विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप प्रत्येक चार वर्षमा आयोजना हुन्छ । हरेक संस्करणले आम फुटबलप्रेमीमा नयाँ उत्साहमात्रै दिलाउँदैन, नयाँ इतिहास पनि बनाउँछ । हरेक चार वर्षमा कतै आयोजक देश बदलिन्छ, कतै प्रतियोगिताको ढाँचा फेरिन्छ, अनि कतै नयाँ नायक जन्मिन्छ । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप सुरु भएसँगै समर्थकबीच पुराना र नयाँ संस्करणको तुलना पनि सधैंभरि भइरहन्छ नै ।
कसैले आफूले पहिलो पटक हेरेको विश्वकपलाई उत्कृष्ट मान्छन् भने कसैले पछिल्लो संस्करणलाई सबैभन्दा उत्कृष्ट र रोमाञ्चक बताउने गरेका छन् । त्यसैले फुटबलप्रेमीबीच ‘यो विश्वकप’ र ‘त्यो विश्वकप’को बहस सधैं रोचक र घोचक बन्ने गरेको छ । सन् १९३० मा सुरु भएको फिफा विश्वकपले नौ दशकभन्दा लामो यात्रा तय गरिसकेको छ । यस अवधिमा विश्वकपले अनगिन्ती अविस्मरणीय क्षण, थुप्रै महान खेलाडी र ऐतिहासिक तथ्य र तथ्यांकलाई जन्माएको छ । कुनै समय पेलेले संसारभर चर्चा बटुले भने कुनै समयमा डियगो म्याराडोनाको जादुको चर्चा संसारभर रहिरह्यो ।
त्यसपछि रोनाल्डो नाजारियो, जिनेदिन जिदान, लियोनल मेसी, क्रिस्टियानो रोनाल्डोजस्ता स्टार खेलाडीले आफ्नो खेल र खेल्ने शैलीले आफूलाई मात्रै चर्चित बनाएनन्, विश्वकप फुटबललाई पनि विशेष बनाए । फुटबल समर्थकहरूले धेरै सम्झिने विश्वकप सन् १९८६ को हो । यस विश्वकप म्याराडोनाको ‘ह्यान्ड अफ गड’ र एकल प्रदर्शनका कारण त्यो पुस्ताका लागि यादगार मानिन्छ । त्यसपछि पनि सन् १९९८ मा घरेलु मैदानमा फ्रान्सको उपाधि, २००२ मा एसियामा पहिलो पटक आयोजना भएको विश्वकप, २०१० मा स्पेनको उदय, २०१४ मा जर्मनीले ब्राजिललाई ७–१ गोलको फराकिलो अन्तरले हराएको सेमिफाइनल खेल तथा २०२२ मा अर्जेन्टिनाले उपाधि जित्दै लियोनल मेसीको विश्वकप सपना पूरा गरेको क्षण धेरैको सम्झनामा छ ।
पछिल्लो समय भने संसारको दृष्टि सन् २०२६ को विश्वकपमा केन्द्रित छ । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको २३औं संस्करणको विश्वकपमा पहिलोपटक ४८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । विश्वकपको आकार फराकिलो भएसँगै नयाँ राष्ट्रहरूले पनि विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा आफूलाई प्रमाणित गर्ने अवसर पाएका छन् । २३औं संस्करणको विश्वकपमार्फत ‘डेब्यु’ जनाएका टिम हुन्, केप भेर्डे, उज्वेकिस्तान, कुराकाओ र जोर्डन । ९६ वर्षको इतिहासमा अहिलेसम्म ८० देशले विश्वकप खेलिसकेका छन् । यसपालिबाट त्यो संख्या ८४ पुगेको छ । नयाँ टोलीको सहभागिताले विश्वकपलाई अझ विस्तारित बनाउनुका साथै रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ । विश्वकपको स्वरूप बदलिँदै गएको छ । १९३० मा १३ राष्ट्रबाट सुरु भएको प्रतियोगिता अहिले ४८ टोलीको विशाल महोत्सव नै बनेको छ ।
तथ्यांकमा विश्वकप : को कति सफल ?
