चाडबाडमा दाँतको स्वास्थ्य
चाडपर्वमा सही रूपमा प्रयोग गर्नुपर्ने अंग भनेको दाँत हो। हुन त दाँतको महत्त्व हरेक पलमा छ। तथापि मीठो र स्वादिलो कुरा खाने, मुसुक्क मुस्कुराउने तथा दिल खोलेर हाँस्ने, सामाजिक जमघटमा निर्धक्क, स्पष्ट बोल्ने र गलल्ल हाँस्ने चाड दसैं, तिहारलगायत चाडपर्वमा दाँतको महत्त्व झनै प्रष्टिन्छ। लाग्छ, यी चाडवाडको समयमा दाँतलाई स्वस्थ र काम गर्ने अवस्थामा राख्नु भनेको आधा बढी उत्सव मनाउनु जस्तै हो।
चाडबाडमा आफन्तसँग भेटघाट गरेपछि विभिन्न स्वादमा परिकार खाने गरिन्छ। सुरुआतपछि नुन, तेल, चिनी, मसला सबै परिकारमा रहने हुँदा थोरै थोरै खाँदा पनि अत्यधिक हुन जान्छ। नियमित गरिने व्यायाम र कसरत छुट्छन्। विशेषतः बिदा र रमझमले मुख, दाँत तथा बंगाराले आराम पाउने सम्भावना कम हुन्छ। त्यसैले मुख तथा दन्त स्वास्थ्यलाई बेवास्ता गर्न हुँदैन, मिल्दैन र सकिँदैन पनि। चाडपर्व जमघट भन्ने बित्तिकै पहिलो ध्यान खानेकुरामा पुग्छ। त्यसमा जमघट र मासुको सम्बन्ध नङ र मासुको जस्तो छ। उपभोग गर्ने मासु अस्वस्थ भइदिए १ सय ६० प्रकारका रोगले आक्रमण गर्न सक्छन्। पोलेका मासुका परिकार खाँदा दाँतमा अड्किने सम्भावना धेरै रहन्छ।
तातो रसले मुखभित्रको छालालाई असर गर्छ। सुपारी, छुर्पी र हाडजस्ता कडा खालले दाँत नै भाँच्चिने सम्भावना रहन्छ। चुरोट, हुक्काको सेवनले मुखभित्रका मांसपेशीलाई सुक्खा बनाउने काम गर्छ, अमिला अचारका परिकार, कोल्ड ड्रिंक्स अर्थात् पेय पदार्थहरूले दाँतमा झन्झनाहट, चिसो लाग्ने बनाउँछ। चाकु, कसार, ठकुवा, पुष्टकारीजस्ता कडा वा टाँसिने परिकारले सिमेन्ट निकाल्ने, राखेको क्राउन वा ब्रिज निक्लने सम्भावना रहन्छ।
दाँत दुख्ने कारण विभिन्न भए पनि चाडवाडका बेलामा हुन सक्ने प्रमुख कारणमा धेरै साह्रो कुरा जस्तै मासुको हड्डी, खाना खाएपश्चात् खाइने सुपारी छुर्पी चपाउँदा दाँत चोइटिन सक्छ। सानो चोइटाईले दाँत तातो, साह्रो चिसो खाँदा लाग्ने वा सिरिङ सिरिङ भए पनि ठूलो चोइटाईले दाँतको भित्री भाग देखिई खपी नसक्नुको पीडा हुन सक्छ। गिजा तथा जिब्रोमा घाउ बनाउन सक्छ। थरीथरीका तथा नयाँ नयाँ स्वादिला परिकार खानेबेला पनि दुई दाँतको बीचमा खाना अड्किन सक्छ। पहिले नै चेप छ वा किराले खाएको अवस्था छ भने झनै खाना अड्किन्छ र छिट्टै नै दन्त सड्नले पीडा दिन सक्छ।
अड्किएका खाना समयमै सफा नगरे कुहिन थाल्छ र अम्ल निकाल्छ। कुहिएको खाना र अम्लले दाँतलाई पनि कुहाएर पीडा दिन्छ। गिजामा समेत संक्रमण बनाउँछ। गिजा संक्रमित हुँदा गिजा सुनिने, खुकुलो हुने, रातो वा नीलो हुने, रगत बग्ने र हड्डी कमजोर हुन जान्छ। हड्डी नै कमजोर भएपछि दाँत हल्लिने, दुख्ने, चपाउन नसक्ने र टनटन, चसचस दुख्न थाल्छ।
समस्या र रोकथाम : चाडबाड तथा बिदाका बेला दाँतका अस्पताल र क्लिनिक कमै खुल्छन्। त्यसैमा इष्टमित्र धान्न जाने कि अस्पताल ? मीठो कुरा खाएर गफिँदै मज्जाले तास, लुडो र अन्य मनोरञ्जन गरी बस्ने कि अस्पताल जाने ? टीका टालो र आर्शीवाद लेनदेनमा संलग्न हुने कि अस्पताल ? पिङ खेल्न जाने कि अस्पताल ? रोग लागिसकेपछि रोगको उपचार गर्नुभन्दा रोग लाग्न नै नदिनु अति नै उत्तम तथा उचित हुन्छ। त्यसकारण आत्महत्या गर्न सक्नेसम्मको दुखाइबाट मुक्त रहन, महँगो उपचारबाट राहत पाउन, मुखको रोगका कारणबाट शरीरका प्रणालीमा लाग्न सक्ने विभिन्न रोगबाट ग्रसित नहुन प्रणालीमा भएका रोगलाई निको पार्न, साथै औषधिको आवश्यकता कम गर्न निम्न कुरामा ध्यान पुर्याउनु जरुरी छ।
