पृथक् फिफा विश्वकप २०२६

फुटबल

पृथक् फिफा विश्वकप २०२६

इतिहासमै तीन देशले संयुक्त रूपमा आयोजना गर्ने पहिलो फिफा विश्वकप हुनेछ। यसअघि २००२ विश्वकप दक्षिण कोरिया र जापानले संयुक्त रूपमा आयोजना गरेका थिए।

२३औं संस्करणको फिफा विश्वकप २०२६ अनेक दृष्टिले पृथक खालको हुँदैछ। प्रत्येक चार वर्षमा आयोजना हुने अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिताको यो कुम्भ मेलामा यसपटक देखि ४८ टोली सहभागी हुनेछन्। जुन अघिल्ला सात संस्करणको तुलनामा १६ टोली बढी हो। यसअघि सन् १९९८ विश्वकपमा टोली संख्या ३२ पुर्‍याइएको थियो। ११ जुनदेखि १९ जुलाई २०२६ सम्म सञ्चालन हुने यो विश्वकपमा जम्मा १०४ खेल हुनेछन्। पछिल्लो संस्करणसम्म ६४ खेल भएको थियो।

इतिहासमै तीन देशले संयुक्त रूपमा आयोजना गर्ने पहिलो फिफा विश्वकप हुनेछ। यसअघि २००२ विश्वकप दक्षिण कोरिया र जापानले संयुक्त रूपमा आयोजना गरेका थिए। यस पटकको विश्वकपको सिलसिलामा क्यानडाले पहिलोपटक, संयुक्त राज्य अमेरिकाले दोस्रो पटक र मेक्सिकोले तेस्रो पटक आयोजना गर्दैछन्। अमेरिकाले सन् १९९४ मा विश्वकप आयोजना गरेको थियो भने मेक्सिकोले यसअघि १९७० र १९८६ मा विश्वकप आयोजना गरिसकेको छ। यसरी मेक्सिको धेरैपटक विश्वकप आयोजना वा सह–आयोजना गर्ने पहिलो देशको कीर्तिमान बनाउनेछ। यो पटकको संयुक्त आयोजनालाई निरन्तरता दिई २०३० विश्वकप मोरक्को, स्पेन र पोर्चुगलमा हुने भएको छ।

यस संस्करणदेखि विश्वकपमा सहभागी ४८ टोलीलाई ४, ४ टोलीका १२ समूहमा विभाजन गरिनेछ। समूह चरणमा प्रत्येक टोलीले तीन खेल खेल्नेछ। प्रत्येक समूहका शीर्ष दुई टोली तथा उत्कृष्ट आठ तेस्रो स्थानका टोलीहरू ‘राउन्ड अफ ३२’ चरणमा प्रवेश गर्नेछन्। सेमिफाइनलसम्म पुग्ने टोलीहरूले अब ७ होइन ८ खेल खेल्नुपर्नेछ। प्रतियोगिता ३९ दिनसम्म चल्नेछ, जुन विश्वकप २०१४ र २०१८ को ३२ दिनको तुलनामा लामो अवधि हो। सन् २०१३ देखि २०१७ सम्म फिफाले महादेशीयस्तरमा आलोपालो प्रणालीका आधारमा आयोजक छनोटसम्बन्धी नियमहरूमा पटक–पटक परिवर्तन गरेको थियो।

मार्च २०१७ मा फिफा अध्यक्ष जियानी इन्फान्टिनोले रुस (२०१८) र कतार (२०२२) क्रमशः युरोप र एशियाले विश्वकप आयोजना गरिसकेकाले यस पटकका लागि ती महादेश बाहेकका उत्तर अमेरिका, अफ्रिका, दक्षिण अमेरिकाका साथै ओसेनियाका देशहरूलाई प्राथमिकता दिइएको थियो। २००२ विश्वकपपछि प्रतिबन्धित जस्तै गरिएको संयुक्त आयोजनालाई २०२६ का लागि पुनः अनुमति दिइएको थियो। क्यानडा, मेक्सिको र अमेरिकाले सुरुवातमा छुट्टाछुट्टै विश्वकप आयोजना गर्ने इच्छा जनाए पनि १० अप्रिल २०१७ मा उनीहरूले संयुक्त प्रस्ताव गरेबाट तिनीहरूको दाबी निकै बलियो हुन गयो।

