प्रश्नले लखेट्न छोडोस्

प्रश्नले लखेट्न छोडोस्

म एक आम नेपाली। म राष्ट्रिय युवा नीति २०७२ को परिभाषाभित्र पर्ने प्रतिनिधि युवा। म यो देशको सुनौलो इतिहास माथि गर्व गर्दै समृद्ध भविष्यको सपना देख्नेहरूबीचको नेपाली। यो देशबाट अधिकार मात्र नखोजी देशप्रतिको आफ्नो कर्तव्यसमेत पूरा गर्नुपर्दछ भन्ने सोच बोकेको युवा। म देशभित्रै बसेर देश निर्माणमा एक हिस्सेदार बन्न चाहने कर्मठ नेपाली। तर पनि विगत केही वर्षहरूदेखि मलाई निरन्तर एउटै प्रश्नले लखेटिरहेको छ, ‘म किन नेपाल बस्ने ?’ 

मानिस स्वभावैले डुलन्ते प्राणी हो। उदवकासको इतिहासदेखि नै जबजब मानिसको जीवनमा सामाजिक, आर्थिक, राजनीतिक वा प्राकृतिक विचलनहरू आए तबतब मानिस आफ्नो जीवनयापनलाई सरल र सहज बनाउन एक स्थानबाट अर्को स्थान तर्फ बसाइँ सर्दै गयो। कहिले नयाँ स्थानसँगै प्राप्त हुने नयाँ अवसरले मानिसलाई तान्दै लग्यो त कहिले पुरानो स्थानको विकर्षणले धकेल्दै लग्यो। यही सिलसिलामा कुनै समय हाम्रा पुर्खाहरू नफर्किने गरी असम छिरे। भुटान र बर्मा पसे। त्यहाँदेखि आजसम्म पनि यो प्रक्रिया निरन्तर चलिरहेको छ। बदलियो त केवल गन्तव्य। आज असम र बर्माको स्थान अस्ट्रेलिया, युरोप, अमेरिका र जापानले लिएको छ।

अध्यागमन विभागको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ मा मात्र १ लाख १९ हजार ४ सय ९ विद्यार्थीले अध्ययन भिसामार्फत यो देश छाडेका छन्। जसमध्ये लगभग ९० प्रतिशतभन्दा बढीमा अध्ययनभन्दा पनि स्थायी बसोबासका निमित्त देश छाड्ने मनोभाव देखिन्छ। त्यतिमात्र होइन सन् २०२४ मा नै ६६ हजार ८ सय ३५ ले आधिकारिक रूपमै स्थायी बसोबासका लागि भनेर यो देश छाडेका छन्। यसरी नयाँ अवसरको आकर्षणमा जब मानिस अस्वाभाविक गतिमा कुनै देश नफर्किने गरी छाड्न थाल्छ तब उक्त देशको जनसांख्यिकीमा शताब्दीऔंसम्म प्रभाव पार्ने गरी खतराको घण्टी बज्न थाल्छ। यो देश आज ठीक त्यही बिन्दुमा उभिएको छ। मानिस परिवर्तन चाहन्छ।

जमेको पोखरीबाट बग्ने नदी बन्न चाहन्छ। आफ्नो यथास्थितिबाट उठेर अग्रगामी छलांग मार्दै विकसित हुन चाहन्छ। वैश्विक वातावरणमा घुल्न चाहन्छ। प्रविधिले ल्याएको उथलपुथललाई केन्द्रबिन्दुमै गएर अनुभव गर्न चाहन्छ। तर के मानिसका यी सबै चाहनाहरूलाई यो देशको नेतृत्वले आजसम्म सम्बोधन गर्न सक्यो त ? यस किसिमको वातावरण यही निर्माण गर्ने एक कोसिससम्म पनि यहाँको नेतृत्वले गर्‍यो त ? देशभित्र केही गर्दै नगरी हुँदैन भन्दै स्थायी रूपमा देश छाड्नेहरूको त बेग्लै कुरा, तर के यहीँ अनेक गर्दा पनि नभएर चारैतिर अँध्यारो देखिरहेकाहरूको पीडा यो देशले कुनै दिन सुन्न सक्यो र ? अनि देश खाली हुने भयो मात्रै भनिरहनुको के अर्थ ?      

