मधेसका गृहमन्त्रीले 'गुण्डागर्दी शैली' अपनाएको भन्दै व्यवसायी आन्दोलित
बर्दिबास : यतिखेर मधेसका गृहमन्त्री फकिरा महतोको 'गुण्डागर्दी अनुगमन शैली'विरुद्ध होटल तथा पर्यटन व्यवसायीआन्दोलित भएका छन्। महोत्तरीका तीन प्रमुख व्यवसायीक संस्थाले मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री समेत रहेका महतोको नेतृत्वमा पछिल्लो समय मधेसमा सञ्चालन भइरहेको स्टण्टबाजी अनुगमनका क्रममा होटल तथा पर्यटन व्यवसायीमाथि गरिएको व्यवहारप्रति गम्भीर आपत्ति जनाएका छन्।
होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरी, महोत्तरी चेम्बर अफ कमर्स र बर्दिबास उद्योग वाणिज्य सङ्घले संयुक्त धारणा सार्वजनिक गर्दै अनुगमनको नाममा व्यवसायीलाई अपराधीसरह व्यवहार गर्ने, सार्वजनिक रूपमा बदनाम गर्ने तथा अनावश्यक धरपकड गर्ने शैलीले समग्र व्यावसायिक वातावरण नै प्रभावित भएको बताएका छन्।
बिहीबार मन्त्री महतोको टोलीले बर्दिबासका होटलहरुमा अनुगमन गरेको थियो। त्यसक्रममा मन्त्री महतो र नाव्या होटल सञ्चालक सुधिर अग्रवालबीच घमसाघम्सी भएको थियो। मन्त्रीले त्यसक्रममा व्यवसायी अग्रवाललाई आफू गृहमन्त्री रहेको र गृहमन्त्रीको गुण्डाशैली आज देखाएरै छड्के बताएका थिए। अग्रवाललाई धरपकड समेत गरिएको थियो। अनुगमनको क्रममा होटलको स्टोरबाट अखाद्य वस्तु भेटिएको थियो।
शुक्रबार तीन संस्थाहरूले बर्दिबासमा पत्रकार सम्मेलन गर्दै मन्त्रीको गैरजिम्मेदारीपनि प्रति आपत्ति जनाउँदै आफूहरू कानुनको पूर्ण पालना, व्यावसायिक अनुशासन तथा सेवा-सुविधाको गुणस्तर अभिवृद्धिप्रति सदैव प्रतिबद्ध रहेको उल्लेख गरे। व्यवसायलाई थप व्यवस्थित, प्रतिस्पर्धी र गुणस्तरीय बनाउन राज्यका निकायसँग सहकार्य गर्न सधैं तयार रहेको बताएका छन्। तर, उद्योग-व्यवसायको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने निकायबाट व्यवसायीलाई नै अपराधीसरह व्यवहार गरिनु दुःखद भएको उनीहरूको भनाइ छ।
होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष गुञ्जबहादुर कार्कीले मधेश प्रदेशको पर्यटन क्षेत्रको महत्वपूर्ण आधारका रूपमा रहेका होटल उद्योगहरूको नियमित, निष्पक्ष र पारदर्शी अनुगमन हुनुपर्नेमा आफूहरूको पूर्ण समर्थन रहेको बताए। उनले अनुगमनका क्रममा देखिएका कमजोरीलाई कानुनी प्रक्रिया अनुसार सुधार गर्ने अवसर दिनुपर्नेमा जोड दिँदै सामान्य त्रुटिलाई अनावश्यक रूपमा प्रचारप्रसार गरी व्यवसायीलाई बदनाम गर्ने, त्रास सिर्जना गर्ने तथा पर्यटन क्षेत्रको साखमा आँच पुर्याउने गतिविधि निन्दनीय रहेको बताए।
गृहमन्त्री महतोले व्यवसायीहरू आफूलाई अनुगमन गर्न बाध्य बनाएको बताए। उनले आफूले जनताको हितमा काम गरेको बताए। उनले भने, 'म कसैको धम्कीले डराउँदिन। राजीनामा पत्र खल्तीमा बोकेर हिँडेको छु।'
प्रतिक्रिया दिनुहोस !