नेपाली वर्ण विन्यासमा जडसूत्रवाद

नेपाली वर्ण विन्यासमा जडसूत्रवाद

विकसित हुँदै आएको भाषाको निरपेक्षतामा वर्ण विन्यासका नियमहरू केवल सैद्धान्तिक मात्र रहन्छन् । त्यसैले नेपाली भाषामा वैज्ञानिक शब्दकोश र व्याकरण लेखिँदै जान्छन्, त्यति समग्रमा वैज्ञानिक शब्दकोश र व्याकरण लेखनको आधार तयार हुँदै जान्छ । यस दृष्टिले भाषाको निरपेक्षतासँग देखिने वर्ण विन्यास वा व्याकरणका नियमहरू स्वाभाविक रूपले सैद्धान्तिक हुन्छन् । नियम जब सैद्धान्तिक हुन्छ, त्यसले कोरा शास्त्रीयताको आवरण प्राप्त गर्छ । अहिले नेपाली भाषामा कतिपय वर्ण विन्यासका पुराना नियम शास्त्रीय बन्न पुगेका छन् । नियम भाषा निरपेक्ष बन्यो भने स्वतः शास्त्र मात्र बन्न पुग्दोरहेछ । हुन त शास्त्रमा व्यवहारसापेक्ष कुरा पनि हुन्छन् तर व्यवहार निरपेक्ष नियम बन्न पुग्यो भने त्यो कोरा शास्त्रीय हुन्छ । आम व्यवहारमा लागू हुन नसक्ने भएपछि शास्त्रीय नियम वा सूत्र जडतामा परिणत हुन पुग्दो रहेछ । यहाँ व्यवहारमा लागू हुन नसक्ने नेपाली वर्ण विन्यासका चिन्तनलाई जडसूत्रवाद भनिएको हो ।

विसं १९९७ भदौमा प्रकाशित शारदा पत्रिकाको सम्पादकीयले पनि यस्तो जडसूत्रवादी चिन्तनको विरोध गरेको देखिन्छ । त्यसले नेपाली भाषा केवल आर्य भारतीयहरूको मात्र भाषा नभई तमाम नेपालीहरूको भाषा भएकाले हाम्रो भाषाको कोशमा नेवारी, मगर, गुरुङ सुनुवार आदि अन्य भाषाका शब्द प्रचुर मात्रामा हुनु पर्छ भनेको छ । ह्रस्वदीर्घ प्रयोगका बारेमा पनि यस सम्पादकीयले भारतीय भाषाहरूमा दीर्घ छ भन्दैमा हामीले पनि दीर्घ लेख्नुपर्छ भन्ने कुनै प्रामाणिक कुरा होइन, प्रामाणिक कुरा त बोल्दा हामी ह्रस्व उच्चरण गर्छौं भने ह्रस्व नै हुनुपर्छ, दीर्घ उच्चारण गर्छौं भने दीर्घ भनेको छ । यसरी आजभन्दा लगभग ७८ वर्षअगाडि पनि नेपाली वर्ण विन्यास भाषा निरपेक्ष भयो भन्ने चिन्ता गरिएको देखिन्छ । भाषा निरपेक्षताले नियममा जडता आउने हुँदा यस्ता नियमप्रति सुधारको चेस्टा गर्नु स्वाभाविक हो । त्यसैले त्यही सालमा ह्रस्वदीर्घको सबाई भन्ने लघु पुस्तिका प्रकाशित गर्ने व्याकरणकार गोपाल पाँडेले पनि निश्चय नभए नेपाली शब्दको पदादि र पदमध्यमा ह्रस्व लेख्न सकिने र शब्दलाई अलगअलग डिकामा पनि लेख्न सकिने उल्लेख गरेका छन् । यसले नेपाली आर्य र मंगोल दुवै जातजातिका नेपालीहरूको साझा भाषा भएकाले वर्ण विन्यासका नियम पनि भाषासापेक्ष हुन् भन्ने अपेक्षा राखेको देखिन्छ ।

