मेरा लागि विश्वकप दसैं जस्तै हो

मेरा लागि विश्वकप दसैं जस्तै हो

फुटबलमा जस्तै गीतसंगीतमा पनि गोलरक्षकको आवश्यकता हुन्छ। राम्रो गीत बनाएर मात्रै हुँदैन, स्रष्टाहरूले त्यो गीतलाई गोलरक्षकले झैं संरक्षण गर्न पनि सक्नुपर्छ। मलाई त जीवन नै फुटबल होजस्तो लाग्छ। फुटबलमा जस्तै जीवनमा पनि कहिले सफल भइन्छ त कहिले असफल।

तीन दशकदेखि नेपाली सुगम संगीतमा क्रियाशील छन्, वरिष्ठ संगीतकार राजु सिंह२०४८ सालमा ‘प्रतिबिम्ब’ ब्यान्डमार्फत सांगीतिक यात्रा सुरु गरेका सिंहले सुगम संगीतका साथै चलचित्र, लोक, पप, भजनलगायत करिब १२ सय गीतमा संगीत भरिसकेका छन्। उनको एकल संगीतमा ३७ वटा एल्बम बजारमा आइसकेका छन्।

जोनको स्वरमा ‘रित्तो सडकमा’, दीप श्रेष्ठको ‘बादलहरू आकाशमा’, रामकृष्ण ढकालको ‘वचन तोडें कसमै तोडें’, नवीन भट्टराईको ‘मेरो साथ’ र सुगम पोखरेलको स्वरको ‘तिमी नभए’ लगायत दर्जनौं लोकप्रिय गीतमा राजुले संगीत भरेका छन्। सांगीतिक क्षेत्रका साथै प्राध्यापन क्षेत्रमा पनि क्रियाशील सिंह फुटबलका पनि ठूलै फ्यान हुन्।

रातभर जाग्राम बसेर विदेशी लिगहरू हेर्ने सिंहलाई उत्तर अमेरिकी राष्ट्रमा आयोजना भइरहेको विश्वकप फुटबलको रौनकले नछुने कुरै भएन। फुटबलका निकै ठूला फ्यान सिंहसँग विश्वकप फुटबलमा केन्द्रित रहेर अन्नपूर्णकर्मी विष्णु थापाले गरेको कुराकानी :

विश्वकप फुटबल सुरु भएको छ। यसलाई कसरी हेरिरहनुभएको छ ?     
म फुटबलको ठूलो फ्यान हुँ। विश्वका चर्चित धेरै लिग हेर्ने गरेको छु र धेरै खेलाडीको खेल नियालिरहेको हुन्छु। चार वर्षमा आउने एउटा महोत्सव भएकाले विश्वकपका पनि सबै खेल हेरिरहेको छु। विश्वकप फुटबल विश्व खेलकुदकै महाकुम्भ हो। म फुटबलको क्रेजी भएकाले चार वर्षपछि आउने विश्वकप मेरा लागि त दसैंजस्तै हो। त्यसैले मैले निकै उत्सुकताका साथ विश्वकप फुटबल हेरिरहेको छु।

यस पटक कसलाई सपोर्ट गर्दै हुनुहुन्छ ?     
म इङ्ल्यान्डको सपोर्टर हुँ। त्यहाँ पढेको र त्यहाँको इङ्ग्लिस प्रिमियर लिगलाई फलो गर्ने भएकाले सदैव इङ्ल्यान्डकै सपोर्ट गरिरहेको हुन्छु। तर, यस पटक पोर्चुगललाई पनि सपोर्ट गरिरहेको छु। त्यसको एउटै कारण क्रिस्टियानो रोनाल्डो हुन्। विश्वविख्यात सदाबहार नायक भए पनि रोनाल्डोले अहिलेसम्म विश्वकप जित्न सकेका छैनन् भन्ने आरोप लाग्दै आएको छ।

त्यो आरोपलाई गलत साबित गर्नका लागि र रोनाल्डोको सम्मानका लागि पनि पोर्चुगलले विश्वकप जितोस् भन्ने चाहना छ। पोर्चुगलपछि चाहिँ इङ्ल्यान्डलाई नै सपोर्ट गर्छु। इङ्ल्यान्ड पनि युरोपको पावर हाउस हो। इङ्ल्यान्डले सन् १९६६ पछि विश्वकप उपाधि जित्न सकेको छैन। यस पटक इङ्ल्यान्डलाई त्यो अवसर छ। म इङ्ल्यान्डको समर्थक भएकाले 
उसैले विश्वकप जितोस् भन्ने चाहन्छु।

