथमिक एजेण्डाहरु
काठमाडौं : धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुरलाई ६ महिनाअघिसम्म आफू राजनीतिमा प्रवेश गरौंला र संसद छिरौंला भन्ने कल्पनासम्म थिएन। तर, त्यही सपनासम्म नदेखेको कुरा अहिले रुबीकुमारी विपनामै गर्दैछिन्।
हर्क साम्पाङ नेतृत्वको श्रम सँस्कृति पार्टीबाट समानुपातिक सांसद छानिएकी जेनजी सांसद रुबीकुमारीले निर्वाचन आयोगबाट प्रमाणपत्र समेत थापिसकेकी छन्। मधेसको विपन्न परिवारकी रुबीको छोटो समयको यो ‘अप्रत्याशित’ उडान निर्वाचन आयोगको प्रमाणपत्रसहित सांसदको शपथ ग्रहणको संघारमा आइपुगेको छ। रुबी चैत १२ गते सांसदको शपथ ग्रहण गर्दै नीति निर्माणको थलो संसद प्रवेश गर्दैछिन्।

मान्छेको जीवनमा कहिले, कसरी कुन मोड आउँछ कसैले यसै भन्न सक्दैन। धनुषाको एउटा सामान्य परिवारमा जन्मिएकी रुबीकुमारीको जीवनमा आएको परिवर्तन यसैको एउटा ज्वलन्त उदाहरण बनेको छ। केही महिनाअघिसम्म मासिक २० हजार रुपैयाँ कमाउँदै इन्जिनियरिङसम्बन्धी काममा व्यस्त एक युवती आज देशको सर्वोच्च नीति निर्माणको थलो संघीय संसद्को सदस्य बनिसकेकी छन्। वास्तवमा राजनीतिमा कहिले कसको उदय हुन्छ र को छायाँमा पर्छ यसै भन्न सकिँदैन। यसैले पनि भनिन्छ, नेता उत्पादन गर्ने कुरा हाेइन, नेता त समय आफैंले जन्माउँछ।
सांसदको शपथको तयारीमा रहेकी उनी भन्छिन्, ‘आफ्नै मातृभाषा मैथिलीमा शपथ लिने कि भन्ने सोंचेको छु, त्यसैले पार्टी अध्यक्षसहित अन्य नेताहरूसँग सल्लाह लिइरहेको छु। अहिले नै ‘फिक्स’ भइसकेको छैन।’ यसपटक २४ सांसद मातृभाषमा शपथ लिने तयारीमा छन्। सांसदको आफ्नो शपथमा आमालाई ल्याउने मन भए पनि घरायसी व्यस्तताका कारण आमा आउन नपाउने रुबी सुनाउँछिन्। उनले भनिन्, ‘घरको सबै व्यवहार चलाउने आमा नै हुनुहुन्छ, उहाँ आउन सक्नु हुन्न। दिदी लिलालाई धनुषाबाट काठमाडौं बोलाएको छु।’
रुबीका बुबा वैदेशिक रोजगारीका लागि साउदीमा छन्। उनी छोरीको शपथ ग्रहणअघि नै छुट्टी मिलाएर आउन चाहे पनि मध्यपूर्वी देशमा चर्केको युद्धका कारण विमानको टिकट नपाएर उतै अड्किएका छन्। रुबी भन्छिन्, ‘बाबा मेरो शपथ ग्रहणमा आइनपुगे पनि दुई महिनाको बिदा लिएर यही चैत महिनाभित्र घर आउँदै हुनुहुन्छ।’ बाबा छुट्टीमा आए पनि दुई महिना जति बर्सेर फेरि फर्किने जानकारी दिँदै उनले भनिन्, ‘आमा एक्लैलाई घरखर्चको जोहो गर्न समस्या छ, भाइहरू, दिदी र आफू समेत पढिरहेकाले त्यसकै जोहोका लागि पनि बाबा फेरि साउदी नै फर्किनु हुन्छ।’