प्रा.डा. वासुदेव त्रिपाठी (लेख्य नेपालीको एकरूपीकरण पृ. ५५) बाट विसं २०२९ मा साझा प्रकाशनमा भएको गोष्ठीले नेपाली संस्कृत तत्सम शब्दलाई यथावत् रहन दिने निर्णय र विसं २०४० को नेपाली बृहत् शब्दकोशमा आगन्तुक शब्दलाई समेत यथावत् गर्ने छुट लेखकलाई दिएर वर्ण विन्यासलाई नेपाली ध्वनिअनुसार सुधार गर्दै जाने प्रयास भएकोे जानकारी भेटिन्छ । बृहत् नेपाली शब्दकोश (२०४०ः१२) ले लिली टर्नर, नेपाली भाषा प्रकाशिनी समिति र बालचन्द्र शर्माहरूले प्रदान गरेको नेपाली वर्ण विन्यासको गौरवमय परम्परामा दुई पाइला अघि सार्दै आपूm आएको जनाएको छ । यसले के देखाउँछ भने लिली टर्नरदेखि नेपाली बृहत् शब्दकोशसम्म वर्ण विन्यासलाई यथाशक्य भाषासापेक्ष बनाउन खोजिएको छ । साथै यसले भाषासापेक्ष बनाउने गौरवमय परम्पराको गतिमा दुई पाइलाभन्दा धेरै पाइला अगाडि हिँड्न नसकेको तथ्यसमेत स्विकारेको छ ।

टर्नर, नेपाली भाषा प्रकाशिनी समिति, बालचन्द्र शर्मा र नेपाली बृहत् शब्दकोशले नयाँ दृष्टिकोण दिँदै अगाडि बढाएको वर्ण विन्यासको गौरवमय परम्परामा अवरोध खडा गर्ने जडसूत्रवाद उभिएको छ ।    

व्याकरणका नियमहरू भाषासापेक्ष नभए जडसूत्रवादले प्रवेश गर्छ । शब्दकोशमा शब्दको अर्थ भन्नु केवल संकेत र वर्ण विन्यास भन्नु आदत हो । त्यसैले टर्नरले नेपाली भाषाको व्युत्पत्तिमूलक शब्दकोशमा प्रायः ह्रस्व उच्चारणअनुसारका प्रविष्टि दिएर नेपाली वर्ण विन्यासलाई भाषासापेक्ष बनाउने अभ्यास गरेका छन् । बालचन्द्र शर्मा (प्रस्तावना) ले आफ्नो शब्दकोशमा उच्चारणअनुसार लेख्न सक्ने नेपाली देवनागरी लिपिको विशेषतातिर ध्यान दिएर केही शब्दको नेपाली उच्चारणअनुसार उदाहरणसहित हिज्जे प्रयोग गरेर देखाएका छन् । यी शब्दकोश लेखकहरूका विचारबाट के बुझिन्छ भने नेपाली वर्ण विन्यासलाई नेपाली उच्चारणअनुसार लेख्न सकिन्छ । सायद यो विचार नै भाषासापेक्ष वर्ण विन्यास हुन सक्छ । हामी वर्ण विन्यासलाई आदत पनि भन्छौं यो आदत पनि अधिक उच्चारणानुसारी बन्न सक्यो भने भाषासापेक्ष हुन सक्छ । यसले वर्ण विन्यास भनेको केवल आदत वा बानी मात्र हो भन्ने चिन्तनलाई निरुत्साहित गर्छ ।

जडसूत्रवाद माक्र्सवादी शास्त्रीय चिन्तनमा प्रचलित शब्द हो । नेपाली वर्ण विन्यासको इतिहासमा पनि हिज्जेका शास्त्रीय निमयलाई भाषा निरपेक्षतामा चिन्तन गर्ने प्रवृत्तिसँग यो जडसूत्रवाद भन्ने शब्द जोडिएको छ । यस प्रवृत्तिले नेपाली वर्ण विन्यासमा जडसूत्रवादलाई जन्म दिएको छ । यसको जन्मले भाषा सापेक्षतामा वर्ण विन्यास हिँडाउन टर्नर, नेपाली भाषा प्रकाशिनी समिति, बालचन्द्र शर्माको शब्दकोश र विसं २०४० को नेपाली बृहत् शब्दकोशका प्रयासलाई चुनौती दिएको छ । यस चुनौतीले जडसूत्रवादी बनेर नेपाल प्रज्ञा प्रतिष्ठानबाट भाषा सापेक्षतामा हिँडाउन भएका विसं २०५७ र विसं २०६७ का वर्ण विन्याससम्बन्धी निष्कर्षलाई अवज्ञा गरेको छ । जडसूत्रवादी माक्र्सवादी दर्शन झैं भाषा निरपेक्ष नेपाली वर्ण विन्यासको जडसूत्रवाद कमजोर स्थितिमा छ ।

