नेपाली वर्ण विन्यासमा जडसूत्रवाद
विकसित हुँदै आएको भाषाको निरपेक्षतामा वर्ण विन्यासका नियमहरू केवल सैद्धान्तिक मात्र रहन्छन् । त्यसैले नेपाली भाषामा वैज्ञानिक शब्दकोश र व्याकरण लेखिँदै जान्छन्, त्यति समग्रमा वैज्ञानिक शब्दकोश र व्याकरण लेखनको आधार तयार हुँदै जान्छ । यस दृष्टिले भाषाको निरपेक्षतासँग देखिने वर्ण विन्यास वा व्याकरणका नियमहरू स्वाभाविक रूपले सैद्धान्तिक हुन्छन् । नियम जब सैद्धान्तिक हुन्छ, त्यसले कोरा शास्त्रीयताको आवरण प्राप्त गर्छ । अहिले नेपाली भाषामा कतिपय वर्ण विन्यासका पुराना नियम शास्त्रीय बन्न पुगेका छन् । नियम भाषा निरपेक्ष बन्यो भने स्वतः शास्त्र मात्र बन्न पुग्दोरहेछ । हुन त शास्त्रमा व्यवहारसापेक्ष कुरा पनि हुन्छन् तर व्यवहार निरपेक्ष नियम बन्न पुग्यो भने त्यो कोरा शास्त्रीय हुन्छ । आम व्यवहारमा लागू हुन नसक्ने भएपछि शास्त्रीय नियम वा सूत्र जडतामा परिणत हुन पुग्दो रहेछ । यहाँ व्यवहारमा लागू हुन नसक्ने नेपाली वर्ण विन्यासका चिन्तनलाई जडसूत्रवाद भनिएको हो ।
विसं १९९७ भदौमा प्रकाशित शारदा पत्रिकाको सम्पादकीयले पनि यस्तो जडसूत्रवादी चिन्तनको विरोध गरेको देखिन्छ । त्यसले नेपाली भाषा केवल आर्य भारतीयहरूको मात्र भाषा नभई तमाम नेपालीहरूको भाषा भएकाले हाम्रो भाषाको कोशमा नेवारी, मगर, गुरुङ सुनुवार आदि अन्य भाषाका शब्द प्रचुर मात्रामा हुनु पर्छ भनेको छ । ह्रस्वदीर्घ प्रयोगका बारेमा पनि यस सम्पादकीयले भारतीय भाषाहरूमा दीर्घ छ भन्दैमा हामीले पनि दीर्घ लेख्नुपर्छ भन्ने कुनै प्रामाणिक कुरा होइन, प्रामाणिक कुरा त बोल्दा हामी ह्रस्व उच्चरण गर्छौं भने ह्रस्व नै हुनुपर्छ, दीर्घ उच्चारण गर्छौं भने दीर्घ भनेको छ । यसरी आजभन्दा लगभग ७८ वर्षअगाडि पनि नेपाली वर्ण विन्यास भाषा निरपेक्ष भयो भन्ने चिन्ता गरिएको देखिन्छ । भाषा निरपेक्षताले नियममा जडता आउने हुँदा यस्ता नियमप्रति सुधारको चेस्टा गर्नु स्वाभाविक हो । त्यसैले त्यही सालमा ह्रस्वदीर्घको सबाई भन्ने लघु पुस्तिका प्रकाशित गर्ने व्याकरणकार गोपाल पाँडेले पनि निश्चय नभए नेपाली शब्दको पदादि र पदमध्यमा ह्रस्व लेख्न सकिने र शब्दलाई अलगअलग डिकामा पनि लेख्न सकिने उल्लेख गरेका छन् । यसले नेपाली आर्य र मंगोल दुवै जातजातिका नेपालीहरूको साझा भाषा भएकाले वर्ण विन्यासका नियम पनि भाषासापेक्ष हुन् भन्ने अपेक्षा राखेको देखिन्छ ।