नभन्दै १३ जुन २०१८ मा मस्कोमा आयोजित फिफाको ६८ औं कंग्रेसमा मतदानमा अमेरिका–मेक्सिको–क्यानडाको संयुक्त प्रस्ताव (१३४ मत) ले मोरक्कोको प्रस्तावलाई (६५ मत) पराजित गरी यो विश्वकप आयोजना गर्ने मौका पाएको थियो। यस पटकको विश्वकप तीन देशले आयोजना गर्ने क्रममा अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानडाका २ सहर गरी जम्मा १६ सहरमा खेलहरू हुँदैछन्। सुरुमा ४१ सहरका ४२ वटा पूर्ण सञ्चालनमा रहेका रंगशाला तथा निर्माणाधीन दुई रंगशालाले आवेदन दिएका थिए।

छनोट प्रक्रियाका विभिन्न चरणपछि १६ जुन २०२२ मा फिफाले क्यानडाका टोरन्टो र भ्यानकुभर, मेक्सिकोका मेक्सिको सिटी, गुआडालाजारा र मोन्टेरे एवं संयुक्त राज्य अमेरिकाका एटलान्टा, बोस्टन, डल्लास, ह्युस्टन, क्यान्सस सिटी, लस एन्जलस, मियामी, न्युयोर्क÷न्यु जर्सी, फिलाडेल्फिया, सान फ्रान्सिस्को बे एरिया, सियाटल गरी १६ आयोजक सहर अन्तिम रूपमा चयन गरिए। चयन गरिएका १६ मध्ये ८ रंगशालामा कृत्रिम घाँस छ, जसलाई विश्वकपअघि प्राकृतिक घाँसले प्रतिस्थापन गरिनेछ। एटलान्टा, डल्लास, ह्युस्टन र भ्यानकुभरका रंगशालाहरू पूर्ण रूपमा छानायुक्त (इन्डोर) छन् भने लस एन्जलसको रंगशालामा पारदर्शी छाना भए पनि वातानुकूलन सुविधा छैन। ४ फेब्रुअरी २०२४ मा फिफाले न्यु जर्सीको इस्ट रदरफोर्डस्थित मेटलाइफ स्टेडियम (८०,६६३ दर्शक क्षमता) लाई फाइनल खेलको आयोजक रंगशालाका रूपमा घोषणा गरेको थियो।

मेक्सिको सिटी तीन आयोजक राष्ट्रमध्ये एकमात्र राजधानी सहर हो, जहाँ विश्वकपका खेलहरू आयोजना हुनेछन्। किनकि ओटावा (क्यानडा) र वासिङ्टन डीसी (अमेरिका) लाई आयोजक सहरका रूपमा छनोट गरिएको छैन। यसअघि बोन (पश्चिम जर्मनी, १९७४) र टोकियो (जापान, २००२) ले मात्रै राजधानी भएर विश्वकप खेल आयोजना गर्न पाएका थिए। र, यस पटकको मेक्सिकोको इस्टाडियो एज्टेका मात्र यस्तो रंगशाला (८०,८२४ दर्शक क्षमता) हो, जहाँ यसअघि १९७० र १९८६ का विश्वकप खेलहरू आयोजना गरिसकेको छ। जबकि १९९४ विश्वकपमा प्रयोग भएका कुनै पनि रंगशाला २०२६ संस्करणमा प्रयोग हुने छैनन्।