आफ्नो राजनीति प्रवेशलाई लिएर बाबा निकै खुसी रहेको जानकारी दिँदै रुबीले भनिन्, ‘छोरी तिमीले राम्रो काम गरिरहेकी छौं, अझै राम्रो गर्नु, देशको सेवा गर्नू। समाजमा भ्रष्टाचार व्याप्त छ, हटाउन प्रयत्न गर्नू। मधेसमा शिक्षा, स्वास्थ्य र गरिबीको समस्या छ, यस विषयमा लाग्नु भन्नु हुन्छ।’ बाबाले फोनबाट दिएको यो आशीर्वादले समेत आफूमा ऊर्जा थपिरहेको रुबी बताउँछिन्। वास्तवमा रुबीको यो यात्रा केवल व्यक्तिगत सफलता मात्र होइन, सामाजिक संरचना, वर्गीय यथार्थ, लैङ्गिक असमानता र वैदेशिक रोजगारीको पीडाबीच जन्मिएको एउटा प्रेरणादायी कथा पनि हो।
विद्रोही बाल्यकाल
जनकपुरधाम उपमहानगरपालिका-१४, धनुषाकी रुबीकुमारीको बाल्यकाल सामान्य थिएन। ठूलो परिवार, सीमित आर्थिक स्रोत र सामाजिक दबाबबीच हुर्किएकी उनी सानैदेखि फरक सोच राख्ने स्वभावकी थिइन्।
उनको परिवारमा ६ दाजुभाइ-दिदीबहिनी छन्। बुबा साउदी अरबमा मजदुरीका लागि पुगेका छन् भने आमा गृहिणी हुन्। परिवारको मुख्य आम्दानीको स्रोत बुबाले विदेशबाट पठाउने रेमिट्यान्स र स्थानीयस्तरमा गरिने खेतीपाती नै हो। यस्तो अवस्थामा छोरीको पढाइभन्दा छिट्टै बिहे गरिदिने सोच समाजमा सामान्य हो।
रुबी सानै हुँदा नै उनका लागि विवाहका प्रस्ताव आउन थालेका थिए। आफन्त र गाउँलेहरूले रुबीका आमा-बुबालाई ‘छोरीको छिट्टै बिहे गर’ भन्ने दबाब दिन्थे। तर, रुबीले त्यो दबाब अस्वीकार गर्दै आइन्। उनले बालविवाहको पीडा आफ्नै वरपर देखेकी थिइन्। अधुरो शिक्षा, हिंसा, आर्थिक निर्भरता र सपनाको अन्त्य रुबीले आफ्नै आँखाले देखेकी छन्। त्यसैले उनले अडान राखिन्, ‘पहिले देशको सेवा गर्छु, अनि मात्र विहे ।’ यो अठोट उनको भावना मात्र थिएन, जीवन दृष्टिकोण थियो। धेरै पटकको प्रतिवादपछि उनले आफूलाई बालविवाहबाट जोगाउन सफल भइन्।
शिक्षा र आत्मनिर्भरता
रुबीले स्थानीय विद्यालयबाट एसईई उत्तीर्ण गरेपछि धनुषाकै बलरा पोलिटेक्निकबाट डिप्लोमा इन इन्जिनियरिङ अध्ययन गरिन्। अध्ययन पूरा गरेपछि उनी एउटा कन्सल्टेन्सीमा ‘वास्तु आर्किटेक्चर’ सम्बन्धी काम गर्न थालिन्। उनले नक्सा बनाउने, टूडी र थ्रिडी डिजाइन गर्नेजस्ता प्राविधिक काम गर्दै करिब सात महिनासम्म मासिक २० हजारको जागिर खाइन्। त्यो आम्दानी केवल व्यक्तिगत आवश्यकताका लागि मात्र होइन, परिवारको दायित्व पूरा गर्न पनि सहयोगी बन्थ्यो।
‘थोरै खर्च राखेर बाँकी पैसा घरमा दिने गर्थें’, उनले फोनवार्तामा सुनाइन्। आर्थिक अभाव, पढाइ र परिवारको जिम्मेवारीबीच सन्तुलन कायम गर्नु उनका लागि सजिलो थिएन। तर, यही संघर्षले उनलाई अझ बलियो मात्र बनाएन, संसदको ढोका उघार्नसमेत सहयोगीसिद्ध भयो।
सामाजिक चेतनाबाट राजनीतिमा अघि बढेको पाइला
