एम्बाप्पे र कीर्तिमान
न्युयोर्क : फ्रान्सेली स्टार फरवार्ड किलियन एम्बाप्पेले आधुनिक विश्व फुटबलका सबैभन्दा प्रभावशाली खेलाडीमध्येमा आफूलाई स्थापित गरेका छन्।
असाधारण गति, सशक्त फिनिसिङ, उत्कृष्ट ड्रिब्लिङ र निर्णायक क्षणमा खेलको नतिजा बदल्ने क्षमताका कारण एम्बाप्पेले पछिल्ला केही वर्षयता विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका छन्। युवा उमेरमै क्लब र राष्ट्रिय टोली दुवैतर्फ उल्लेखनीय सफलता हासिल गरेका उनी निरन्तर नयाँ उपलब्धि र कीर्तिमानतर्फ अघि बढिरहेका छन्।
फिफा विश्वकप २०२६ को उपाधि फ्रान्सले जित्न नसके पनि एमबाप्पेले व्यक्तिगत उपलब्धिको कीर्तिमान भने आफ्नो नाममा लेखाए। स्पेनसँग सेमिफाइनलमा पराजित भएपछि पनि उनले तेस्रो स्थानको खेलमा इङ्ल्यान्डविरुद्ध दुई गोल गर्दै फिफा विश्वकप इतिहासका कैयौं कीर्तिमान भंग गरेका थिए। २७ वर्षकै उमेरमा उनले विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बन्नेदेखि एकै संस्करणमा १० गोल गर्ने दुर्लभ उपलब्धिसम्म आफ्नो नाममा लेखाए।
टोलीको निराशाबीच पनि एमबाप्पे व्यक्तिगत रूपमा सबैभन्दा बढी चर्चाको शिखरमा रहे। यस विश्वकपमा १० गोल गर्दै गोल्डेन बुट जितेका उनी विश्वकपमा लगातार दुई संस्करण (२०२२ र २०२६) मा गोल्डेन बुट जित्ने पहिलो खेलाडी पनि बन्न सफल भए।
एमबाप्पेले विश्वकप २०२६ मा बनाएको सबैभन्दा ठूलो कीर्तिमान भने विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बन्नु हो। तेस्रो स्थानको खेलअघि उनी अर्जेन्टिनाका कप्तान लियोनल मेसीको २१ गोलको कीर्तिमान बराबरी गर्ने दौडमा थिए। इङ्ल्यान्डविरुद्ध दुई गोल गरेपछि उनको विश्वकपमा गोल संख्या २२ पुग्यो र उनले मेसीलाई पछि पार्दै नयाँ इतिहास रच्न सफल भए। एमबाप्पेको यो उपलब्धि अझ विशेष यसकारण पनि छ कि उनले विश्वकपका तीन संस्करणमै यो आँकडा पूरा गरेका हुन्। उनले सन् २०१८ को रूस विश्वकपमा चार, सन् २०२२ को कतार विश्वकपमा आठ र यस पटकको विश्वकपमा १० गोल गरेका छन्।
विश्वकपको एकै संस्करणमा १० गोल गर्नु आधुनिक फुटबलमा अत्यन्तै दुर्लभ उपलब्धि मानिन्छ। सन् १९७० मा जर्मनीका गर्ड मुलरले १० गोल गरेपछि कुनै खेलाडीले त्यो आँकडा हुन सकेका थिएनन्। पाँच दशकभन्दा बढी समयपछि एमबाप्पेले फेरि त्यो उपलब्धि हासिल गरेका हुन्।
एम्बाप्पेको खेलशैलीलाई विश्लेषकहरूले आधुनिक फुटबलको उत्कृष्ट उदाहरणका रूपमा लिने गरेका छन्। उनी केवल गोलकर्ता मात्र होइनन्, टोलीका लागि अवसर सिर्जना गर्ने, विपक्षी रक्षापंक्तिलाई दबाबमा राख्ने र कठिन परिस्थितिमा पनि खेलको लय परिवर्तन गर्ने क्षमताका लागि परिचित छन्। यही कारण प्रशिक्षक र पूर्वखेलाडीहरूले उनलाई वर्तमान पुस्ताका सर्वश्रेष्ठ खेलाडीमध्ये एक मान्ने गरेका छन्।
गोल्डेन बुटको उपाधि एमबाप्पेले जित्दा गोल्डेन बल अवार्ड भने स्पेनका कप्तान रोड्रिगो हर्नान्डेज कासान्ते (रोड्री) ले जितेका छन्। स्पेनलाई १६ वर्षपछि विश्वकप जिताउन नेतृत्वदायी भुमिका खेलेका रोड्रीले प्लेयर अफ द टुर्नामेन्ट बन्दै गोल्डेन बल जितेका हुन्। अर्जेन्टिनाका कप्तान लियोनल मेसीले सिल्भर बल जिते भने फ्रान्सका कप्तान एमबाप्पेले ब्राउन्ज बल जिते। यस्तै स्पेनका गोलरक्षक उनाई सिमोनले गोल्डेन ग्लोभ्स अवार्ड जिते भने स्पेनकै युवा डिफेन्डर पाउ कुबार्सीले उत्कृष्ट युवा खेलाडीको अवार्ड जिते।
प्रतिक्रिया दिनुहोस !