३१ अगस्ट २०२२ मा फिफा अध्यक्षले कन्काकाफ क्षेत्रबाट ६ टोली विश्वकपमा छनोट हुने पुष्टि गरे, जसमा आयोजक राष्ट्रहरू क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिका स्वतः छनोट हुने निर्णय भयो। ६७औं फिफा कांग्रेसअघि बहराइनको मनामामा बसेको बैठकमा विश्वकपका स्थानहरूको बाँडफाँट स्वीकृत गरिएको थियो। यसमा अन्तिम दुई विश्वकप स्थान निर्धारण गर्न ६ टोलीबीच अन्तरमहादेशीय प्लेअफ प्रतियोगिता पनि समावेश गरिएको थियो। प्लेअफमा युईफाबाहेक प्रत्येक महासंघबाट एक टोली तथा आयोजक महासंघ कन्काकाफबाट थप एक टोली सहभागी भएका थिए। यस निर्णयसँगै ओसिनिया फुटबल महासंघले इतिहासमै पहिलो पटक विश्वकपको अन्तिम चरणमा प्रत्यक्ष स्थान प्राप्त गर्‍यो।

यसरी यसपटक पनि विश्वकपका लागि फिफाका सदस्य राष्ट्रहरूको राष्ट्रिय टोलीहरूबीच प्रतिस्पर्धा गराइएको भए पनि यसै विश्वकपमा ६ वटै महासंघले कम्तीमा एक–एक स्थान प्रतिनिधित्व हुने सुनिश्चितता गरेको पहिलो संस्करण हुनेछ। ४८ छनोट टोलीमध्ये २५ टोलीले विश्वकप २०२२ मा पनि सहभागिता जनाएका थिए। यस पटकको विश्वकपमा आयोजक राष्ट्रको नाताले क्यानडा, मेक्सिको र अमेरिका स्वतः छनोट भएका छन्। आयोजकका अलावा जापान छनोट प्रक्रियाबाट विश्वकप पुग्ने पहिलो देश बने। केप भर्डे, कुराकाओ, जोर्डन र उज्बेकिस्तानले पहिलो पटक विश्वकप खेल्नेछन्। यस पटक अर्जेन्टिना साबिक विजेताका रूपमा प्रतियोगितामा सहभागी हुनेछ।

कतार पहिलो पटक छनोट प्रक्रियामार्फत विश्वकपमा पुगेको हो। कंगो र हाइटी १९७४ पछि, इराक १९८६ पछि, अस्ट्रिया, नर्वे र स्कटल्यान्ड १९९८ पछि, टर्की २००२ पछि, चेक रिपब्लिक २००६ पछि, न्युजिल्यान्ड, पाराग्वे र दक्षिण अफ्रिका  २०१० पछि, अल्जेरिया, बोस्निया हर्जगोभिना र आईभरी कोस्ट २०१४ पछि पुनः विश्वकपमा छनोट हुन सफल भएको छ भने कोलम्बिया, ईजिप्ट, पनामा र स्वीडेन २०२२ मा अनुपस्थित रहेपछि पुनः फर्किएका छन्। फिफा रेंकिङमा १२औं स्थान एवं चार पटकको विश्व च्याम्पियन ईटाली युईफा प्लेअफमा बोस्नियासँग पराजित भएपछि लगातार तेस्रो विश्वकपमा छनोट हुन असफल भयो।

