भक्तपुरको गेष्ट हाउसमा साथीसँग आएकी किशोरीको मृत्यु,चारजना पक्राउ
भक्तपुर : भक्तपुर नगरपालिका- १ दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी एक युवतीको मृत्यु भएको छ । दोलखाको भीमेश्वर-९ खरीढुंगा घर भई हाल चाँगुनारायण -९ टेडोल बस्ने १८ वर्षीया सलिना श्रेष्ठको मृत्यु भएको खुलेको छ।
उनी सोमबार बिहान करिब साढे ३ बजे गेष्टहाउस पछाडि लडिरहेको अवस्थामा फेला परेकी थिइन्। खबर प्राप्त हुनसाथ प्रहरी प्रभाग दुधपाटीको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले भक्तपुर अस्पताल पुर्याएको र उपचारका क्रममा चिकित्सकले बिहान ३:५० बजे उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
गेष्ट हाउसका एक कर्मचारीले अन्नपूर्णपोस्टलाई दिएको जानकारी अनुसार आइतबार राति करिब १० बजेति उनीसहित पाँचजना आएका थिए । दुईवटा कोठा लिएर बसेका उनीहरूले मदिरा सेवन गरेका र कोठामा होहल्ला समेत गरेका थिए।
उनी सँगै बसेका दुईजना पुरुष र दुईजना महिलालाई नियन्त्रणमा लिई थप अनुसन्धानका भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक दीपककुमार कार्कीले जानकारी दिए । पक्राउ परेका सबै २३ वर्ष मुनीका युवा छन् ।
उनीहरूले ग्यादरिङ गरेका र राति कतिबेला सलिना झ्यालबाट तल खसिन भन्ने समेत थाहा नपाएको बयान दिएका छन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
प्रहरी नायव उपरीक्षक कार्कीले बताए अनुसार शव भक्तपुर अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ र रिपोर्टले अनुसन्धान अघि बढाउन थप मद्दत गर्ने उनले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस !