तुलसी बने पहिलो नेपाली ‘ग्रान्डमास्टर’

तेक्वान्दोमा ९ डान प्राप्त गरेर रचे इतिहास

तुलसी बने पहिलो नेपाली ‘ग्रान्डमास्टर’

तेक्वान्दोमा ९ डानको उपाधि जति सम्मानजनक मानिन्छ उति नै यो विश्वस्तरमै प्रतिष्ठित पनि मानिन्छ। तेक्वान्दोका खेलाडीलाई यो स्तरसम्म पुग्न आफ्नो जीवन नै समर्पित गर्नुपर्ने हुन्छ ।

हङकङ : नेपाली तेक्वान्दो खेलमा कीर्तिमान बनाउँदै तुलसीकुमार गुरुङले सबैभन्दा माथिल्लो र अन्तिम उपाधि मानिने ९ डान प्राप्त गरेका छन् । 

‘यो उपाधि प्राप्त गर्नु अत्यन्तै कठिन छ । गुरुङले पाउनुभएको यो उपाधिले तेक्वान्दोप्रति समर्पित सम्पूर्ण खेलाडी र देशकै शिर उँचो बनाएको छ,’ ओलम्पियन दीपक विष्टले भने । उनका अनुसार ७ डान प्राप्त गरिसकेपछि ८ डानका लागि ७ वर्ष र ९ डानका लागि अर्को ८ वर्ष तेक्वान्दोमै निरन्तर क्रियाशील रहनुपर्छ । 

नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष अशोक खड्काले गुरुङको उपलब्धि राष्ट्रकै लागि गौरवको विषय भएको बताए । ‘यो उपाधि प्राप्त गर्न ४०/४५ वर्ष निरन्तर तेक्वान्दोमै क्रियाशील रहेर शारीरिक रूपमा तन्दुरुस्त हुनै पर्छ, ‘खड्काले भने, ‘संसारमै यो उपाधि दुर्लभ मानिन्छ । यो कठिन छ, समर्पण चाहिन्छ ।’

गुरुङले गत वर्ष डिसेम्बरमा ९ डान प्राप्तिका लागि कोरियाको सियोलस्थित विश्व तेक्वान्दो महासंघमा प्रयोगात्मक र लिखित परीक्षा दिएका थिए । महासंघले १८ चैतमा नतिजा घोषणा गरेको हो । यस वर्ष जुनमा आयोजना हुने कार्यक्रममा गुरुङलाई प्रमाणपत्र प्रदान गरिनेछ । 

गुरुङको खेल समर्पण
६३ वर्षका गुरुङ हङकङमा बसोबास गर्छन् । उनी हङकङ तेक्वान्दोका प्रमुख प्रशिक्षकसमेत भइसकेका छन् । नेपालमा मात्र होइन, हङकङको खेलकुद इतिहासमा पनि यो स्थान हासिल गर्ने गुरुङ पहिलो नेपाली हुन् । पूर्वब्रिटिस गोर्खा सैनिक उनी सन् १९८२ र १९८३ मा आयोजित ‘हङकङ ओपन ब्ल्याक बेल्ट कम्पिटिसन’ का स्वर्ण पदक विजेता हुन् ।

१७ वर्षको उमेरदेखि तेक्वान्दोमा निरन्तर सक्रिय गुरुङले ९ डान परीक्षा पास गर्न निकै चुनौतीपूर्ण रहे पनि सफल भएकामा खुसी व्यक्त गरे ।

सन् १९८३ मा उनले हङकङको प्रतिनिधित्व गर्दै डेनमार्कको कोपनहेगनमा आयोजित ‘वल्र्ड तेक्वान्दो च्याम्पियनसिप’ मा सहभागिता जनाएका थिए । ब्रिटिस सैनिक खेलाडीबीचको प्रतिस्पर्धामा सर्वोत्कृष्ट भएपछि उनलाई हङकङ ओपनमा सहभागी हुने अवसर जुरेको थियो ।

