टिंकर सडकमा बजेट थप्न माग
दार्चुला : नेपाली कांग्रेस दार्चुलाका नेता–कार्यकर्ताहरूले टिंकर सडकमा न्यून बजेट विनियोजनप्रति आक्रोस पोखेका छन्। टिंकर सडकमा बजेट थप्न माग गर्दै कांग्रेस जिल्ला सभापति ललितसिंह बोहराको नेतृत्वमा बिहीबार जिल्ला प्रशासन कार्यालयमा नारासहित सांकेतिक धर्ना दिइएको छ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री, अर्थमन्त्री, भौतिक योजनामन्त्री र जिल्लाबाट निर्वाचित आफ्नै पार्टीका सांसद दिलेन्द्रप्रसाद बडूलाई पनि ज्ञापनपत्र पठाइएको छ।
सरकारले जेठ १५ मा प्रस्तुत गरेको नयाँ बजेटमा दार्चुला–टिंकर सडकमा ६ करोड ३१ लाख रुपैयाँ मात्रै बजेट राखेको छ। न्यून बजेट विनियोजनको विरोधमा पार्टी विरोधमा उत्रिएको हो। जिल्ला प्रशासन कार्यालय अगाडि नारा र ब्यानरसहित कांग्रेसका नेता–कार्यकर्ताहरूले सरकारको विरोध गरेका छन्।
नेपाली सेनाबाट निर्माण भइरहेको महाकाली कोरिडोरको तुसारपानी–टिंकर सडक खण्डमा न्यून बजेट विनियोजन भएपछि जिल्लास्तरमा आक्रोस बढिरहेको छ। सर्वाधिक जनसरोकारको विषय भएकोले आफूहरूले यसबारे आवाज उठाएको कांग्रेस दार्चुलाका सभापति बोहराले बताए।
प्रतिक्रिया दिनुहोस !