प्रा.डा. वासुदेव त्रिपाठी (लेख्य नेपालीको एकरूपीकरण पृ. ५५) बाट विसं २०२९ मा साझा प्रकाशनमा भएको गोष्ठीले नेपाली संस्कृत तत्सम शब्दलाई यथावत् रहन दिने निर्णय र विसं २०४० को नेपाली बृहत् शब्दकोशमा आगन्तुक शब्दलाई समेत यथावत् गर्ने छुट लेखकलाई दिएर वर्ण विन्यासलाई नेपाली ध्वनिअनुसार सुधार गर्दै जाने प्रयास भएकोे जानकारी भेटिन्छ । बृहत् नेपाली शब्दकोश (२०४०ः१२) ले लिली टर्नर, नेपाली भाषा प्रकाशिनी समिति र बालचन्द्र शर्माहरूले प्रदान गरेको नेपाली वर्ण विन्यासको गौरवमय परम्परामा दुई पाइला अघि सार्दै आपूm आएको जनाएको छ । यसले के देखाउँछ भने लिली टर्नरदेखि नेपाली बृहत् शब्दकोशसम्म वर्ण विन्यासलाई यथाशक्य भाषासापेक्ष बनाउन खोजिएको छ । साथै यसले भाषासापेक्ष बनाउने गौरवमय परम्पराको गतिमा दुई पाइलाभन्दा धेरै पाइला अगाडि हिँड्न नसकेको तथ्यसमेत स्विकारेको छ ।
टर्नर, नेपाली भाषा प्रकाशिनी समिति, बालचन्द्र शर्मा र नेपाली बृहत् शब्दकोशले नयाँ दृष्टिकोण दिँदै अगाडि बढाएको वर्ण विन्यासको गौरवमय परम्परामा अवरोध खडा गर्ने जडसूत्रवाद उभिएको छ ।
व्याकरणका नियमहरू भाषासापेक्ष नभए जडसूत्रवादले प्रवेश गर्छ । शब्दकोशमा शब्दको अर्थ भन्नु केवल संकेत र वर्ण विन्यास भन्नु आदत हो । त्यसैले टर्नरले नेपाली भाषाको व्युत्पत्तिमूलक शब्दकोशमा प्रायः ह्रस्व उच्चारणअनुसारका प्रविष्टि दिएर नेपाली वर्ण विन्यासलाई भाषासापेक्ष बनाउने अभ्यास गरेका छन् । बालचन्द्र शर्मा (प्रस्तावना) ले आफ्नो शब्दकोशमा उच्चारणअनुसार लेख्न सक्ने नेपाली देवनागरी लिपिको विशेषतातिर ध्यान दिएर केही शब्दको नेपाली उच्चारणअनुसार उदाहरणसहित हिज्जे प्रयोग गरेर देखाएका छन् । यी शब्दकोश लेखकहरूका विचारबाट के बुझिन्छ भने नेपाली वर्ण विन्यासलाई नेपाली उच्चारणअनुसार लेख्न सकिन्छ । सायद यो विचार नै भाषासापेक्ष वर्ण विन्यास हुन सक्छ । हामी वर्ण विन्यासलाई आदत पनि भन्छौं यो आदत पनि अधिक उच्चारणानुसारी बन्न सक्यो भने भाषासापेक्ष हुन सक्छ । यसले वर्ण विन्यास भनेको केवल आदत वा बानी मात्र हो भन्ने चिन्तनलाई निरुत्साहित गर्छ ।
जडसूत्रवाद माक्र्सवादी शास्त्रीय चिन्तनमा प्रचलित शब्द हो । नेपाली वर्ण विन्यासको इतिहासमा पनि हिज्जेका शास्त्रीय निमयलाई भाषा निरपेक्षतामा चिन्तन गर्ने प्रवृत्तिसँग यो जडसूत्रवाद भन्ने शब्द जोडिएको छ । यस प्रवृत्तिले नेपाली वर्ण विन्यासमा जडसूत्रवादलाई जन्म दिएको छ । यसको जन्मले भाषा सापेक्षतामा वर्ण विन्यास हिँडाउन टर्नर, नेपाली भाषा प्रकाशिनी समिति, बालचन्द्र शर्माको शब्दकोश र विसं २०४० को नेपाली बृहत् शब्दकोशका प्रयासलाई चुनौती दिएको छ । यस चुनौतीले जडसूत्रवादी बनेर नेपाल प्रज्ञा प्रतिष्ठानबाट भाषा सापेक्षतामा हिँडाउन भएका विसं २०५७ र विसं २०६७ का वर्ण विन्याससम्बन्धी निष्कर्षलाई अवज्ञा गरेको छ । जडसूत्रवादी माक्र्सवादी दर्शन झैं भाषा निरपेक्ष नेपाली वर्ण विन्यासको जडसूत्रवाद कमजोर स्थितिमा छ ।
