सञ्चालन भएन रातोढुंगा सबस्टेसन

सञ्चालन भएन रातोढुंगा सबस्टेसन
सुन्नुहोस्

बेनी : म्याग्दीको पश्चिमी क्षेत्रका तीनवटा स्थानीय तहमा विद्युत् आपूर्ति गर्न निर्माण भएको प्रसारण लाइन र सबस्टेसनको परीक्षण भएको एक वर्षसम्म पनि सञ्चालनमा आउन सकेको छैन। 

पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकदेखि म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुंगा जोड्ने २२ किलोमिटर दूरीको प्रसारण लाइन र रातोढुंगामा निर्माण भएको ३३/११ केभी क्षमताको सबस्टेसन सञ्चालनमा ल्याउन ढिलाइ भएको हो। 

२०८० सालको माघ महिनामा गरिएको परीक्षण सफल भए पनि आयोजना, निर्माण कम्पनी र नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रको खिचातानीका कारण सञ्चालनमा आउन नसकेको मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले बताए। 

६ वर्षअघि नै सम्पन्न हुनुपर्ने सबस्टेसन र प्रसारण लाइन निर्माणमा भएको ढिलाइले म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मंगला, मालिका र धवलागिरि गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन विस्तार र विद्युत् आपूर्ति प्रभावित भएको उनले बताए। 

हाल मिलनचोक सबस्टेसनबाट चार वटा फिडरबाट लामो दूरीमा विद्युत् आपूर्ति गराउँदा समस्या भएको छ। २० किलोमिटर दूरीसम्म एउटा सबस्टेसनबाट विद्युत् आपूर्ति गराउने मापदण्ड भए पनि ८० किलोमिटरसम्म वितरण गर्नुपर्दा नियमित विद्युत् आपूर्ति गराउन प्राविधिक समस्या भएको हो। म्याग्दी खोलामा निर्माणाधीन चारवटा जलविद्युत् आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग ६ मेगावाट विद्युत माग गरेका छन्। 

उनीहरूलाई रातोढुंगा सबस्टेसनमार्फत विद्युत् उपलब्ध गराउने सम्झौता छ। तर सबस्टेसन सञ्चालन नहुँदा जलविद्युत् आयोजनाहरूले पेट्रोलियम पदार्थको सहायताले उपकरण सञ्चालन गर्नु परेको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाका प्रमुख ज्योतिकुमार केसीले बताए। 

एकातर्फ निर्माणाधीन जलविद्युत् आयोजनाहरूले इन्धन प्रयोग गर्दा व्ययभार बढेको छ भने अर्कोतर्फ विद्युत् प्राधिकरणले विद्युत् बेचेर हुने आम्दानी गुमाएको छ। बेनीबाट ‘टिपिङ’ (लाइन जोडेर) प्रसारण लाइन र सबस्टेसनको परीक्षण गरिए पनि नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रले मिलनचोक सबस्टेसनबाटै लाइन जोड्नुपर्ने अडान लिएको छ। 

केन्द्रका प्रमुख सत्यनारायण गामीले ठेक्का सम्झौता र प्राविधिक हिसाबले दीर्घकालीन रूपमा सञ्चालन गर्न मिलनचोकबाटै लाइन आपूर्ति गराउन अडान लिएको बताए। नेपाल विद्युत् प्राधिकरणमार्फत ए टु जेड इन्जिनियरिङले सन् २०१६ मा ठेक्का लिएको सबस्टेसन र प्रसारण लाइन सन् २०१८ को डिसेम्बरमा सक्ने लक्ष्य थियो। 

निर्माण कम्पनीका प्रतिनिधि पद्यसागर लुइँटेलले बेनीदेखि मिलनचोकसम्म थप ५० वटा पोल गाड्नुपर्नेमा आनन्दबगर क्षेत्रमा पाँचवटा पोल पर्ने ठाउँमा जग्गाधनीले अवरोध गरेकाले काम रोकिएको बताए। आयोजना प्रमुख बोधराज ढकालले जनप्रतिनिधि र प्रशासनसँग विवाद समाधानका लागि सहजीकरण गरिदिन अनुरोध गरेको बताए। 

रोकिएको पोल गाड्ने र तार तान्न काम सकिएपछि प्रसारण लाइन र सबस्टेसन सञ्चालन गर्न सकिने बताए। सुरुवाती चरणमा जग्गा अधिग्रहणमा भएको ढिलाइका कारण प्रभावित बनेको थियो। पोल गाड्ने र तार तान्ने क्रममा जग्गाधनीको अवरोधले रोकिएको आयोजनाको काम २०८० को जेठ महिनामा चार वर्षपछि सुचारु भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.