नेपालले नामिबियालाई दियो १५८ को लक्ष्य
काठमाडौं : आईसीसी विश्वकप लिग २ अन्तर्गत जारी श्रृंखलाको पहिलो खेलमा नेपालले नामिबियालाई १५८ रनको विजयी लक्ष्य दिएको छ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४६.५ ओभरमा १५७ रन बनाउँदै अलआउट भएको हो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३१ रन बनाए। उनले ६० बलमा एउटा पनि बाउन्ड्री हान्न सकेनन्। ओपनर आसिफ शेखले १६ रन बनाउँदा अर्का ओपनर कुशल भुर्तेल भने २ बलमा २ रन बनाउँदै जेजे स्मिथको बलमा बोल्ड भए।
दिपेन्द्र सिंह ऐरी ३० रनमा बोल्ड भए। उनले ५१ बलमा २ चौका प्रहार गरे। सोमपाल कामीले १५ रन बनाए। गुल्सन झाले २० रन बनाए। करण केसीले १८ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपाललाई सस्तैमा रोक्न नामिबीयाका जेजे स्मिथले सर्वाधिक ६ विकेट लिए। उनले ९.५ ओभरमा १ मेडनसहित २७ रन मात्रै खर्चिए। ज्याक ब्रासेल र बर्नाल्ड स्कोल्ट्जले २/२ विकेट लिए।
प्रतिक्रिया दिनुहोस !