फिफा विश्वकपको २३औं संस्करण अमेरिका, मेक्सिको र क्यानडामा भइसकेको छ । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा यसअघि २२ संस्करण सम्पन्न हुँदा ८० वटा फरक देशले विश्वकपको मञ्चमा आफ्ना चुनौती प्रस्तुत गरेका छन् । विश्वकप इतिहासमा पाँच पटक उपाधि जितेको दक्षिण अमेरिकी राष्ट्र ब्राजिल सबैभन्दा सफल टोली हो । उपाधि जित्ने मामिलामा मात्र नभई ब्राजिल सहभागिता, खेल संख्या, जित संख्या, गोल गर्ने र अंक हासिल गर्नेमा पनि सबैभन्दा अगाडि छ ।
ब्राजिल सन् १९३० देखि २०२२ सम्म सम्पन्न सबै २२ विश्वकपमा सहभागिता जनाउने एकमात्र टिम हो । यसक्रममा ब्राजिलले सर्वाधिक ११४ खेल खेलेको छ भने त्यसमध्ये ७६ खेलमा टोलीले जित हासिल गरेको छ । विश्वकपको लामो यात्रामा ब्राजिलले १९ खेलमा बराबरी नतिजा निकालेको इतिहास छ भने १९ नै खेलमा टोलीले पराजय भोगेको छ । ब्राजिलले ११४ खेलमा २३७ गोल गर्दा जम्मा १०८ गोल खाएको छ । यसअनुसार सर्वकालीन तथ्यांकमा ब्राजिलको गोलअन्तर प्लस १२९ छ भने टोलीले अहिलेसम्मका नतिजाका आधारमा विश्वकपमा हासिल गरेको अंक २४७ छ ।
ब्राजिलपछि जर्मनी र इटाली उपाधि जित्ने मामिलामा सबैभन्दा सफल टिम हुन् । दुवैले समान चार पटक उपाधि जितेका छन् । तर, समग्रमा भने दोस्रो नम्बरमा जर्मनी विश्वकपको सफल टिम हो । २० पटक विश्वकपमा सहभागी भएको जर्मनीले ११२ खेल खेल्दा ६८ खेल जितेको छ । २१ खेलमा बराबरी, २३ मा हार, गरेको गोल २३२, खाएको गोल १३०, गोलअन्तर १०२ र हासिल गरेको अंक २४७ विश्वकपमा जर्मनीका तथ्यांक हुन् । उपाधि जितेको हिसाबमा इटाली अघि भए पनि समग्र इतिहासमा अर्जेन्टिनाको सफलता तेस्रो तथा इटालीको चौथो नम्बरमा देखिन्छ । तीन पटक उपाधि जितेको साविक विजेता अर्जेन्टिना र इटालीले समान १८ पटक विश्वकपमा सहभागिता जनाएका छन् ।
तर, अर्जेन्टिनाले ८८ खेल खेल्दा इटालीले ८३ खेल मात्र खेलेको छ । अर्जेन्टिनाले ४७ खेल जित्दा इटाली ४५ खेलमा विजयी भएको छ । बराबरी नतिजा अर्जेन्टिनाको नाममा १७ तथा इटालीको नाममा २१ हुँदा अर्जेन्टिना २४ खेलमा पराजित रहँदा इटालीले १७ खेलको नतिजा विपक्षीलाई सुम्पिएको छ । विश्वकपका प्रतिस्पर्धामा अर्जेन्टिनाले विपक्षी पोस्टमा १५२ गोल गर्दा इटालीले १२८ मात्र गोल गरेको छ भने अर्जेन्टिनाले १०१ गोल खाँदा इटालीको पोस्टमा ७७ गोलमात्र सम्भव भएको छ । गोलअन्तरमा दुवै टोलीको तथ्यांक समान प्लस ५१ छ भने हासिल गरेको अंक अर्जेन्टिनाको १५८ र इटालीको १५६ छ ।
चार पटकको च्याम्पियन इटाली यो विश्वकपमा छैन । युरोपेली छनोट प्रतियोगितामा असफल भएको इटाली विश्वकपमा अनुपस्थित हुन लागेको यो लगातार तेस्रो पटक हो । यसअघि सन् २०१८ को रुस र सन् २०२२ को कतार विश्वकपमा पनि इटाली छनोट हुन असफल भएको थियो । समग्रमा विश्वकपको पाँचौं सफल टिम दुई पटकको च्याम्पियन फ्रान्स हो । सन् १९९८ र २०१८ को च्याम्पियन फ्रान्सले कुल १६ संस्करणमा सहभागिता जनाउँदा ७३ खेलका लागि मैदान उत्रिएको इतिहास छ । विश्वकपमा कुल ३९ खेल जितेको टोलीले १४ खेलमा बराबरी तथा २० हारको नतिजा निकालेको छ । विपक्षीको पोस्टमा कुल १३६ गोल गरेको टोलीले ८५ गोल खाँदा गोलअन्तर प्लस ५१ छ । त्यसक्रममा टोलीले समूह चरणमा खेल जित्दा हासिल गरेको कुल अंक १३१ छ ।
