गलेश्वरमा शिवरात्रीमा चार लाख ३३ हजार भेटी संकलन

गलेश्वरमा शिवरात्रीमा चार लाख ३३ हजार भेटी संकलन
सुन्नुहोस्

बेनी : बेनी नगरपालिका–९ मा रहेको धार्मिक स्थल गलेश्वर मन्दिरमा यस वर्षको शिवरात्री पर्वमा चार लाख ३३ हजार रुपैयाँ भेटी संकलन भएको छ। 

शिवरात्री पर्वको अवसरमा बुधवार गलेश्वर मन्दिरमा पूजाआजा र दर्शनका लागि आएका भक्तजनहरुले चढाएको भेटी बिहीवार बिहान गलेश्वर शिवालय क्षेत्र विकास कोषको कार्यालय परिसरमा गनिएको हो। कोषका कोषाध्यक्ष कुमारी पुनले कोषका पदाधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा गनेर सार्वजनिक गरिएको बताइन्।

उनका अनुसार गत साउन महिनादेखि यही फागुन १४ गतेसम्म पूजाआजा र दर्शनका लागि आएका भक्तजनहरुले ५१ लाख २२ हजार एक सय ५४ रुपैयाँ भेटी संकलन भएको छ। कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले भक्तजनको आगमनसँगै भेटी पनि बढेको बताए।  

उनका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा कुल ५८ लाख ४० हजार पाँच सय १० रुपैयाँ भेटी संकलन भएको थियो। यस वर्ष नियमित २५ लाख १५ हजार पाँच सय ४७ र मेलापर्वमा २६ लाख छ हजार छ सय छ रुपैयाँ भेटी संकलन भएको अध्यक्ष रेग्मीले बताए। 

मंसिरको बालाचर्तुदशीमा छ लाख ६१ हजार दुई सय ९४ र साउन सोमबारको मेलामा  १५ लाख दश हजार सात सय २४ रुपैयाँ भेटि संकलन भएको थियो। अन्य शीर्षकमा २१ लाख ४२ हजार पाँच सय २८ रुपैयाँसहित कोषले साउन महिनादेखि हालसम्म कुल ७२ लाख ६४ हजार छ सय ८२ रुपैयाँ आम्दानी गरेको कार्यालय सचिव राम बानियाले बताए। 

मन्दिरको आम्दानी कार्यालय, पूजा व्यवस्थापन, मन्दिरका पुजारी, जेष्ठ नागरिक आश्रमका भान्सेको तलबका साथै संस्कृति विद्यालय सञ्चालनमा परिचालन गरिएको कोषले जनाएको छ। गलेश्वरमा भक्तजनले चढाउने भेटी मेलाको भोलिपल्टै र अन्य समयमा मासिकरुपमा गणना गरेर सार्वजनिक गर्ने प्रचलन छ। 

भेटी महायज्ञबाट संकलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब ११ करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष बमबहादुर पुनले बताए।  

धर्मशाला, सभाहल, वाटिका, यज्ञशाला, पाठशाला, पुजारी निवास, भोजनालय, कालीगण्डकीसम्म पुग्ने मार्ग, १०८ शिवलिंग, जडभरत, नटराज र लक्ष्मी नारायणको मुर्ति स्थापना लगायत भौतिक संरचना निर्माण भएका हुन्। 

कालीगण्डकी नदी किनारको ९ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दू तथा वौद्ध धर्मावलम्बिहरुको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वारा मानिन्छ। 

हिन्दुधर्म ग्रन्थमा सतिदेबीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउन महिनाको सोमबार, बालाचर्तुदशी र शिवरात्री पर्वमा विशेष मेला लाग्ने छ। दैनिक नित्य पूजाआजा हुने गर्छ। गलेश्वर दर्शन र पूजाआजा गरेमा मनोकाक्षा पूरा हुने धार्मिक विश्वास छ। 
 
गलेश्वर मन्दिरमा बिहीवार बिहान भेटि गनिँदै। तस्विर : सन्तोष गौतम।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.