अपर म्याग्दी–१ जलविद्युत आयोजनाको बाँध निर्माण थालियो

अपर म्याग्दी–१  जलविद्युत आयोजनाको बाँध निर्माण थालियो
म्याग्दीको धवलागिरी गाउँपालिका–४ खाम्लामा अपर म्याग्दी १ जलविद्युत आयोजनाको बाँध निर्माण सुरू गरिँदै । तस्बिर : सन्तोष गौतम

बेनी : ५३ दशमलब पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत आयोजनाको बाँध निर्माण थालिएको छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाले धवलागिरी गाउँपालिका–४ खाम्लामा म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण थालेको हो । 

धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, पूर्वअध्यक्ष थमसरा पुन,धवलागिरी–४ का वडा अध्यक्ष यामप्रसाद घर्तिमगरलगायत जनप्रतिनिधि र स्थानीय अगुवाहरूको उपस्थितिमा बाँध निर्माण कार्यको सुरुवात गरिएको आयोजना प्रमुख ज्योतिकुमार केसीले बताए । जग्गा व्यवस्थापनको काम सकेर म्याग्दी नदीको दायाँतर्फ ढलान गरेर औपचारिक रुपमा बाँधको पक्की संरचना निर्माण सुरू गरेको उनले बताए ।  

वि.स.२०८० चैत १९ मा सम्झौता र २०८१ बैशाख २८ गते कार्यक्षेत्रमा परिचालित भएको सिभिल ठेकेदार लुना बिल्डर्स एण्ड कन्ट्याक्टरले पहाड काटेर बाँध निर्माण स्थल तयार पारिसकेको छ । वि.स.२०८३ फागुन २१ गते विद्युत उत्पादन गर्ने लक्ष्यसहित बाँधसँगै सुरुङ र विद्युतगृह निर्माणको कामलाई तीव्रता दिएको आयोजनाका प्रबन्ध निर्देशक लक्ष्मण न्यौपानेले बताए ।  

वि.स. २०८१ भदौ १२ गतेदेखि धवलागिरी–४ छहरीमा सुरू भएको एक सय ९८ दशमलब ९० मिटर लामो अडिट नम्बर २ को प्रवेशमार्ग सुरुङ खनेर थप पाँच सय ३० मिटर मुख्य सुरुङ निर्माण भइसकेको छ । पाँच किलोमिटर सात सय मिटर सुरुङ मध्य केही दिनमा बाँध र मालिका गाउँपालिका–७ भारवाङको आउटलेट तर्फबाट पनि खन्न सुरू गर्ने तयारी गरेको छ । 
  
सानीमा बैङ्कको नेतृत्वमा छवटा बैङ्कको ऋण, प्रर्वद्धक कम्पनी र सर्वसाधारणको सेयरमार्फत् जुटाइने ११ अर्ब २३ करोड २७ लाख छ हजार रुपैयाँको लगानीमा निर्माण हुने आयोजनाको विद्युतगृह मालिका गाउँपालिका–७ भारवाङमा रहनेछ । भारवाङदेखि एक दशमलब पाँच किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन बनाएर नेपाल विद्युत प्राधिकरणले मालिका गाउँपालिका–७ डाडाखेतमा निर्माण गरिरहेको एक सय ३२ केभी क्षमताको सवस्टेसनबाट यस आयोजनाबाट वार्षिक औसत तीन सय १५ दशमलव ०१ गिगावाट घण्टा विद्युत केन्द्रीय लाइनमा जोडिनेछ । 

बाँध निर्माण स्थलनजिकै एक सय मिटर लामो र १५ मिटर अग्लो तीन वटा पानी थिग्राउने पोखरी निर्माण गर्न जग्गा व्यवस्थापन भइरहेको छ । हालसम्म १६ दशमलब पाँच प्रतिशत भौतिक प्रगति भएको छ । रन अफ द रिभर प्रकृतिको आयोजनाको आउटलेट देखि विद्युतगृहको उचाई १९६ मिटर रहेको छ । आउटलेटबाट पानीलाई विद्युतगृहमा खसाल्न छ सय ९२ मिटर पेनस्टक पाइप जडान गरिने भएको छ । 

उर्जा इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सोलु सन प्राली परामर्शदाता रहेको यस आयोजनाको मेकानिकल र इलेक्ट्रो मेकानिकल ठेकेदार छनौटको प्रक्रियामा रहेको छ । अपर म्याग्दी–१ को प्रर्वछक कम्पनी उर्जा डेभलपर्स प्रालीमा आवद्ध छ । 
  
भारवाङदेखि बाँध निर्माण स्थलसम्म नौ किलोमिटर पहुँचमार्ग निर्माण गरिसकेको आयोजनाले सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि बिनियोजन गरेको छ करोड २० लाख बजेटबाट प्रभावित क्षेत्रमा सडक निर्माण,शिक्षा,स्वास्थ्य,मठमन्दिरलाई हालसम्म एक करोड नौ लाख १५ हजार सहयोग गरेको जनाएको छ । 

बाँध निर्माण कार्यको सुरुवात गर्दै गाउँपालिका अध्यक्ष र पुर्वअध्यक्ष पुनद्धय,वडा अध्यक्ष घर्ती र वुद्धीविकास माविका प्रअ जगबहादुर किसानले आयोजनालाई निर्धारित समयमा सम्पन्न गराउन सहयोग गर्ने प्रतिवद्धता जनाए । आयोजनामा आवश्यक पर्ने स्थानीय जनशक्तिलाई प्राथमिकता दिएर रोजगारी सिर्जनामा सघाउन आग्रह गरेका थिए । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.