उहिले बाजेका पालामा . . .

अविच्युअरी

उहिले बाजेका पालामा . . .

राजनीतिमा लाग्न खोज्दाखोज्दै भक्तपुर कटुञ्जे निवासी पूर्णप्रसाद ब्राह्मणको सिफारिसको एउटा चिर्कटाले २०१३ सालमा भैरव रिसाललाई ‘हालखबर दैनिक’मा पुर्‍याएको रहेछ।

जानेमानेका पुराना पत्रकार भैरव रिसाल अब हामीबीच हुनुहुन्न । ९७ वर्षको लामो सार्थक जीवन बाँचेर उहाँले आइतबार (२०८१ चैत्र २४) मा महाप्रस्थान गर्नुभयो । भैरव रिसाल पत्रकारहरूका भैरव दाइ हुनुहुन्थ्यो । पछिल्लो समय भैरव दाइसँग भेट नभएको झन्डै वर्ष दिन नै भइसकेको रहेछ । उहाँलाई भेट्न जाने भन्दाभन्दै जुरेन ।

फोनमा भने कुरा भइरहन्थ्यो । मैले फोन गरिनँ भने उहाँ आफैंले फोन गर्नुहुन्थ्यो र भन्नुहुन्थ्यो– ‘के छ ? के गर्दै हुनुहुन्छ ? भेट्नुपर्छ है ।’विद्यावारिधिको अध्ययन गर्दैगर्दा एक दिन दाइले फोनमा सोध्नुभयो– ‘कहाँ पुग्यो पीएचडी ?’ जवाफ दिएको थिएँ, ‘चल्दैछ दाइ ।’ दाइले भन्नुभयो– छिटो सकाउनु पर्‍यो ।’ त्यस दिन आफ्नै अभिभावकले सम्झाएको जस्तो अनभूत गरेको थिएँ । विद्यावारिधिको उपाधि पाएको खबर सुनाउँदा उहाँले साह्रै हर्षित हुँदै बधाइ दिनुभएको थियो ।

सम्झने कोसिस गर्छु, भैरव दाइलाई मैले कहिले भेटें ? २०४४ सालको माघदेखि म विराटनगरबाट काठमाडौं आएर दैनिक समाजमा काम गर्न थालेको थिएँ । मैले समाजको कार्यालयमा २०४६ सालको वैशाखमा उहाँलाई डिल्लीबजारमा देखेको थिएँ । दैनिक समाजका सम्पादक मणिराज उपाध्यायका छोरा ब्रजेशराज शर्मा (व्यवस्थापक) ले मलाई भैरव दाइसँग चिनजान गराइदिनुभएको थियो । त्यसपछि उहाँसँग नेपाल वातावरण पत्रकार समूहमा बेलाबेलामा भेट हुन्थ्यो । दाइ नमस्कार भन्नासाथै हाँसेर ‘के छ हौ घमराजजी‘ भन्नुहुन्थ्यो । भैरव दाइको सर्टमा दुवैतिर गहिरा र केही फराकिला गोजी हुन्थे । दुवै गोजीमा मोटामोटा डायरी (गोजीभन्दा केही अग्ला) हुन्थे । दाइको हँसिलो बोली अनि सबैसँग मिल्ने 

क्षमता लोभलाग्दो थियो । उहाँसँग गम्भीर विषयलाई पनि हल्का वातावरण बनाएर सल्टाउने क्षमता थियो । नेफेज, रेडियो सगरमाथा र भैरव दाइ :  नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले २०५४ साल जेठ ९ गते रेडियो सगरमाथा सञ्चालन गर्‍यो । २०५४ सालको मंसिरसम्म कालधारा, ठमेल (उपेन्द्र अर्यालको घर) बाट रेडियो प्रसारण भयो । २०५४ सालको दसैंमा बजाउने विशेष सामग्री तयार गर्ने निधो भयो । कार्यक्रम निर्देशक रघु मैनाली हुनुहुन्थ्यो । उहाँको पहलमा भैरव दाइलाई त्यो सामग्रीका लागि कुराकानी गर्ने मूल पण्डित बनाइएको थियो । उहाँसँग अन्तर्वार्ता दिने व्यक्तिमध्ये एकजना हुनुहुन्थ्यो, कविवर माधवप्रसाद घिमिरे ।