रुबीको सोच व्यक्तिगत सफलताभन्दा धेरै माथि उठेको थियो। उनले समाजमा व्याप्त विभेद्, दाइजो प्रथा, बालविवाह र बेरोजगारीलाई नजिकबाट सुनेकी मात्र छैनन्, देखेकी समेत छिन्। विशेष गरी मधेसमा रहेका यी समस्याले उनलाई गहिरो प्रभाव पारेका थिए। उनको राजनीतिक यात्रा योजनाबद्ध होइन र थिएन। सामाजिक सञ्जालमार्फत उनले धरानका मेयर हर्क साम्पाङका कामहरू नियाल्दै आएकी थिइन्। उनलाई साम्पाङको ‘काम गर्ने शैली’ र दृष्टिकोण मन परेको थियो।
जब साम्पाङ चुनावी अभियानका क्रममा धनुषा पुगे, रुबीले पहिलो पटक उनलाई भेटिन्। त्यो भेट नै उनको जीवनलाई राजनीतिमा डोर्याउने मोड बन्यो। ‘उहाँका कुरा सुनेपछि केही गर्न सकिन्छ भन्ने मनमा लाग्यो’, उनले आफू राजनीतिमा प्रवेश गर्दैगर्दाको अवस्थाबारे सुनाइन्। त्यसपछि उनी सक्रियरूपमा चुनावी अभियानमा होमिइन्। घरदैलो कार्यक्रम, मतदाता भेटघाट र प्रचारप्रसारमा उनी अग्रमोर्चामा खटिन्।
समर्थक हुँदै सांसदसम्म
रुबीको कुनै स्थापित राजनीतिक परिवार वा दलसँग कुनै साइने थिएन। तर, उनको सक्रियता, स्पष्ट सोच र जनसम्पर्क क्षमताले पार्टी नेतृत्वको ध्यान खिच्यो। रुबीले राजनीतिमा छोटै समयमा सम्भावना देखाइन्। अनि श्रम सँस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पनि मधेसको एक ‘कोहिनुर हिरा’लाई चिने।

अन्ततः श्रम संस्कृति पार्टीले उनलाई समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्यका रूपमा सिफारिस गर्यो । याे निर्णय उनका लागि पूर्णतः अप्रत्याशित थियो। थोरै समानुपातिक सांसदको कोटामा सबैलाई मिलाएर छान्नुपर्दा केही समय श्रम सँस्कृति पार्टीमा ‘माथापच्ची’समेत चल्यो। अध्यक्ष राईले समानुपातिकको निर्णय लिए।
त्यसपछि भने सूचीको नामलाई लिएर असन्तुष्टि सुनिएन, बरु प्रशंसा भयो। साम्पाङले रुबीलाई समानुपातिकमा छान्दै गर्दा पार्टीले सामाजिक न्याय गरेको भन्दै सामाजिक सञ्जालहरूमा श्रम सँस्कृति पार्टीको निर्णयको प्रशंसा भयो। रुबी भन्छिन्, ‘म सामान्य परिवारको मान्छे हुँ, सांसद बन्छु भन्ने त कल्पना समेत गरेको थिइनँ।’ तर, यही ‘सरप्राइज’ सफलताले उनलाई देशकै कान्छी सांसदमध्ये एक बनाएको छ।
परिवारले दिएको आँट र साथ
रुबीको अहिलेको सफलताको पछाडि परिवारको ठूलो भूमिका र त्याग छ। विशेष गरी उनका बुबा, जो दशकदेखि साउदीमा मजदुरी गर्दै आएका छन्। उनका बुबा अहिले पनि विदेशमै छन् र मध्यपूर्वी देशहरूमा भइरहेको युद्धका कारण विमानस्थल बन्द हुँदा घर फर्किन समस्या भइरहेको छ। रुबी भन्छिन्, ‘तत्काल नभए पनि केही वर्षमा बुबालाई घर फर्काउने हो।’
यदि स्वदेशमै रोजगारीको अवसर भएको भए उनका बुबाले विदेश जानु नपर्ने उनी बताउँछिन्। ‘मेरो बुबाजस्ता हजारौं नेपाली विदेशमा छन्। उनीहरूलाई स्वदेशमै फर्काउने वातावरण बनाउन चाहन्छु, यसका लागि खट्ने छु’ उनले भावी योजना खुलाइन्।
के-के हुनेछन् संसदमा रुबीका प्राथमिक एजेण्डा?
