मतदाताको मनस्थिति
मुलुक फेरि एकपटक चुनावमय बनेको छ। आसन्न प्रतिनिधिसभा निर्वाचनका बारेमा दोधारमा परेको छु के गरुँ र के नगरुँ भनेर। किनभने म पनि एक आम मतदाता हुँ। मैले पनि भोट हाल्नु छ फागुन २१ गते। पक्कै हो, निर्वाचन भनेको केवल आफ्ना प्रतिनिधि चुन्ने औपचारिक प्रणालीमात्र होइन, जनताको विवेकको मापन गर्ने सूचक पनि हो।
देश र जनताको भाग्य र भविष्य निर्धारण गर्ने अवसर पनि हो। यो अवसरमा मैले आफ्नो विवेकको पूर्ण पालना गर्नुपर्छ। तर म मेरो विवेकको पालनामा इमानदार हुन सक्छु भन्ने कुरामा म आफैं विश्वस्त हुन सकिरहेको छैन। धेरै कुराहरूले मलाई मानसिकरूपमा दबाब र प्रभाव पारिराखेका छन्। त्यही दबाब र प्रभावमा परेको छु म। एकातिर संविधानप्रदत्त आफ्नो मताधिकार प्रयोग गर्ने अवसर। अर्कोतिर आफ्नो विवेकको प्रयोग गर्ने अवसर। अनि आफ्ना लागि उपयुक्त प्रतिनिधि चुन्ने अवसर। यी अवसरबाट बञ्चित हुनु हुँदैन भन्ने थाहा हुँदाहुँदै पनि म दोधारमा छु कि फागुन २१ गते म भोट हाल्न जाऊँ कि नजाऊँ ?
भोट हाल्न नजाऊँ आफ्नै मताधिकारबाट आफैं वञ्चित भइने। भोट हाल्न जाऊँ आफ्नै खुट्टामा आफैंले बन्चरो हानेजस्तो पछुतो पनि हुने। ओहो ! कस्तो धर्मसंकट हो यो ? धेरै पटक भोट हालिसकियो। अझै पनि कसैले केही गरेनन् भन्ने अरूका जस्तै गुनासा र निराशा छन् मसँग पनि। अब त केही गर्लान् भन्ने आशा पनि छ मसँग। यही आशा र निराशाको दोसाँधमा उभिएर आज मैले एउटा अहम् निर्णय गर्नु परेको छ। अन्तत: म विगतलाई बिर्सिएर नयाँ आशा र उत्साहले अभिप्रेरित भएर भोट हाल्न जाने निर्णयमा पुग्छु।
टोलमा चुनावी नारा घन्किएको छ। चुनावी गीत पनि बजेको छ। पार्टी र उम्मेदवारको जयजयकार पनि भएको छ। फरक–फरक पार्टीका मान्छे भोट माग्दै आउँछन्। चुनावी नारा लाउँछन्। विभिन्न आशा र सपनाका पुलिन्दा बाँड्छन् र जान्छन्। कुन राम्रो ? कुन नराम्रो ? कसको कुरा सही ? कसको कुरा गलत ? कुन आधारमा मूल्यांकन गर्ने ? विगतको कामलाई हेर्ने हो भने कुनै पार्टी लायकका छैनन। कुनै उम्मेदवार योग्य छैनन्। सबै लुच्चा, फटाहा र घुस्याहा छन्। तर तिनै लुच्चा, फटाहा र घुस्याहामध्येबाट कम लुच्चा, कम फटाहा र कम घुस्याहालाई चुन्नुपर्ने बाध्यता छ। ‘म कसैलाई भोट हाल्दिनँ’ भन्ने छनोटको अवसर अझै पाउन सकेका छैनौं हामी नेपाली मतदाताले।
कोही आउँछन् र भन्छन्, म यस्तो छु र उस्तो छु। म यसो गर्छु र उसो गर्छु। मेरो यस्तो योजना छ र उस्तो योजना छ। अर्को आउँछन् त्यस्तै कुरा गर्छन्। गर्दिनँ भन्ने कोही छैनन् र गरिदिने पनि कोही छैनन्। यही रिक्तता हामीले बर्षौं भोगिसक्यौं। अब त साँच्चै केही गर्ने उम्मेदवारलाई चुन्नुपर्छ हामीले। को छ त हामीले चुन्नलायकको त्यस्तो मान्छे। यसो उम्मेदवारहरूको नाउँ पढ्छु र अनुहार हेर्छु। सबै परिचित नाउँ, परिचित अनुहार।