पहिले र यस पटकको विश्वकपमा केही फरक पाउनुभएको छ ?     
यस पटक इतिहासमै सबैभन्दा धेरै ४८ वटा टिमले विश्वकप खेलिरहेका छन्। सबैभन्दा सानो जनसंख्या भएको देशले पनि खेलिरहेको छ। खेलकुद भनेको भौगोलिक, आर्थिक र सामाजिकभन्दा पनि माथि हो र अहिले ‘टिम स्पिरिट’ सबै टोलीमा देखिएको छ। पहिलेजस्तो यही टोलीले जित्छ भनेर ठोकुवा गर्न कठिन छ। सबै टोली सशक्त छन्। यस पटकको विश्वकपमा धेरै नयाँ नियम लागू गरिँदै छन्। डिहाइड्रेसन ब्रेकसँगै भीएआरको नियम पनि परिमार्जन भएको छ। यसले फुटबललाई अझ रोमाञ्चक र अनुशासित बनाउने विश्वास छ। यससँगै पहिलो पटक तीनवटा राष्ट्रमा विश्वकप फुटबल आयोजना भइरहेको छ। नेपाली समर्थकका लागि समय नमिले पनि धेरैले यसको व्यग्र रूपमा प्रतीक्षा भने गर्दै आएका थिए।
अहिले धेरै नयाँ टोलीले पनि विश्वकप खेल्दै छन्। उलटफेरको सम्भावना चाहिँ कत्तिको देख्नुहुन्छ ?     
विश्वकपसम्म पुग्नु नै धेरै टोलीका लागि ठूलो सपना पूरा हुनु हो। तथापि ती देशमा पनि उत्कृष्ट खेलाडी छन्। सानो वा ठूलो देशभन्दा पनि ती देशका खेलाडीले मैदानमा गर्ने प्रदर्शनले धेरै अर्थ राख्छ। उत्कृष्ट प्रदर्शन गर्ने टोलीले जुनसुकै बेला राम्रो नतिजा दिन सक्छ।

नेपाली फुटबललाई चाहिँ कत्तिको सपोर्ट गर्नुहुन्छ ?     
नेपालको खेल हुँदा दशरथ रंगशालामा पुगेर धेरै पटक खेल हेरेको छु। अन्तर्राष्ट्रिय खेल हुँदा राष्ट्रिय झन्डा बोकेको र गालामा झन्डा बनाएको क्षण सम्झिँदा पनि गर्व लाग्छ। फुटबलले हामीलाई एकसूत्रमा बाँध्ने काम गर्छ। दशरथ रंगशालामा फुटबल चलिरहँदा यसले जाति, भाषा र धर्मलाई एकतामा बाँध्ने काम गरिरहेको हुन्छ। घरेलु लिगहरू पनि म नियमितजसो हेर्ने गर्छु। 
मनाङ मस्र्याङ्दी, नेपाल पुलिस क्लब र थ्रीस्टार क्लबका खेलहरू निकै हेर्ने गरेको छु।

पछिल्लो समय नेपाली फुटबल लयमा छैन भनिन्छ नि ? खासमा के हो ?     
अहिले मैदानमा भन्दा पनि मैदानबाहिर राजनीति भइरहेको छ। लिगहरू नियमित हुन सकेका छैनन्। खेलाडीहरू विदेश पलायन भइरहेका छन्। देशमा फुटबलका यथेष्ट प्रतियोगिताहरू आयोजना नहुँदा पनि खेलाडी मारमा परिरहेका छन्। यसले निकै ठूलो असर पारेको छ। यससँगै मैदानको पनि अभाव छ।

नेपाली फुटबलको ‘लाइफ लाइन’ दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मापदण्ड नपाउँदा पनि फुटबलले अपेक्षित गति लिन सकेको छैन। हामीभन्दा निकै पछि रहेका भुटान, पाकिस्तान र बंगलादेशले हामीलाई उछिनिसकेका छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा त पछिल्लो समय प्रतियोगिताहरू नै भइरहेका छैनन् र हाम्रा खेलाडीले खेल्न पाएका छैनन्। यी सबै कुरा हेर्दा दुःख लाग्छ।