यसैगरी यो पटक पोल्यान्ड, डेनमार्क, वेल्स, क्यामरुन, नाइजेरिया, कोस्टारिकाजस्ता हस्ती देशहरू पनि छनोट हुन असफल रहे। यसपटक एसियाबाट ९ टोली (अस्ट्रेलिया, इरान, इराक, जापान, जोर्डन, कतार, साउदी अरेयिबा, दक्षिण कोरिया र उज्बेकिस्तान), अफ्रिकाबाट १० टोली (अल्जेरिया, केप भर्डे, डीआर कंगो, इजिप्ट, घाना, आइभोरी कोस्ट, मोरक्को, सेनेगल, दक्षिण अफ्रिका, ट्युनिसिया), कन्काकाफबाट ६ टोली (क्यानडा, कुराकाओ, हाइटी, मेक्सिको, पानामा र संयुक्त राज्य अमेरिका, कोनमेबोलबाट ६ टोली (अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इक्वेडर, पाराग्वे, उरुग्वे), ओसिनियाबाट १ टोली (न्युजिल्यान्ड) र युईफाबाट १६ टोली (अस्ट्रिया, बेल्जियम, बोस्निया हर्जगोभिना, क्रोएसिया, चेक गणतन्त्र, इङ्ल्यान्ड, फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स, नर्वे, पोर्चुगल, स्कटल्यान्ड, स्पेन, स्विडेन, स्विट्जरल्यान्ड, टर्की छनोट हुन सफल भए।

यस विश्वकपमा कीर्तिमान १,२४८ खेलाडीले सहभागी हुनेछन्। त्यसमध्ये ८९१ ज्नाले पहिलोपटक विश्वकप खेल्दैछन् भने ३५७ खेलाडीले यसअघि पनि विश्वकप खेलिसके। अर्जेन्टिनाका लियोनेल मेसी र पोर्चुगलका क्रिश्चियानो रोनाल्डोले छैटौंपटक विश्वकप खेल्दैछन्। रोनाल्डो यसअघिका पाँच विश्वकपमा गोल गर्ने एक्लो खेलाडी हुन्। उनले २२ खेलमा ८ गोल गरिसकेका छन्। उनले फुटबलको इतिहासमा कोही पनि पुरुष खेलाडीले आफ्नो देशको लागि सबैभन्दा धेरै खेल (२२६ क्याप) खेलेको कीर्तिमान खडा गरेको छ। लियोनेल मेसी भने विश्वकपमा सबैभन्दा बढी २६ खेल खेल्ने खेलाडी हुन्। विश्वकपको इतिहासमा सबैभन्दा धेरै गोल जर्मनीका मिरोस्लाभ क्लोज (१६ गोल) ले गरेका छन् भने यो कीर्तिमान यसपटक लियोनेल मेसी (१३ गोल) र फ्रान्सका केलियन एमबाप्पे (१२ गोल) ले भंग गर्ने सम्भावना छ। यो पटक स्कटल्यान्डका क्रेग गोर्डन (४३ वर्ष १६२ दिन) र मेक्सिकोका गिल्बर्टो मोरा (१७ वर्ष २४० दिन) क्रमशः सबैभन्दा पाका र कान्छा खेलाडी हुन्।

२०२५ डिसेम्बर ५ मा वासिङ्टन डीसीस्थित केनेडी सेन्टरमा विश्वकप ड्र सम्पन्न भएको थियो। ड्र समारोहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पहिलो फिफा शान्ति पुरस्कार प्रदान गरिएको थियो। ४८ टोलीलाई १२–१२ टोलीका चार वटा पोटमा विभाजन गरिएको थियो। पोट १ मा तीन आयोजक राष्ट्र र शीर्ष ९ वरीयताका टोली थिए। पोट २, ३ र ४ मा बाँकी टोलीहरू थिए। फिफाको नियमअनुसार सम्भव भएसम्म एउटै महासंघका दुई टोली एउटै समूहमा राखिएनन् (युईफा बाहेक)। यस प्रतियोगिताको लोगो १७ मे २०२३ मा क्यालिफोर्नियाको लस एन्जलसस्थित ग्रिफिथ अब्जरभेटरीमा सार्वजनिक गरिएको थियो। यसको मुख्य डिजाइनमा ठाडो रूपमा राखिएको ‘२६’ अंकको अगाडि फिफा विश्वकप ट्रफीको वास्तविक तस्बिर समावेश गरिएको छ।