त्यसैले नेपाली वर्ण विन्यासलाई भाषा सापेक्षतामा जोड्न लिली टर्नरले जोड दिए, नेपाली भाषा प्रकाशिनी समितिले प्रयास गर्‍यो, बालचन्द्र शर्माले उच्चारणअनुसार लेख्न सकिने देवनागरी लिपिको महत्वको वर्णन गरे । प्रा.डा. वासुदेव त्रिपाठीका अनुसार विसं २०२९ मा भएको साझा प्रकाशनको गोष्ठीले तत्समबाहेक अन्य शब्दको वर्ण विन्यासलाई भाषासापेक्ष बनाउने प्रयास गर्‍यो र विसं २०३४ को नेपाली भाषा अधिगोष्ठी र विसंं २०४० को नेपाली बृहत् शब्दकोश वर्ण विन्यासमा कोसेढुंगो बनेर ठडिए । वर्ण विन्यासमा भाषा सापेक्षता र भाषा निरपेक्षता चिनाउन शिक्षण हुन थालेको देखिन्छ । सर्वप्रथम प्रवीणता प्रमाणपत्र तहमा विसं २०५१ र स्नातक तहमा विसंं २०५३ देखि पाठ्यक्रमबाट नेपाली उच्चार्य वर्ण, नेपाली लेख्य वर्ण र नेपाली शब्दमा अक्षर संरचनाको अध्यापन हुन थाल्यो । यसका आधारमा विद्यार्थीलाई मानक शब्द वा मानक शब्दमा लेखिएको अनुच्छेद दिएर कथ्य मानक लेख्न लागाउने अभ्यास हुन थाल्यो । भाषा सापेक्षतामा वर्ण विन्यास चिनाउने यो प्रयत्न अद्यपि छँदैछ ।

अहिले साधारण लेख, वक्तव्यबाजी र सरकारी निर्णयबाट भाषाको लेखाइमा आउने सम्भाव्य अराजकताको समाधान खोजिएको छ, जसलाई भाषिक अराजकता निराकरण गर्ने बौद्धिक कार्य मान्न सकिँदैन । किनभने सरकारी स्वीकृति र आदेशमा वैज्ञानिकता हुँदैन । यस्ता स्वीकृति र आदेशहरू वर्ण विन्यासका बौद्धिक कार्य होइनन् । वैज्ञानिकताले पाठकको मन जित्ने र प्रयोगमा आउन सक्ने नेपाली शब्दकोश र नेपाली व्याकरण लेखन बौद्धिक कार्य हुन् । यतातर्फ कम मानिसको ध्यान गएको छ । झन् भाषा विकासको निरपेक्षता पुगेका नेपाली वर्ण विन्यासका जडसूत्रवादी नियमले भाषिक अराजकता हटाउन सकिँदैन । नेपाली भाषामा बौद्धिक कार्यका रूपमा देखिने प्रकाशित शब्दकोश र व्याकरण अत्यन्त नगण्य छन् ।

जति धेरै नयाँ शब्दकोश र व्याकरण लेखिँदै जानेछन्, त्यति भाषा सापेक्षतामा वर्ण विन्यासका वैज्ञानिक नियम बन्नेछन् । जडसूत्रवादमा विज्ञान हुँदैन किनभने यसले वर्ण विन्यासलाई भाषिक निरपेक्षतामा हेर्छ । भाषा सापेक्षताको वकालत गर्ने हुनाले भाषा विज्ञान र समाज भाषा विज्ञानले समेत जडसूत्रवादलाई सम्बोधन गर्न सक्दैन । सम्बोधन गर्न नसकिने बनेर अहिले नेपाली वर्ण विन्यासमा जडसूत्रवादका दुई कित्ता उभिएका छन् । पहिलो कित्तामा विसं २०४० को नेपाली बृहत् शब्दकोशपूर्वको जडसूत्रवाद उभिएको छ । दोस्रो कित्तामा टर्नर, नेपाली भाषा प्रकाशिनी समिति, बालचन्द्र शर्मा र नेपाली बृहत् शब्दकोशले नयाँ दृष्टिकोण दिँदै अगाडि बढाएको वर्ण विन्यासको गौरवमय परम्परामा अवरोध खडा गर्ने जडसूत्रवाद उभिएको छ । 

   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.