विगतमा बदनाम भएका नाउँ र बदनाम भएका अनुहार नै धेरै छन्। चुनावमा यसैगरी हात जोड्दै मुस्कुराउँदै आएका। अनेकौं सपना र आश्वासन बाँडेका। तर चुनावपछि हाम्रा घरदैलामा फर्केर पनि नआएका। फेरि पनि तिनैलाई आफ्नो अमूल्य मत दिएर त्यो अमूल्य मतको अवमूल्यन कसरी गर्नु ? फेरि यसो भनेर आफ्नो मताधिकारको उपयोग नगर्नु पनि बुद्धिमानी होइन ! कस्तो धर्म संकटमा पारिदिएको यी राजनीतिक पार्टी र उम्मेदवारहरूले। यसपालि जेन—जी आन्दोलनले चिनाएका आशालाग्दा केही नयाँ अनुहार पनि छन्। तर त्यो आशाको आधारशिला भने बनिसकेको छैन। तीप्रति नयाँ आशा र भरोसा भने छ। यही आशा र भरोसाले भोट हाल्ने उत्साह थोरै बढेको पनि छ।
अघिल्लो चुनावमा दलीय गठबन्धन बनेको थियो। त्यो बेला मतदाताका आफ्नो आस्थाको पार्टी एउटा थियो। भोट चाहिँ अर्कै पार्टीको उम्मेदवारलाई हाल्नुपर्ने अवस्था थियो। नैतिकता नै बिर्सेर भोट हाल्नु परेको थियो। यसपालि त्यस्तो चिन्ता छैन। आफ्नो आस्थाको पार्टीको उम्मेदवारलाई नै भोट हाल्नुपर्छ भन्ने मान्यतालाई पनि त्यागेर यसपालि सही उम्मेदवारलाई भोट हाल्ने सोच बनाएको छु। तैपनि मन विश्वस्त हुन सकेको छैन। हिजोका नेताहरूको अनुहार सम्झिन्छु। एक–एक नेताका अनुहार आँखामा आउँदै–जाँदै गर्छन्। सबै उस्तै लाग्छन्। भ्रष्ट, बेइमान र कर्तव्यच्युत। आफ्नो जिम्मेवारी निर्वाहमा चुकेका अक्षम नेताका अनुहार सम्झेर एकछिन निराश हुन्छु।
पुराना अनुहार। नयाँ अनुहार। अनुहारमात्रै फरक। व्यवहार र आचरण सबैका उस्तै लाग्छन्। हिजोका नेता भ्रष्ट, बेइमान र कर्तव्यच्युत थिए। आजका नेता पनि उस्तै भ्रष्ट, बेइमान र कर्तव्यच्युत नै बन्ने हुन्। त्यस्तो बन्दैनन् भन्ने कुनै आधार छैन। विश्वासको कुनै बलियो आधार छैन। मन दोधारमा छ।
राति सुत्दा पनि आँखामा नेताका अनुहार घुम्न थाल्छन्।
...म भोट हाल्ने लाइनमा छु। उत्साहित वातावरण देख्दा यस्तो लाग्छ, मतदाताहरूको मन पनि उत्साह र उत्सुकताले भरिएको छ। अनि कसैकसैको मन चाहिँ प्रश्नैप्रश्नले भरिएको छ। कसलाई भोट दिऊँ ? कसलाई नदिऊँ ? किन दिऊँ ? किन नदिऊँ ? सोच्दासोच्दै नेताका कुटिल अनुहार आँखामा घुम्न थाल्छन्। विगतमा तिनले गरेका वाचा र तिनले दिएका आश्वासन याद आउँछ। देशको अवस्थाको याद आउँछ। देशको शासन–व्यवस्थाको याद आउँछ। यीसँगसँगै जेन—जी आन्दोलनका क्रममा गोली लागेर मरेका कलिला विद्यार्थीको अनुहार याद आउँछ। अनि रिस, घृणा, आक्रोश र आवेगले हात थररर काम्न थाल्छ। कामेको हातले ड्याम्म स्वस्तिक छाप लाउँछु। त्यो छाप दुइटा चिह्नको बीचमा पर्छ। लौ बरबाद ! म स्वागत भन्छु।...
म झल्याँस्स हुन्छु। म तर्कनामा डुबेछु। साँच्चै मैले मतदान गर्ने बेलामा यस्तै भयो भने ? अर्थात् हामी सबैले मतदानगर्ने बेलामा यस्तै भयो भने ? ...!
प्रतिक्रिया दिनुहोस !