फिफा वरीयतामा स्पेनको छलाङ
एजेन्सी /लन्डन : विश्वकप विजेता स्पेनले फिफा वरीयतामा पनि छलाङ मारेको छ। फिफा विश्वकप २०२६ अन्तर्गत आइतबार राति भएको फाइनलमा अर्जेन्टिनालाई पराजित गर्दै दोस्रोपटक उपाधि जितेको स्पेनले अर्जेन्टिनालाई नै पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो। स्पेन एक स्थान सुधार गर्दै पहिलो स्थानमा उक्लिँदा एक स्थान खस्किएको अर्जेन्टिना दोस्रो स्थानमा झरेको हो।
विश्वकपमा चौथो स्थान हासिल गरेको फ्रान्स भने तेस्रो स्थानमा छ। विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा इङ्ल्यान्डसँग पराजित भए पनि फ्रान्स तेस्रो स्थानमा यथावत रहन सफल भएको हो। तेस्रो स्थानको खेलमा इङ्ल्यान्डले फ्रान्सलाई ६–४ गोलले पराजित गरेको थियो। विश्वकपमा तेस्रो स्थान हासिल गरेको इङ्ल्यान्ड भने चौथो स्थानमा छ। ब्राजिल एक स्थान सुधार गर्दै पाँचौं स्थानमा उक्लिएको छ।
एक स्थान सुधार गरेको मोरोक्को छैटौं स्थानमा छ। मोरक्कोले इतिहासमै उच्च स्थान हासिल गरेको हो। यस्तै दुई स्थान तल झरेको पोर्चुगल सातौं स्थानमा छ। एक स्थान सुधार गरेको बेल्जियम आठौं, एक स्थान खस्किएको नेदरल्यान्ड्स नवौं र चार स्थान सुधार गरेको मेक्सिको १०औं स्थानमा छ। विश्वकपको क्वार्टरफाइनलसम्म पुगेको नर्वे सबैभन्दा धेरै स्थान सुधार गर्ने टोली बनेको छ।
१२ स्थान फड्को मार्दै नर्वे १९औं स्थानमा उक्लिन सफल भएको छ। चार पटकको विश्वकप विजेता जर्मनी भने शीर्ष १० बाट बाहिरिँदै १२औं स्थानमा झरेको छ। यस पटकको विश्वकपमा छनोट हुन नसकेको इटाली १५औं स्थानमा झरेको छ। ट्युनिसिया सबैभन्दा धेरै ओरालो लाग्ने टोली बनेको छ। १२ स्थान खस्कँदै ट्युनिसिया ५७औं स्थानमा पुगेको छ।
इजिप्टले पाँच स्थान सुधार गर्दै २४औं स्थानमा पुगेको छ भने विश्वकपको अन्तिम १६ सम्म पुगेको पराग्वे सात स्थान उक्लिँदै ३४औं स्थानमा पुगेको छ। विश्वकपको अन्तिम ३२ सम्म पुगेको केप भर्दे तीन स्थान सुधार गर्दै ६४औं स्थानमा उक्लिएको छ।
प्रतिक्रिया दिनुहोस !