त्यसैले नेपाली वर्ण विन्यासलाई भाषा सापेक्षतामा जोड्न लिली टर्नरले जोड दिए, नेपाली भाषा प्रकाशिनी समितिले प्रयास गर्यो, बालचन्द्र शर्माले उच्चारणअनुसार लेख्न सकिने देवनागरी लिपिको महत्वको वर्णन गरे । प्रा.डा. वासुदेव त्रिपाठीका अनुसार विसं २०२९ मा भएको साझा प्रकाशनको गोष्ठीले तत्समबाहेक अन्य शब्दको वर्ण विन्यासलाई भाषासापेक्ष बनाउने प्रयास गर्यो र विसं २०३४ को नेपाली भाषा अधिगोष्ठी र विसंं २०४० को नेपाली बृहत् शब्दकोश वर्ण विन्यासमा कोसेढुंगो बनेर ठडिए । वर्ण विन्यासमा भाषा सापेक्षता र भाषा निरपेक्षता चिनाउन शिक्षण हुन थालेको देखिन्छ । सर्वप्रथम प्रवीणता प्रमाणपत्र तहमा विसं २०५१ र स्नातक तहमा विसंं २०५३ देखि पाठ्यक्रमबाट नेपाली उच्चार्य वर्ण, नेपाली लेख्य वर्ण र नेपाली शब्दमा अक्षर संरचनाको अध्यापन हुन थाल्यो । यसका आधारमा विद्यार्थीलाई मानक शब्द वा मानक शब्दमा लेखिएको अनुच्छेद दिएर कथ्य मानक लेख्न लागाउने अभ्यास हुन थाल्यो । भाषा सापेक्षतामा वर्ण विन्यास चिनाउने यो प्रयत्न अद्यपि छँदैछ ।
अहिले साधारण लेख, वक्तव्यबाजी र सरकारी निर्णयबाट भाषाको लेखाइमा आउने सम्भाव्य अराजकताको समाधान खोजिएको छ, जसलाई भाषिक अराजकता निराकरण गर्ने बौद्धिक कार्य मान्न सकिँदैन । किनभने सरकारी स्वीकृति र आदेशमा वैज्ञानिकता हुँदैन । यस्ता स्वीकृति र आदेशहरू वर्ण विन्यासका बौद्धिक कार्य होइनन् । वैज्ञानिकताले पाठकको मन जित्ने र प्रयोगमा आउन सक्ने नेपाली शब्दकोश र नेपाली व्याकरण लेखन बौद्धिक कार्य हुन् । यतातर्फ कम मानिसको ध्यान गएको छ । झन् भाषा विकासको निरपेक्षता पुगेका नेपाली वर्ण विन्यासका जडसूत्रवादी नियमले भाषिक अराजकता हटाउन सकिँदैन । नेपाली भाषामा बौद्धिक कार्यका रूपमा देखिने प्रकाशित शब्दकोश र व्याकरण अत्यन्त नगण्य छन् ।
जति धेरै नयाँ शब्दकोश र व्याकरण लेखिँदै जानेछन्, त्यति भाषा सापेक्षतामा वर्ण विन्यासका वैज्ञानिक नियम बन्नेछन् । जडसूत्रवादमा विज्ञान हुँदैन किनभने यसले वर्ण विन्यासलाई भाषिक निरपेक्षतामा हेर्छ । भाषा सापेक्षताको वकालत गर्ने हुनाले भाषा विज्ञान र समाज भाषा विज्ञानले समेत जडसूत्रवादलाई सम्बोधन गर्न सक्दैन । सम्बोधन गर्न नसकिने बनेर अहिले नेपाली वर्ण विन्यासमा जडसूत्रवादका दुई कित्ता उभिएका छन् । पहिलो कित्तामा विसं २०४० को नेपाली बृहत् शब्दकोशपूर्वको जडसूत्रवाद उभिएको छ । दोस्रो कित्तामा टर्नर, नेपाली भाषा प्रकाशिनी समिति, बालचन्द्र शर्मा र नेपाली बृहत् शब्दकोशले नयाँ दृष्टिकोण दिँदै अगाडि बढाएको वर्ण विन्यासको गौरवमय परम्परामा अवरोध खडा गर्ने जडसूत्रवाद उभिएको छ ।
प्रतिक्रिया दिनुहोस !