सीमा नाकाबाट ठूलो परिमाणको अफिम बरामद
परासी : नवलपरासीको सीमा नाकाबाट ५ केजी लागुऔषध अफिम बरामद भएको छ। नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा भारतीय सीमा सुरक्षा बल(एसएसबी) र भारतीय प्रहरीको संयुक्त टोलीले उक्त अफिम बरामद गरेको हो।
सरावल गाउँपालिकाको भुजहवा नाका हुँदै दसगजा पारगरे लगत्तै भारतीय सुरक्षाकर्मीहरुले अफिम बरामद गरेका हुन्। नेपाली नम्बर प्लेटको स्कुटीमा लैजाँदै गरेको अवस्थामा दसगजाबाट तीन सय मिटर पर रहेको भारतीय बजार लक्ष्मीपुरबाट अफिम बरामद भएको हो।
गस्तीमा आइरहेको सुरक्षाकर्मीलाई देख्ने बित्तिकै झोला फ्याँकेर स्कुटरमै उनी पुनः नेपालतर्फ भागेपछि चेकजाँचका क्रममा ५ केजी अफिम फेला परेको शीतलपुर सीमा सुरक्षा चौकी(बीओपी) का प्रभारी (सइ) शिवपूजनले जानकारी दिए। चेकजाँचका क्रममा झोलाभित्र रहेको कालो प्लाष्टिकमा अफिम बरामद भएको हो। प्रयोग गरिएको स्कुटर नेपाली नम्बर प्लेट भए पनि नम्बर स्पष्ट रूपमा खुल्न नसकेको भारतीय सुरक्षाकर्मीहरुले बताएका छन्।
अफिम बोकेर आएका युवक फरार रहेको र उनको पहिचान तथा खोजी कार्य जारी रहेको लक्ष्मीपुर प्रहरी चौकीका इन्चार्ज मनिष तिवारीले जानकारी दिए। उक्त अफिमको अन्तर्राष्ट्रिय बजार मूल्य करिब २५ लाख रहेको प्रहरीले अनुमान गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) रामबहादुर केसी तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गणका प्रमुख (एसपी) सन्तोष रायमाझीले अफिम बरामदबारे जानकारी नभएको बताए।
प्रतिक्रिया दिनुहोस !