सांसद रुबीले आफ्ना प्राथमिकताहरू स्पष्ट रूपमा तय गरिसकेकी छन्। पहिलो नम्बरमा उनले दाइजो प्रथाविरुद्धको अभियानलाई राखेकी छन्। मधेसमा अझै पनि दाइजो प्रथा गहिरोसँग जरा गाडेर बसेको उनी बताउँछिन्। कानुनले निषेध गरे पनि व्यवहारमा यो व्यापक रहेको उनी सुनाउँछिन्। यसले महिलामाथि आर्थिक, मानसिक र शारीरिक हिंसा बढाइरहेको रुबीको भनाइ छ।
त्यस्तै उनले बालविवाह अन्त्यलाई दोस्रो स्थानमा राखेकी छन्। १६ वर्ष नपुग्दै विवाह गरिने चलन अझै कायम छ। यसले शिक्षा, स्वास्थ्य र भविष्य सबैलाई असर गर्ने रुबीको बुझाइ छ। तेस्रोमा वैदेशिक रोजगारीको विकल्पलाई रुबीले राखेकी छन्। स्वदेशमै रोजगारी सिर्जना गरेर युवालाई विदेशिनबाट रोक्ने उनको प्रमुख लक्ष्य हो।
चौथोमा शिक्षा सुधार रुबीको एजेण्डा हो। मधेस क्षेत्रमा शिक्षाको अवस्था कमजोर रहेको भन्दै उनले यसलाई सुधार गर्ने योजना बनाएकी छन्। उनले भनिन्, ‘म केही दिन अगाडि मात्र धनुषाका विभिन्न विद्यालयमा पुगेको थिएँ, त्यहाँ शिक्षाको अवस्था दयनीय छ, मैले पनि यस्तै अवस्था भोगेको छु। यसलाई सुधार गर्न केही सकिन्छ, म त्यसमा लाग्छु।’
संसदमा ‘सप्तरङ्गी’ उपस्थिति
यस पटकको समानुपातिक प्रणालीबाट संसदमा विविध पृष्ठभूमिका महिलाहरूको उपस्थिति राम्रो देखिएको छ। विभिन्न जाति, समुदाय, पेशा र अनुभव भएका महिलाहरूले प्रतिनिधित्व गरेका छन्। काखमा बच्चा च्यापेर प्रमाणपत्र लिन आउनेदेखि लिएर नर्सिङ पेशामा आबद्ध महिलासम्म, समाजका विभिन्न तहबाट आएका प्रतिनिधिहरू संसदमा पुगेका छन्।
यसले लोकतन्त्रको समावेशी चरित्रलाई अझ बलियो बनाएको छ। यो प्रतिनिधिसभामा २० जना बाहेक सबै जना पहिलो पटक सांसद् भएका व्यक्तिहरू छन्। २० मध्ये आधाजसो अघिल्लो पटक रास्वपाबाट निर्वाचित सांसदहरू हुन्। प्रत्यक्षमा मात्रै होइन, समानुपातिकमा पनि केही सीमित व्यक्तिबाट सबैजसो नयाँ सांसदहरू छन्।
२१ फागुनको निर्वाचनमा नेकपा अध्यक्ष प्रचण्ड र नेता वर्षमान पुनबाहेक सबैजसो पुराना नेताहरू प्रत्यक्ष निर्वाचनबाट पराजित भए। समानुपातिकमा केही सीमित अनुहार दोहोरिएका छन्। तीबाहेक अरु सबै सांसदहरू नयाँ छन्। केही सीमितबाहेक २०४६ सालको परिवर्तनपछि सदाबहार राजनीतिमा रहेका धेरै नेताहरू यसपटक पराजित भएका छन्। निर्वाचित अधिकांश यसअघि राजनीतिमा नदेखिएका र नसुनिएकाहरू हुन्, जसको आवाज अब सोझै संसदमा पुग्नेछ।