‘लौ न, के के सोध्ने होला ए रघुजी, ए घमराजजी ?’ उहाँले उसुसुसु (सुसेले जस्तै गर्ने बानी) सोध्नुभएको थियो । दाइ, स्वाभाविकै पाराले सोध्नुस् न, भनेर केही आइडिया हामीले दियौं पनि । नभन्दै कार्यक्रम रेकर्ड पनि भयो । रेडियोले एउटा शैली बनाएको थियो– जसलाई पनि नामका पछाडि ‘जी’ लगाएर सम्बोधन गर्ने । भैरव दाइले माधवप्रसाद घिमिरेलाई ‘माधवजी, तपाईंको बाल्यकालमा दसैं कसरी मनाइन्छ भनेर प्रश्न सोध्नुभएको थियो । कविवरले पनि सरल र स्वाभाविक उत्तर दिनुभएको थियो । २०१३–२०१७ सालसम्म हालखबर दैनिकमा काम गरेका र २०२०–२०४२ सालसम्म राष्ट्रिय समाचार समितिमा काम गरेका पाका पत्रकार भैरव रिसाल दाइ रेडियो करिअरको सुरुआत थियो ।

कुरोकन्थोको अन्तरकथा :  रघु मैनाली स्टेसन म्यानेजर हुनुभएपछि (रेडियो सगरमाथा बखुण्डोल, ललितपुरमा सरिसकेको थियो) २०५६ सालको भदौको दोस्रो सातादेखि भैरव दाइले हरेक मंगलबार बिहान १५ मिनेटको एकालाप कार्यक्रम ‘कुरोकन्थो’ नियमित रूपमा सञ्चालन गर्न थाल्नुभयो । उहाँलाई स्टुडियोमा माइकसँग घुलमिल गराउने र सहज अनुभव गराउने जिम्मेवारी चाहिँ रघु मैनालीले मलाई दिनुभएको थियो । रेडियोमा बोल्न सुरुमा असहज माने पनि केही समयपछिदेखि भैरव दाइले कम सम्पादन गर्नुपर्ने गरी बोल्न थाल्नुभयो ।

कुरोकन्थोसँगै सँगै रेडियोले ‘उहिले बाजेका पालामा’ कार्यक्रम डिजाइन गर्‍यो । भर्खरै भैरव दाइले ७० वर्ष पार गर्नुभएको थियो । उहाँलाई नै त्यो कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी दिइयो । यो कार्यक्रमका परिकल्पनाकार पनि रघु मैनाली नै हुनुहुन्थ्यो । भैरव दाइ ७० वर्ष कट्नुभएकाले ७० वर्षभन्दा माथिका विभिन्न क्षेत्रका व्यक्तिहरूसँग मात्रै कुराकानी गर्ने । भैरव दाइले उहिले बाजेका पालामा कार्यक्रम ८८ वर्षको उमेरसम्म सञ्चालन गर्नुभयो । यसरी १८ वर्षसम्म समाज र राज्यका विभिन्न क्षेत्रमा रहेका ज्येष्ठ नागरिकहरूसँग उनीहरूका गच्छेअनुसारका जानकारी उधिनेर भैरव दाइले यो लोकप्रिय कार्यक्रम सञ्चालन गर्नुभयो । यो कार्यक्रमको पुस्तक पनि प्रकाशन भएको थियो ।

रेडियो सगरमाथाको अभिलेख अनुसार, भैरव दाइले सञ्चालनको जिम्मेवारीबाट २०७३ साउन १० गते सोमबारदेखि अलग भएपछि त्यही कार्यक्रममा साउन १७ र २४ गते दीपकबाबु अर्यालले भैरव दाइसँगै दुई अंक कुराकानी गर्नुभयो । कुरोकन्थो कार्यक्रम भने भैरव दाइले २०८१ साउन २९ गतेसम्म सञ्चालन गर्नुभयो । सुरुका केही वर्ष स्टुडियोमै आएर रेकर्ड गरे पनि पछि भैरव दाइले कुरोकन्थो टेलिफोनबाटै प्रत्यक्ष सञ्चालन गर्ने गर्नुहुन्थ्यो । 