सन् १९९३ मा अमेरिकामा आयोजित विश्व तेक्वान्दो च्याम्पियनसिप र १९९५ थाइल्यान्डमा आयोजित इष्ट एसियन गेम्समा गुरुङ अफिसियल रेफ्री थिए । त्यसो त नेपाली खेलकुदमा समेत उनले इतिहास रचेका छन् । २०४० मा पोखरामा आयोजित दोस्रो राष्ट्रिय खेलकुदमा गुरुङले मार्सल आट्र्सतर्फ स्वर्ण पदकसहित उत्कृष्ट फाइटरको उपाधि जितेका थिए ।

त्यतिबेला कराँतेका चर्चित खेलाडी मोहन राईलाई गुरुङले क्वाटरफाइनलमा पराजित गरेका थिए । सेनाबाट अवकाश लिइसकेपछि पनि उनी निरन्तर तेक्वान्दोमै सक्रिय रहे । सन् २००१ मा गुरुङले ‘हङकङ नेप्लिज तेक्वान्दो महासंघ’ गठन गरेका थिए । त्यसयता उनको प्रशिक्षणमा २ हजारभन्दा बढीले ब्ल्याक बेल्ट लिइसकेका छन् ।

नेपालको हितमा काम गर्ने चाहना
१७ वर्षको उमेरदेखि तेक्वान्दोमा निरन्तर सक्रिय गुरुङले ९ डान परीक्षा पास गर्न निकै चुनौतीपूर्ण रहे पनि सफल भएकामा खुसी व्यक्त गरे । ‘तेक्वान्दो खेलप्रतिको मेरो प्रेम, निरन्तर मेहनत र समर्पणका कारण ९ डान प्राप्त हुन सकेको हो भन्ने मलाई लाग्छ, ‘गुरुङले भने, ‘यो उपाधि प्राप्त गर्न जति मेरो भूमिका छ, त्यति नै मलाई मेरो परिवारको हौसलाले भूमिका खेलेको छ ।’

गुरुङले नेपालमा तेक्वान्दो खेलको विकासका लागि केही महत्वपूर्ण योजनाका साथ काम पनि गरिरहेका छन् । त्यो योजना एक वर्षभित्र पूरा गर्ने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ । ‘तेक्वान्दोको प्रोजेक्टमा मैले काम गरिरहेको छु । त्यसमा नेपालभरीका तेक्वान्दो खेलाडीलाई सहयोग मिल्नेछ,’ उनले सुनाए,‘खेलाडीको सपना पूरा गर्न हाम्रो अधिकतम प्रयत्न रहनेछ,सम्भवत यही वर्ष हाम्रो प्रोजेक्टको काम सकिनेछ ।’

यसकारण दुर्लभ मानिन्छ ९ डान
तेक्वान्दोमा ९ डानको उपाधि जति सम्मानजनक मानिन्छ उति नै यो विश्वस्तरमै प्रतिष्ठित पनि मानिन्छ। तेक्वान्दोका खेलाडीलाई यो स्तरसम्म पुग्न आफ्नो जीवन नै समर्पित गर्नुपर्ने हुन्छ । तेक्वान्दोको विकासमा महत्वपूर्ण योगदान दिने, असाधारण सीप र नेतृत्व क्षमता प्रमाणित गर्ने खेलाडीलाई मात्र यो उपाधि प्रदान गरिन्छ । 

यो उपाधि कुक्कीवोन (विश्व तेक्वान्दो मुख्यालय) र आईटीएफ (अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ) लगायतका अन्तर्राष्ट्रिय मान्यताप्राप्त संस्थाहरूले प्रदान गर्छन् । विश्वमा यस्तो उपाधि प्राप्त गर्नेहरूको संख्या करिब ५० मात्र रहेको छ । 

सामान्यतः कम्तीमा ६० वर्षको उमेर कटेको तेक्वान्दो खेलाडीलाई मात्र यो उपाधि प्रदान गरिन्छ । ९ डान पाउने तेक्वान्दोका खेलाडीलाई ‘ग्रान्डमास्टर’ भनेर सम्बोधन गरिन्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.