प्रतिनिधिसभामा ९४ जना सांसदहरू ४० वर्षमुनिका छन्। आधाभन्दा बढी सांसदहरू ४५ वर्षमुनिका छन्, जसमा अधिकांश २०४६ सालको परिवर्तनपछि जन्मेकाहरू पर्छन्। १९ जना सांसदहरू ३० वर्षमुनिका छन्। ६० कटेका सांसदहरूको संख्या ३० मात्रै छ। प्रत्यक्ष र समानुपातिक सांसदहरूको औसत उमेर नै ४५ वर्ष ४ महिना छ। नेपाली कांग्रेसबाट समानुपातिकमा चयन भएका अर्जुननरसिंह केसी (७८ वर्ष) ले ज्येष्ठ सदस्यको हैसियतले प्रतिनिधिसभाको पहिलो बैठक चलाउने छन्। ७० कटेका सांसदहरू पाँच जना छन्।
रास्वपाले प्रत्यक्षमा १२५ र समानुपातिकमा ५७ गरी कुल १८२ सिट पाएको छ। अघिल्लो पटकको तुलनामा रास्वपाले १०४ सिट बढी पाएको हो। नेपाली कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी कुल ३८ सिट पाएको छ। उसले अघिल्लो पटकको तुलनामा ७० सिट गुमाएको छ।
एमालेले प्रत्यक्षमा ९ र समानुपातिकमा १६ गरी कूल २५ सिट पाएको छ, जुन अघिल्लोको तुलनामा ७० सिट कम हो। नेकपाले प्रत्यक्षमा ८ र समानूपातिकमा ९ गरी कूल १७ सिट पाएको छ, जुन अघिल्लोको तुलनामा २४ सिट कम हो। श्रम संस्कृति पार्टीले प्रत्यक्षमा ३ र समानुपातिकमा ४ गरी कूल ७ सिट पाएको छ। राप्रपाले प्रत्यक्षमा १ र समानुपातिकमा ४ गरी कुल ५ सिट पाएको छ। म्याग्दीबाट महावीर पुन निर्वाचन जित्ने एक मात्रै स्वतन्त्र उम्मेदवार हुन्।
शिक्षा र राजनीति सँगै
रुबीले आफ्नो अध्ययनलाई सांसद भए पनि अगाडि बढाउने योजना बनाएकी छन्। उनी भविष्यमा ब्याचलर इन इन्जिनियरिङ गर्ने सोचमा छिन्। उनले सुनाइन्, ‘देशका लागि राजनीति र जीविकाका लागि इन्जिनियरिङ दुवै सँगै लैजान्छु।’ सानै उमेरमा विवाहको दवाव पन्छाएर यहाँसम्म आइपुगेकी रुबी आगामी पाँच वर्ष पूर्ण रूपमा संसद्लाई दिने र त्यसपछि मात्र व्यक्तिगत जीवनबारे सोच्ने बताउँछिन्।
रुबीकुमारी ठाकुरको कथा केवल एक व्यक्तिको सफलता मात्र होइन। उनले प्रमाणित गरेकी छन् कि राजनीति गर्न ‘नेपो बेबी’ नै हुन पर्दैन। पहुँच वा पारिवारिक शक्ति बिना पनि इमानदार प्रयास, स्पष्ट सोच र प्रतिबद्धताले ठूलो स्थान हासिल गर्न सकिन्छ। उनी भन्छिन्, ‘धेरै कुरा सिक्नु छ, राजनीतिकबारे धेरै ज्ञान छैन्। तर, म मेरो क्षेत्र र सामाजको लागि सधैं लागि पर्नेछु।’
प्रतिक्रिया दिनुहोस !