विश्वकप इतिहासमा पहिलो पटक ट्रफीलाई शैलीकृत चित्रको सट्टा फोटोको रूपमा लोगोमा समावेश गरिएको हो। यो डिजाइन विभिन्न पृष्ठभूमि र सहरका विशेषताअनुसार अनुकूलन गर्न सकिने गरी तयार गरिएको छ। भोलिपल्ट, फिफाले प्रत्येक आयोजक सहरका लागि फरक–फरक संस्करणहरू सार्वजनिक गर्‍यो। ती संस्करणहरूमा स्थानीय संस्कृति, भूगोल तथा प्राकृतिक दृश्यहरू झल्काइएका थिए। उदाहरणका लागि लस एन्जलसको लोगोमा सूर्य र समुद्री छालको चित्रण, मोन्टेरेको लोगोमा सेरो डे ला सिल्ला पर्वत र टोरन्टोको लोगोमा सहरको स्काइलाइन र सीएन टावर समावेश गरिएको थियो।

त्यसैगरी, मार्च र अप्रिल २०२५ मा फिफाले १६ वटा आयोजक सहरलाई प्रतिनिधित्व गर्ने पोस्टरहरू सार्वजनिक गर्‍यो। ती पोस्टरहरू स्थानीय कलाकारहरूले डिजाइन गरेका थिए र प्रत्येक सहरको विशिष्ट पहिचान तथा सांस्कृतिक सम्पदालाई प्रतिबिम्बित गर्ने उद्देश्य राखिएको थियो। ३ मार्च २०२६ मा आधिकारिक विश्वकप पोस्टर सार्वजनिक गरियो। पहिलो पटक तीन देशका कलाकारहरू (क्यानडाका कार्सन टिङ, मेक्सिकोका मिनेर्भा जीएम र संयुक्त राज्य अमेरिकाका हान्क विलिस थोमस) ले संयुक्त रूपमा पोस्टर तयार गरेका थिए।

विश्वकपका आधिकारिक प्रतीकहरू २५ सेप्टेम्बर २०२५ मा सार्वजनिक गरिएका थिए। उक्त प्रतिकमा क्यानडाको प्रतिनिधित्व हुने गरी मेपल द मुस (एकखाले जरायो), मेक्सिकोको प्रतिनिधित्व हुने गरी जायु द जगुआर (एकखाले चितुवा) र अमेरिकाको प्रतिनिधित्व हुने गरी क्लच द बाल्ड इगल (एक खाले चील) राखिएको छ। यस पटकको आधिकारिक खेल बलको नाम एडीडास ट्रिओन्डा राखिएको छ।

यो बलमा रातो (क्यानडा), हरियो (मेक्सिको) र नीलो (अमेरिका) रङहरूको प्रयोग गरिएको छ। तीन रङलाई जोड्ने सेतो तरंग आकार आकृति भएकाले यसको नाम स्पेनी भाषामा ट्राई (तीन) र ओन्डा (तरंग) बाट ‘ट्रिओन्डा’ राखिएको हो। यसमा मेपल पात (क्यानडा), सुनौलो चील (मेक्सिको) र पाँच कोण भएको तारा (अमेरिका) समेत समावेश गरिएको छ। १७ मे २०२३ मा यस विश्वकपको आधिकारिक थिम गीत सार्वजनिक गरिएको थियो।

विश्वकप २०२६ का खेलहरूमा प्रत्येक हाफमा तीन मिनेटको अनिवार्य पानी ब्रेक, खेलाडीलाई विश्राम एवं तापक्रम नियन्त्रणका उपायहरू लागू गरिने भएको छ। र, रंगशालाभित्र पुनः प्रयोग गर्न मिल्ने पानीका बोतलहरू लैजान प्रतिबन्ध लगाएको छ। यसपटक इरान–अमेरिका राजनीतिक तनावका कारण इरानको सहभागिता विश्वकपको सबैभन्दा विवादास्पद विषयमध्ये एक बन्यो। यसपटक फिफाले विश्वकप इतिहासमै पहिलो पटक फाइनल खेलमा हाफटाइम सो आयोजना गर्ने घोषणा गर्‍यो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.