दाँत एवं मुखको सरसफाइ : मुख पनि हाम्रो शरीरको हातजस्तै व्यस्त अंग हो। यसभित्र असंख्य जीवाणु सक्रिय रहन्छन्, हानिकारक जीवाणुले हाम्रो दाँत तथा गिजालाई क्षति पुर्याउँछन्। तैपनि तपाईंले हानि गर्ने वातावरण वा मौका दिनुभयो भने समस्या बढ्छ नै। खाना खानुअघि र पछि हात मुख धुनु जति अनिवार्य छ, खाना खाइसकेपछि ब्रस गर्नु, मुख सफा गर्नु पनि उत्तिनै अनिवार्य छ। दिनको दुई पटक बिहान र बेलुका खानापछि तल माथि गरी दाँत सफा गर्ने गरौं। सम्भव भए टुथब्रस, नभए दतिवन तथा फ्लोराइड भएको दन्तमन्जन प्रयोग गरी दाँतका सबै सतहहरू सफा गरौं। अन्य समयमा खाना खानासाथ मुख कुल्ला गर्ने बानी बसालौं। साथै दुई दाँतबीचको सतह फलामको पिन, आलपिन, काठले होइन, डेन्टल फ्लसको प्रयोग गरी सफा गर्नुपर्छ।
खानेकुरामा नियन्त्रण : टाँसिने, प्रशोधित, गुलिया, धेरै तातो, चिसो र अमिलो खाद्य पदार्थ साथै सुर्तीजन्य पदार्थ, पान, सुपारीको प्रयोग नगरौं। भिटामिन बी र सी पाइने टमाटर, अमला, कागती, सुन्तला, अंकुराउँदै गरेका अन्नबाली, मुला, गाँजर, बन्दागोबी, सक्खरखण्डजस्ता रेसादार फलफूल, हरियो सागपात सेवन गरौं। रेसादार, ताजा फलफूल, दूध, माछाजस्ता सन्तुलित खानाको प्रयोग गरौं। रातो होइन, सेतो मासु सेवन गरौं।
नियमित दन्त परीक्षण : के शिक्षित, के अशिक्षित, के शिक्षक, के विद्यार्थी, के गरिब, के धनी, सबै वर्गमा नियमित दन्त परीक्षणको अनुभव देखिँदैन। असह्य पीडा, जटिलता र समस्या भएमात्र चिकित्सककहाँ पुग्ने चलन गलत छ। स्मरणीय रहोस्, दुखाइ कम गर्ने, औषधि एस्प्रिन, बु्रफिन खाँदा समस्याको निराकरण नभई तत्काल दुखाइबाट राहतमात्र दिन्छ भने अर्कोतिर कलेजो, मिर्गौला रोगी बनाई शरीरलाई नकारात्मक असर पार्दछ। त्यसैगरी, ल्वाङ वा अन्यको तेल प्रयोग गर्दा ओठ, गिजा पोली घाउ बनाउन सक्छ। बिरामी नहुनुको अर्थ तपाईं स्वस्थ हुनुहुन्छ भन्ने होइन, स्वस्थ रहनलाई सदैव आफूलाई सन्तुलित राख्ने प्रयास गर्नुपर्छ। स्वास्थ्यको आनन्द उठाउन पोसकतत्त्वको उपयोग गर्नुपर्छ।
रोकथामका उपाय : डेन्टल फ्लस, अलि राम्रो खालको छेस्का—टुथ पिक, मुख सफा गर्ने माउथ वास वा गार्गल र कम पाश्र्वप्रभाव भएको दुखाइ कम गर्ने औषधि खरिद गरी फस्ट एड किट बनाऔं। खाना खानासाथ चेप—चेपमा अड्केका खानेकुरालाई फ्लस नभए टुथपिकले निकालौं। उचित तरिकाले ब्रस गरौं। निराधार हल्ला र पुरातन प्रवृत्तिबाट मुक्त भई चिकित्सकले दिएका स्वास्थ्य सल्लाह र सुझावलाई आत्मसाथ गरौं। कुला गर्ने औषधि जरुरत पर्दा मात्र प्रयोग गरौं किनभने धेरै प्रयोग गर्दा दाँत कालो र खैरो बन्न सक्छ।
अन्तमा, समयमै सचेत भई १४४० मिनेटको एक दिनमा बिहान खाना खाइसकेपछि चार मिनेट र बेलुका सुत्नुअगाडि चार मिनेट मुखको सरसफाइमा दिन सक्नुपर्छ। यदि रोग लागिसकेमा उपचार गराउ“दा विज्ञापनको पछि मात्र नदौडी उपचार गर्न चिकित्सक सही भए नभएको, चिकित्सकद्वारा प्रयोग हुने वा गरिने सामान, उपकरण र पदार्थहरू पूर्ण निर्मलीकरण र शुद्धीकरण भए नभएकोमा राम्रोसँग ध्यान दिनुका साथै सोधपुछ पनि गर्नुपर्छ। अन्यथा रोगको उपचार गर्न अस्पताल वा चिकित्सक कहाँ गएकोमा फर्कंदा अपरिवर्तित नोक्सान, जटिलता र थुप्रै हेपाटाइटिस, एचआईभीजस्ता सरुवा, संक्रामक र भयानक रोगहरू बोकेर घर फर्किन सकिन्छ।
(स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता बुढाथोकी दाँत एवं मुख रोग विशेषज्ञ हुन्।)
प्रतिक्रिया दिनुहोस !