संसार कहाँबाट कहाँ पुगिसक्यो। मात्र केही दशकअघिसम्म एकै रफ्तारमा हामीसँगै यात्रा गरेका हामी जस्तै मुलुकहरू आज हामीभन्दा धेरै माथि पुगिसके। सन् २००० मा आधा जनसंख्या भोकमरीमा बाँच्न विवश देश आज तीव्र गतिको आर्थिक वृद्धिका साथ वैश्विक प्रतिस्पर्धामा दौडिरहेको छ। हामीले जलविद्युत्को विकास गर्दा जलविद्युत् नभएको देश आज पृथ्वीको गतिलाई नै ०.६ माइक्रो सेकेन्ड ढिला गरिदिने गरी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। जैविक प्रविधि र सूचना प्रविधिमा आएको क्रान्तिले मानव उदवकासको उपलब्धि माथि नै प्रश्नचिह्न खडा गरिदिएको छ। भौतिकशास्त्र क्वान्टम युगमा प्रवेश गरिसकेको छ। अन्तरिक्ष विज्ञान पृथ्वीको विकल्प खोज्नमा तल्लीन छ।

कृत्रिम बौद्धिकताको गति हेर्दा लाग्छ यसले श्रमबजारमात्र हैन मानव मस्तिष्कलाई नै विस्थापित गरिदिनेछ। विकास र समृद्धिको सवालमा प्रकृतिको गतिलाई नै मात खुवाइदिने गरी संसार एकातिर यसरी कुदिरहेको छ त अर्कातिर हामी भने आज पनि चौरमा जनता भेला पारेर मृत भई सडिसकेका राजनीतिका थोत्रा सिद्धान्त घोकाउनमा नै व्यस्त छौं। आज पनि हामी चाहिँ कछुवा गतिको विकास देखाउँदै गणतन्त्रको उपलब्धि भन्दै नाकको पोरा फुलाउनमा नै मस्त छौं। देश दिनप्रतिदिन अधोगतितर्फ गइरहँदा हाम्रो प्राथमिकता भने आज पनि को कहाँको राजदूत, को कुन संस्थानको प्रमुख, को कति पटक मन्त्री र प्रधानमन्त्री बन्ने भन्नेमा नै छ।

गाउँका चिया पसलदेखि राजधानीका तारे होटलसम्म आज पनि गरिनुपर्नेभन्दा नगरिनुपर्ने बहस मै हामी केन्द्रित छौं। देश सारा अस्तव्यस्त छ। समाजको सानो इकाइदेखि केन्द्रसम्मको पारा लथालिंग र भताभुंग छ। मूल्य र मान्यता मर्दैैछ। बौद्धिकता धराशायी हुँदै छ। सही र गलत छुट्ट्याउने आँखाहरू अन्धो हुँदैछन्। स्वविवेकको प्रयोगभन्दा पनि भिडको पछि लाग्ने गणेशमानका पालाका जनताहरू आज पनि उति नै छन्। भ्रष्टाचार र बेथिति चितुवा गतिमा बढ्दो छ। राष्ट्रिय बजेटभन्दा ठूलो व्यापार घाटा छ। महँगी र बेरोजगारी तीव्र छ। उद्यमशीलतालाई कुनै प्रोत्साहन छैन। लगानी सुरक्षाको प्रत्याभूति छैन। अर्थतन्त्रको ढाँचा उत्पादनभन्दा पनि रेमिटेन्स र वैदेशिक सहायतामुखी छ। विकृत राजनीतिका बाछिटाहरू समाजको हरेक तह र तप्कामा छरपस्ट देखिन्छन्। तर पनि बहुसंख्यक जनता भने आज पनि दलीय राजनीतिको ट्याग आफैं झुन्ड्याएर बढो ठाँटका साथ हिँडिरहेका छन्। सडकमा गुड्ने सवारीदेखि सदनसम्म कहीँ पनि प्रणाली चलायमान देखिँदैन। जसलाई जसो मन लाग्यो त्यसै गरेर देश चलिरहेको छ। अनि यस्तो स्थितिमा कुन सचेत युवाले यही बसेर आफ्नो भविष्य दाउ लगाउन सक्छ ?      

मलाई थाहा छ देश बन्ने कुरा आजको भोलि घटित हुने चमत्कार होइन। मलाई यो पनि थाहा छ कि कुनै एक पुस्ताले त्याग नगरी संसारमा कुनै देश बनेको पनि छैन। तर मलाई यो पनि अवश्य थाहा छ कि त्यो एक पुस्ताले गरेको त्यागलाई राज्यका तर्फबाट क्यास गर्न सकेकै कारण ती देशहरू बनेका हुन्। तर यहाँ त न मुलुकका लागि सार्थक त्याग गर्ने वातावरण छ न त जनताले गरेको त्यागलाई राज्यले क्यास नै गर्न सकेको छ। युवा राष्ट्रको अमूल्य सम्पत्ति हुन्। राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणका अग्रदूत तथा परिवर्तनका संवाहक हुन युवा। साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वासका कारण यो वर्ग राष्ट्रनिर्माणको प्रमुख स्रोत हुन् भन्ने विषयलाई राष्ट्रिय युवा नीति २०७२ ले मानेको देखिन्छ। यस कुराप्रति यदि यो देश साँच्चै नै गम्भीर छ भने आजैबाट नफर्किने गरी देश छाडिरहेका युवाशक्ति यही बस्ने वातावरण निर्माण गर्नेतर्फ लागोस्। ताकि मजस्ता लाखौं युवाहरूलाई निरन्तर लखेटिरहेको ‘म किन नेपाल बस्ने ?’ भन्ने प्रश्नले लखेट्न नै छाडोस्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.