नेपालले विश्वकप खेल्ने दिन आउला जस्तो लाग्छ त ?     
विश्वकप खेल्ने सपना सबै देशको हुन्छ, हाम्रो पनि सपना छ। तर, अब त्यो सपना धेरै टाढा छैनजस्तो लाग्छ। फिफाले यही विश्वकपदेखि सहभागी टोलीको संख्या बढाएको छ, जसले हामीलाई पनि फाइदा पुग्छ। नेपाल दक्षिण एसियामा त पावर हाउस नै हो। त्यो सपना पूरा हुन केही समय लाग्ला तर असम्भव भने छैन। यसका लागि सरकार र सम्बन्धित निकाय गम्भीर भएर लाग्नुपर्छ।

फुटबलको तपाईं एक्लै फ्यान हो कि परिवारका सदस्यहरू पनि रमाउनुहुन्छ ?     
मेरो सिंगो परिवार नै फुटबलमा रमाउँछ। विश्वकपमात्रै होइन, राति हुने अन्य लिग पनि सँगै बसेर हेर्छौं। कहिलेकाहीँ त फुटबल नभएको भए पनि हुन्थ्यो जस्तो लाग्छ, किनकि रातभरि फुटबल हेर्दा बिहान उठेर काम गर्नै सकिँदैन। मेरो परिवार नै फुटबलमय छ। घरमा चेल्सी, म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी, लिभरपुल सबैका फ्यान छन्। सबैजना सँगै बसेर रमाइलो गर्दै खेल हेर्छौं। आफूले सपोर्ट गरेको टिमले जित्दा अरूलाई जिस्काउने पनि गरिन्छ, जसले गर्दा झनै रमाइलो हुन्छ। त्यसैले घरमा बसेर हेर्नु र बाहिर गएर हेर्नुमा खासै फरक छैन।

संगीतकार नभएको भए तपाईंको रुचि केमा हुन्थ्यो ?     
सांगीतिक क्षेत्रमा आबद्ध नभएको भए फुटबलकै कुनै न कुनै भूमिकामा हुन्थें होला।

सानोमा फुटबल खेल्नुहुन्थ्यो ?     
सानो छँदा फुटबल निकै खेलिन्थ्यो। म पुतलीसडकमा हुर्किएको हुँ। सानोमा हाम्रो मैदान भनेकै टुँडिखेल थियो। टोलका दाइहरूसँग टुँडिखेलमा पुगेर खेलिन्थ्यो। टुँडिखेल पनि भाग लगाइएको हुन्थ्यो।

टुँडिखेलको पश्चिमतिरको भागमा असन, इन्द्रचोक, ठमेललगायतका मानिस खेल्थे भने पूर्वतर्फ पुतलीसडक, डिल्लीबजारलगायतका क्षेत्रका मानिसले खेल्थे। स्कुल जीवनमा पनि धेरै नै फुटबल खेलियो। उच्च शिक्षाका लागि बाहिर गएपछि भने खेल्न पाइएन। आफूले खेल्न नपाएपछि हेर्न थालियो।

संगीत सिर्जना गर्दा पनि फुटबलको झल्को आउँछ होला नि ?     
संगीत सिर्जना गर्दा पनि फुटबललाई नै सम्झेर गरिरहेको हुन्छु। संगीतमा पनि फुटबलमा जस्तै एउटा टिम हुन्छ। फुटबलमा राम्रो स्ट्राइकर नभई जितिँदैन भनेजस्तै संगीतमा पनि राम्रो गायक नभई राम्रो गीत बन्दैन। फुटबलमा जस्तै संगीतमा पनि ११ जनाकै टिम हुन्छ। गीतकार, संगीतकार, गायक, एरेन्जर, रेकर्डिङ, मिक्सिङ, म्युजिक भिडियो निर्देशकलगायतले आआफ्नो क्षेत्रमा काम गरिरहेका हुन्छन्। सबैको ‘टिमवर्क’ भएमा मात्रै गीत पनि राम्रो बन्न सक्छ।

फुटबलमा जस्तै गीतसंगीतमा पनि गोलरक्षकको आवश्यकता हुन्छ। राम्रो गीत बनाएर मात्रै हुँदैन, स्रष्टाहरूले त्यो गीतलाई गोलरक्षकले झैं संरक्षण गर्न पनि सक्नुपर्छ। मलाई त जीवन नै फुटबल होजस्तो लाग्छ। फुटबलमा जस्तै जीवनमा पनि कहिले सफल भइन्छ त कहिले असफल। फुटबलको भाषामा भन्नुपर्दा कहिले जितिन्छ र कहिले हारिन्छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.