एफएममा भैरव दाइका फ्यान :  पछिल्लो समयमा उहाँको बोली लटपटिन थालेको थियो । रेडियो सगरमाथाका स्टेसन म्यानेजर उर्वसी बस्न्यातका अनुसार, भैरव दाइले प्रत्यक्ष सञ्चालन गर्ने कुराकन्थो कार्यक्रममा असहजताका कारण खोकी लाग्दा तीन मिनेटसम्म कार्यक्रममा बाधा पुगेको थियो । आफ्नो २०८१ को जन्म दिनदेखि उहाँले सो कार्यक्रमबाट बिदा लिनुभयो । भैरव दाइलाई सुन्ने व्यक्तिहरूको संख्या निकै ठूलो थियो ।

२०५६ सालको अन्त्यतिर रेडियो सगरमाथाले २०५४ सालको भदौदेखि प्रसारण भएको दैनिक रेडियो पत्रिका हाम्रो खाल्डो (रेडियो सगरमाथाको पहिलो तथा निकै लोकप्रिय कार्यक्रम) हाम्रो खाल्डोलाई रेडियो सिक्वेन्समा परिणत गर्‍यो । हाम्रो खाल्डो रेडियो कार्यक्रमका अवधारणाकार रघु मैनाली हुनुहुन्थ्यो भने त्यसको उत्पादनमा म, जितेन्द्र राउत र मधु आचार्य थियौं । सुरुका केही समय रघु मैनालीले त्यो कार्यक्रमको सम्पादन गर्नुभयो भने केही समयपछि त्यसको जिम्मेवारी ममा आयो । त्यो कार्यक्रममा जोडिन संगीता मरहठ्ठा र दुर्गा कार्की पनि केही पछि आइपुग्नुभयो ।

२०५६ सालको फागुन ७ प्रजातन्त्र दिवसका दिनदेखि ‘हाम्रो खाल्डा’ रेडियो सिक्वेन्समा परिणत भयो । सात दिनलाई पालैपालो गरी नेतृत्वदायी भूमिकामा ‘हाम्रो खाल्डो’को कोर टिम रह्यो भने भैरव दाइ र चट्याङ मास्टरलाई पनि प्रत्यक्ष प्रसारण हुने त्यो लामो कार्यक्रममा पालैपालो राखियो । प्रसिद्ध हास्यव्यंग्यकार चट्याङ मास्टर र भैरव रिसालको रेडियो प्रवेश एकै समयमा भएको थियो । तीन घण्टा लामो रेडियो सिक्वेन्स बिहान ६ बजेदेखि ९ बजेसम्म सञ्चालन हुन्थ्यो । यो पनि निकै लोकप्रिय कार्यक्रम थियो । 

व्यक्ति एक, अभियान अनेक :  भैरव दाइ सरल र कामप्रति इमान्दार हुनुहुन्थ्यो । उहाँ राससको जागिर छोडेपछि नेपाल वातावरण पत्रकार समूहमा सक्रिय हुनुभयो । समूहको दोस्रो अध्यक्षको जिम्मेवारी बहन गर्नुभयो । भैरव दाइलाई समूह वा अन्य कतै कुनै पदको लोभ थिएन । हुटहुटी थियो त केबल अभियानमुखी कामहरूको । भैरव दाइले हुम्लामा उज्यालो, बुहारी पढाउँ, यौटाले यौटालाई जस्ता कैयन अभियान सञ्चालन गर्नुभएको थियो । कुनै पुरस्कार पाएमा त्यसको रकम त्यस्तै अभियानमा खर्चिनुहुन्थ्यो । 

मैले रेडियो सगरमाथामा एकताका सञ्चालन गरेको सञ्चार तथा साहित्य डबलीमा भैरव दाइको अन्तर्वार्ता लिने मौका पाएको थिएँ । उहाँले मसँग आफूले भक्तपुरको काँठबाट संस्कृतमा शास्त्री उत्तीर्ण गरेको र स्नातक सरहको मान्यताका लागि संघर्ष गरेको बताउनुभएको थियो । उहाँ तीनधारा संस्कृत पाठशालामा पढ्दादेखि नै कम्युनिस्ट विचारधारमा बाँधिनुभएको रहेछ । संस्कृत पढेको भक्तपुर, दधिकोटको काँठे बाहुन भएका कारण लोकसेवामार्फत अधिकृत तहमा उत्तीर्ण भए पनि आफूले जागिर नपाएको कुरा म, रघु मैनाली र ब्रजेश शर्मासँगको कुराकानीमा २०७३ साल माघ २८ गते उहाँकै निवासमा बताउनुभएको थियो, जुन हामीले नै सम्पादन गरेको पुस्तक 
‘पत्रकारिताको सतिसाल’ (शर्मा र अरू, २०७४) मा छ ।

पूर्णप्रसाद ब्राह्मणको चिर्कटाले पत्रकार बनेका भैरव :  राजनीतिमा लाग्न खोज्दाखोज्दै भक्तपुर कटुञ्जे निवासी पूर्णप्रसाद ब्राह्मणको सिफारिसको एउटा चिर्कटाले २०१३ सालमा उहाँलाई ‘हालखबर दैनिक’मा पुर्‍याएको रहेछ । लेख्न नजान्ने पिताजीले लगन, टिप्पणी लेख्न छोरो जान्ने बनोस् भनेर मोहर पाइने लोभले पढाएको ठिटो भैरव रिसालले लगन, कुण्डली त लेख्नु भएन तर सार्वजनिक पद धारण गरेका धेरैको कुण्डली र चिट्ठा चाहिँ पत्रकारितामार्फत खोल्नुभयो । 

ऊ थान्तले पत्रकारमाझ विमानस्थलमा यौटा वक्तव्य वाचन गरे। त्यो अंग्रेजीमा थियो। भैरव दाइ संस्कृत पढेको मान्छे। अंग्रेजी नआउने। 

मसँगको अन्तर्वार्तामा उहाँले सुनाएका बडो रमाइला किस्साहरू छन् । तीमध्ये एउटा यस्तो किस्सा रहेछ– हालखबरमा भर्खरै जागिर खान थालेको । के समाचार हो, के हैन, जानिसकेको पनि थिएन । एउटा नयाँ साइकल दिएको रहेछ हालखबरले । साइकल लिएर भैरव रिसाल चारखाल अड्डा जानुभएछ । एक जना हाकिमले लौ यहाँ सरकारी कर्मचारीले अहिले खसी काटेर भाग लगाई खाए भनेर खबर दिएछ । केटौले भैरव दाइले त्यो समाचार बनाएर हालखबरमा छापिदिनुभएछ । प्रधानमन्त्री हुुनुहुँदोरहेछ टंकप्रसाद आचार्य । प्रधानमन्त्रीले सातो टिप्नुभएछ– ‘यस्तो पनि काहीँ खबर हुन्छ ?’ उहाँको यो कुरा उहाँ र घनानाथ ओझाको पुस्तक त्यतिबेलाको पत्रकारितामा समेत समेटिएको रहेछ ।

रासस, उथान्त र रिसाल :  अर्को यौटा प्रसंग छ मैले लिएको अन्तर्वार्तामा भन्नुभएको– सन् २०२४ वैशाख १० गते संयुक्त राष्ट्रसंघका महासचिव ऊ थान्त नेपालको भ्रमणमा आएका थिए । भैरव रिसालको जागिर राससमा थियो । उहाँ समाचार संकलनका लागि त्रिभुवन विमानस्थलमा खटिनुभयो । ऊ थान्तले पत्रकारहरूमाझ विमानस्थलमा यौटा वक्तव्य वाचन गरे । त्यो अंग्रेजीमा थियो । भैरव दाइ संस्कृत पढेको मान्छे । अंग्रेजी नआउने । उहाँ विष्मयमा पर्नुभयो– के गरी समाचार संकलन गर्ने ? ऊ थान्तले कम गतिमा अंग्रेजीमा दिएको वक्तव्यको समाचार टिप्ने यौटा जुक्ति भैरव दाइलाई तत्काल फुर्‍यो– उसको अंग्रेजी लवजलाई नेपालीमा सकेसम्म नछुटाई टिप्ने । धिमा गतिको त्यो वक्तव्यको धेरै भाग उहाँले नेपाली लवजमा टिप्नुभयो । अनि कार्यालय पुगेर अंग्रेजी सेक्सनमा दिएपछि तानतुन मिलाएर समाचार बन्यो । भाषा नजाने पनि काम अड्केन । यस्तो चातुर्य गर्न जान्नुपर्छ पत्रकारले, उहाँले भन्नुभएको थियो । 

प्रधानमन्त्रीदेखि मन्त्रीसम्मका हप्कीदप्की :  त्यसो त राससमा काम गर्दा प्रधानमन्त्रीदेखि मन्त्रीसम्मका हप्कीदप्की खानु परेका कैयन विवरण उहाँले त्यतिबेलाको पत्रकारितामा समेट्नु भएको छ । कार्यक्रमस्थलबाट प्रधानमन्त्रीले भाषण गरेर गइसकेपछि पुराना फाइल हेरेर जोडजाड गरी समाचार बनाएका प्रसंगदेखि भैरवले त समाचार नोट नै गरेन त भन्नेसम्मका खप्की सहनु परेका प्रसंग छ्यालब्याल प्रकाशनमा समेत छन् । पञ्चायतकालका प्रधानमन्त्रीहरू र मन्त्रीहरूले एकथोक भाषण गर्ने र छापिएपछि त्यसो भनेकै थिएन भनेर हप्कीदप्की गरेका तीता प्रसंग पनि उहाँले व्यक्त गर्नुभएको छ । 

करिब २२ वर्ष राससमा काम गरेका भैरव रिसालले आफ्नो काम राजा र दरबारलाई मन नपरेकै कारण आफूले कुनै पदक नपाएको गुनासो राससको प्रकाशन ‘रासस दिग्दर्शन’ (२०६६, पृ. १२७) मा गर्नु भएको छ । विक्रम संवत् १९८५ मा जन्मेका भैरव दाइले जिल्लामा समाचारदाता नभएको, टेलिफोनको सट्टा आवा गर्नुपर्ने तथा समाचार खोज्न व्यक्तिव्यक्ति र अड्डाअड्डा चाहरेर समाचार बनाउनुपर्ने युगमा पत्रकारिता थाल्नु भएको थियो । रु. १००।– को मासिक पारि   श्रमिकबाट पत्रकारिता थालेका भैरव दाइले समाचार केही छ कि भनेर सचिवकहाँ जाँदा राससका आफ्ना सहकर्मीलाई आफ्नो घरमा गाई ब्याएको छ नि भनेर उल्याएका अनुभव सँगाल्नुभएको थियो । उहाँले छापा माध्यमको लामो अनुभवपछि रेडियोमा काम गर्नुभयो । उहाँले केही समय चट्याङ मास्टरसँगै टेलिभिजनको बिहानी शो कार्यक्रमसमेत चलाउनुभयो ।

सांसद पनि बन्ने खोजे भैरव दाइ :  भैरव दाइले मसँगको रेडियो अन्तर्वार्तामा रासस छोडेपछि २०४३ साल असोज ६ गते ‘एसियाली मापदण्ड:  मन्त्रिमण्डलको ठगीखाने भाँडो’ शीर्षकको आफ्नो विचारोत्तेजक लेख राजधानी पत्रिकामा छापिएपछि त्यसका प्रकाशक आङदोर्जे लामासँगै आफूलाई राजकाज मुद्दामा पञ्चायतले एक वर्ष जेल हालेको र साधुलाई सुली नामबाट जेल डायरी तयार गरेको बताउनुभएको थियो जुन प्रकाशित पनि भएको थियो । 

भैरव दाइ केही समय नेपाल मजदुर पार्टीसँग पनि आबद्ध हुनुभयो र २०४८ सालको आमनिर्वाचनमा भक्तपुरको क्षेत्र नम्बर २ बाट सांसद पदका लागि लड्नुभयो अनि सक्रिय राजनीतिमा ब्रेक लाग्यो । यसैसँग सम्बन्धित यौटा रोचक प्रसंग पनि छ– २०५५ सालमा म रेडियो सगरमाथाका हाम्रो खाल्डो कार्यक्रमका लागि प्रोफाइल बनाउन राष्ट्रकवि माधवप्रसाद घिमिरेको निवास लैनचौर पुगें ।

कविवर नमज्जाले पडकनुभयो– ‘मलाई ‘जी’ भन्ने, माधवजी भन्ने ? त्यो बिजुक्छेको कार्यकर्ता भैरवले मलाई जी भन्ने ?’ म त अक्क न बक्क परें । कुरो कोट्ट्याएर प्रस्ट हुँदै गएको त २०५४ सालको दसैँमा भैरव दाइले कविवरसँग अन्तर्वार्ता लिँदा माधवजी भनेर सम्बोधन गरेको इँख पो लिइराख्नुभएको रहेछ । उहाँलाई मैले सम्झाएँ– तपाई जस्तो यत्रो मान सम्मान पाएको कविवरले यस्ता सानामसिना कुराको ईख लिनुहुन्छ र ?    तपाईं त गंगाजस्तो पो हुनुपर्छ, गंगामा जति फोहोर थुपारे पनि निर्मल नदी नै मानिएको छ । त्यो त रेडियोको शैलीका कारण पो उहाँले त्यसरी सम्बोधन गर्नुभएको हो त !’’ मैले त्यसो भनेपछि खै के छाप पर्‍यो कविवरमा उहाँ हाँस्नुभयो र भन्नुभयो, ‘तपाईंले मेरो मन जित्नुभयो, लुइँटेल त मेरा मावली पो हुन् त । म तपाईंलाई अन्तर्वार्ता दिन्छु र भैरवजीसँग पनि अब मेरो केही छैन ।’

पत्रकार रिसालले ओझेलमा पारेको लेखक रिसाल :  भैरव दाइबारे यो छोटो अनुभवमा सबै कुरा समेटिन सम्भव छैन । मार्क पोस्टर (१९९५) ले ‘ सेकेन्ड मिडिया एज’ पुस्तकमा गरेको परिभाषालाई सापटी लिएर भन्नुपर्दा पहिलो युगको पत्रकारिता गरेर दोस्रो युगको पत्रकारिताका साक्षी बनेका भैरव दाइलाई जोसुकैले जेसुकै भने पनि कुनै गुनासो पनि थिएन र कुनै कुरा मनमा लिएर बस्ने फुर्सद पनि थिएन । सर्वजन हिताय र सर्वजन सुखायको भावनाबाट प्रेरित भैरव दाइ कर्ममा विश्वास गर्नुहुन्थ्यो र पत्रकारिताको साख जोगाउनुपर्छ है भनेर नयाँ पुस्तालाई हौसला दिनुहुन्थ्यो ।

रिसालका ‘साधुलाई शूली’ (जेल डायरी), ‘उहिलेको बाजेको पालामा’ ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’, ‘सुशीला–भैरव’ ‘भैरव दाइ’, ‘उहिलेको नेपाल (अनुभव संग्रह)लगायतका पुस्तक प्रकाशित छन् । उहाँले गएको साउन २६ गते मात्रै आफ्नो ९७औं जन्मदिनका अवसरमा तीनवटा कृति सार्वजनिक गर्नुभएको थियो । भैरव दाइले शरीरले साथ दिएसम्म इमान्दारीका साथ काम गरिरहनुपर्छ र आफ्नो पेसाबाट अवकाश लिनुहुन्न भन्ने उदाहरण कतै कक्षामा पढाउनु भएन, आफ्नै सार्थक कर्मले देखाउनुभयो । जीवन हुँदामात्रै नभई जीवनपछिको शेष शरीरसमेत मानव कल्याणमा काम लागोस् भनेर आफ्नो शरीरसमेत अस्पताललाई दान गर्नुभयो । पत्रकारिता क्षेत्रमा मात्रै हैन, सामाजिक सेवा र सामाजिक सुधारका क्षेत्रमा समेत एक अब्बल असल उदाहरण र प्रेरक व्यक्तित्व भैरव दाइप्रति श्रद्धाञ्जलि !


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.