धर्मेन्द्र प्रधानको राजीनामापछि प्रह्लाद जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी
काठमाडौं : भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएपछि उक्त मन्त्रालयको कार्यभार केन्द्रीय मन्त्री प्रह्लाद जोशीलाई दिइएको छ। नयाँ जिम्मेवारी पाएपछि जोशीले प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभार व्यक्त गरेका छन्।
जिम्मेवारी पाएपछि प्रतिक्रिया दिँदै केन्द्रीय मन्त्री जोशीले भने,'प्रधानमन्त्रीज्यूले मलाई यो जिम्मेवारी सुम्पनुभएको जानकारी पाएको छु। म यसलाई पूर्ण कर्तव्यनिष्ठा र विनम्रताका साथ स्वीकार गर्दछु र प्रधानमन्त्रीज्यूप्रति हार्दिक आभार प्रकट गर्दछु।'
मोदी सरकारको विगत १२ वर्षमा अनेकौँ ऐतिहासिक उपलब्धिहरू हासिल भएको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको मार्गदर्शनमा आफ्नो पूर्ण क्षमताका साथ काम गर्ने प्रतिबद्धता समेत जनाए।
यसैबिच, मन्त्री जोशीले सामाजिक सञ्जाल 'एक्स' मार्फत पूर्वशिक्षामन्त्री धर्मेन्द्र प्रधानको कार्यकालको उच्च प्रशंसा गरेका छन्। प्रधानको लामो राजनीतिक यात्राको स्मरण गर्दै उनले भनेका छन्, 'धर्मेन्द्र प्रधानजीको राजनीतिक यात्रा दशकौँ फैलिएको छ। देशको विकासका लागि उहाँको प्रतिबद्धता सधैँ स्मरणीय रहनेछ।'
प्रधानकै कार्यकालमा 'नयाँ शिक्षा नीति (एनईपी) २०२०' सफलतापूर्वक लागू हुनुका साथै शिक्षा क्षेत्रमा १०० भन्दा बढी साना-ठूला सुधारहरू भएको जोशीले उल्लेख गरे। देशहितलाई सर्वोपरि राख्दै प्रधानले पद छाड्ने निर्णय गरे पनि देश विकासमा उहाँको योगदान निरन्तर रहने जोशीको भनाइ छ।
प्रह्लाद जोशी हाल उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रीका साथै नवीकरणीय ऊर्जा मन्त्रीको जिम्मेवारीमा समेत रहेका छन्।
प्रतिक्रिया दिनुहोस !