समग्र मूल्यांकनको शीर्ष पाँचमा परेका टिमले २२ मध्ये १८ उपाधि एकआपसमा बाँडिसकेका छन् । बाँकी चार उपाधि तीन टिमले बाँडेका छन् । उरुग्वे दुई पटकको पूर्व च्याम्पियन हो भने इङ्ल्यान्ड र स्पेन समान एक पटकका च्याम्पियन हुन् । सन् १९६६ मा एक पटकमात्र उपाधि जितेको इङ्ल्यान्ड समग्रमा विश्वकपको छैटौं सफल टिम हो । १६ पटक विश्वकपमा सहभागिता जनाउँदा ७४ खेल खेलेको इङ्ल्यान्डले ३२ खेलमा जित हासिल गरेको छ भने २२ मा बराबरी तथा २० मा हारको नतिजा निकालेको छ ।
इङ्ल्यान्डले विश्वकपका ७४ खेलमा १०४ गोल गर्दा ६८ गोल खाएको छ । जसअनुसार टोलीको गोलअन्तर प्लस ३६ तथा हासिल गरेको अंक ११८ छ । सातौं स्थानमा एक पटकको अर्को च्याम्पियन स्पेन छ । समान १६ संस्करणमा सहभागिता जनाएको स्पेनले ६७ खेल खेल्दै ३१ खेलमा जित, १७ मा बराबरी तथा १९ मा हारको नतिजा निकाल्दा १०८ गोल गरेर ७५ गोल खाएको तथ्यांक छ । समग्र गोलअन्तर प्लस ३३ रहेको स्पेनले विश्वकपका समूह चरणका खेलबाट ११० अंक हासिल गरेको छ ।
आठौं स्थानमा दुई पटकको पूर्वच्याम्पियन उरुग्वेलाई उछिन्दै तीन पटकको उपविजेता नेदरल्यान्ड्स छ । ११ पटक विश्वकप खेलेको डच टोलीले कुल ५५ खेलमा ३० जित, १४ बराबरी र ११ हारको नतिजा निकालेको छ । विपक्षी पोस्टमा ९६ गोल गर्दा ५२ गोल खाएको टोलीको गोलअन्तर प्लस ४४ तथा हासिल गरेको अंक १०४ छ । दुई पटकको पूर्वविजेता उरुग्वेले विश्वकपका १४ संस्करणमा सहभागिता जनाए पनि हासिल गरेको जितका आधारमा टोली नवौं स्थानमा छ । विश्वकपमा कुल ५९ खेल खेल्दा उरुग्वे २५ खेलमा विजयी भएको छ भने १३ बराबरी र २१ खेलमा हार भोगेको छ ।
कुल ८९ गोल गरेको टोलीले ७६ गोल खाएको छ । गोलअन्तर प्लस १३ रहेको उरुग्वेले विश्वकपमा अहिलेसम्म कुल ८८ अंक हासिल गरेको छ । विश्वकप इतिहासमा सफल टोलीको सूचीको शीर्ष १० मा पर्न सफल अर्को टोली हो, बेल्जियम । बेल्जियमको विश्वकपमा सबैभन्दा सफल नतिजा सन् २०१८ मा तेस्रो स्थान हासिल गर्नु हो । १४ पटक विश्वकपमा सहभागिता जनाएको टोलीले ५१ खेल खेल्दा २१ जित, १० बराबरी र २० हारको नतिजा निकालेको छ । ६९ गोल गरेको टोलीले ७४ गोल खाएको छ । त्यस हिसाबमा उरुग्वेको गोलअन्तर माइनस ५ तथा टोलीले विश्वकप इतिहासमा हासिल गरेको अंक ७३ छ ।
विश्वकपमा सहभागी ८० टोलीमध्ये ११ टोलीले कुनै पनि अंक जोड्न सकेका छैनन् । अंक जोड्न नसक्ने टिममा दुई पटक सहभागी भएका क्यानडा र एल साल्भाडोरसँगै एक पटक मात्र सहभागिता जनाएका इराक, टोगो, कतार, इन्डोनेसिया, पानामा, यूएई, चीन, हाइटी र कंगो छन् । यसैगरी विश्वकप इतिहासमा अहिलेसम्म २० टोलीले एउटै जित हासिल गर्न सकेका छैनन् । जित्न नसक्ने त्यस्ता थप टोलीमा तीन पटक सहभागिता जनाएका बोलिभिया, इजिप्ट र हुन्डुरस तथा दुई पटक खेलेको न्युजिल्यान्ड र एक पटक सहभागिता जनाएका अंगोला, इजरायल, आइसल्यान्ड, कुवेत र ट्रिनिडाड एन्ड टोबागो छन् ।
प्रतिक्रिया दिनुहोस !