धर्मेन्द्र प्रधानको राजीनामा मोदीको सोच विचारसहितको रणनीति हो ? यस्तो छ भित्रि कथा
भारत : निट प्रश्नपत्र लिक प्रकरणलाई लिएर देशभर विद्यार्थी आन्दोलन चर्किरहेका बेला भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् । आन्दोलन सुरु भएदेखि नै विद्यार्थीहरूले उनको राजीनामाको माग गर्दै आएका थिए । आफ्ना निर्णयमा अडिग रहने छवि बनाएका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकार यस विषयमा अन्ततः पछि हट्न बाध्य भएको देखिएको छ ।
उच्च सरकारी स्रोतहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार सरकारको यो निर्णय योजनाबद्ध रणनीतिको हिस्सा हो । यसको मुख्य उद्देश्य विद्यार्थीहरूको असन्तोषलाई राजनीतिक वा भारतविरोधी शक्तिहरूले आफ्नो स्वार्थका लागि प्रयोग गर्न नपाऊन् भन्ने रहेको बताइएको छ ।
सरकारले कमजोरी स्वीकार गरेको दाबी
धर्मेन्द्र प्रधानको भावुक वक्तव्य
राजीनामाको घोषणा गर्दै धर्मेन्द्र प्रधानले भावुक वक्तव्य दिएका छन् । उनले पछिल्ला १० दिनका घटनाक्रमले आफूलाई अत्यन्त दुःखी बनाएको उल्लेख गर्दै यो विषय आफ्नो व्यक्तिगत प्रतिष्ठाभन्दा पनि देश र विद्यार्थीहरूको भविष्यसँग जोडिएको बताएका छन् ।
उनले भनेका छन्, ‘म कुनै पनि देशविरोधी शक्तिले यो संवेदनशील अवस्थाको फाइदा उठाओस् भन्ने चाहन्नँ । देशको एकता अक्षुण्ण रहोस् र कुनै पनि निर्दोष विद्यार्थीको भविष्य कानुनी झमेलामा नफसोस् । विद्यार्थीहरूले आफ्नो बहुमूल्य समय अध्ययन र भविष्य निर्माणमा खर्च गरून् भन्ने मेरो चाहना हो । यही सोचका साथ मैले माननीय प्रधानमन्त्रीसमक्ष आफ्नो राजीनामा बुझाएको हुँ ।’
सीएनएन न्यूजको रिपोर्टअनुसार एक वरिष्ठ सरकारी अधिकारीले सरकार आन्दोलनरत विद्यार्थीहरूलाई कुनै पनि राजनीतिक स्वार्थका लागि प्रयोग हुन नदिन सुरुदेखि नै गम्भीर रहेको बताएका छन् ।
उनले भनेका छन्, ‘सरकार विद्यार्थीहरू कसैको ‘सफ्ट टार्गेट’ नबनून् भन्ने चाहन्थ्यो । उनीहरूको मुख्य माग पूरा गरेर लामो आन्दोलन अन्त्य होस् र विद्यार्थीहरू पुनः आफ्नो अध्ययनमा फर्कून् भन्ने सरकारको उद्देश्य थियो ।’ सरकारको यो कदम जन्तर–मन्तरलगायत स्थानमा भइरहेको आन्दोलन शान्त पार्ने तथा भारतविरोधी भनिएका अभिव्यक्तिहरूलाई रोक्ने कूटनीतिक प्रयासका रूपमा पनि हेरिएको छ ।
परीक्षा प्रणालीमा व्यापक सुधारको तयारी
धर्मेन्द्र प्रधानको राजीनामापछि सिर्जित राजनीतिक विवाद केही मत्थर बनेसँगै केन्द्र सरकारले अब परीक्षा प्रणालीमा संरचनात्मक सुधार गर्ने तयारी अघि बढाएको बताइएको छ ।
सरकारको योजनाअनुसारः
–राष्ट्रियस्तरका प्रमुख प्रतियोगी परीक्षाहरू क्रमशः कम्प्युटर आधारित परीक्षा प्रणालीमा रूपान्तरण गरिनेछ ।
–यसबाट प्रश्नपत्र लिक हुने सम्भावना न्यून गर्ने लक्ष्य राखिएको छ ।
–नेशनल टेस्टिङ एजेन्सीलगायत सम्बन्धित निकायहरूको निगरानी र उत्तरदायित्व अझ सुदृढ बनाइने योजना रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस !